भारतको गरिबी र बेलायतको समृद्धि यात्राको विश्लेषण : एन इरा अफ डार्कनेश, यसबाट नेपालले के सिक्ने

नेपाल किन गरिब भयो ? भनेर प्रश्न गर्यो भने जो कोहिले पनि सहज उत्तर दिन्छन् । पहिलो, नेता असक्षम र भ्रष्ट भएर । दोस्रो, जनता अल्छी भएर ।

 

त्यसैले नेपाललाई धनी बनाउनका लागि ‘सक्षम’ र ‘असल’ नेताहरुको आवश्यकता देखेका छन्, सामान्य पढेलेखेका मानिसहरुले ।

 

मानिसहरुको यही चाहनालाई बुझेर धेरै पढेका र विदेशमा ‘राम्रो’ तलब खाने ‘सक्षम’ र ‘असल’ मानिसहरु नेपाललाई समृद्ध बनाउन वैैकल्पिक दल खोलेर राजनीतिमा हेलिने प्रयास गर्दैछन् । पुराना दलहरुमा पनि एकदुई जना नआएका होइनन् ।

 

त्यसैगरी आममानिस र युवाहरुलाई अल्छीबाट जाँगरिलो बनाई देश निर्माण गर्न आव्हन गर्दै सहरमा ‘मोटिभेशनल स्पिकर’हरु अहोरात्र खटेको खट्यै छन् ।

 

सरकार पनि देशलाई समृद्ध पार्न चाहन्छ । तर, गरिब चाँही किन र कसरी भएको हो भन्ने प्रश्नको जवाफ दिँदैन । मोटिभेशनल स्पिकरहरु र वैैकल्पिक दलवालाहरुको त यस्ता प्रश्नको बारेमा सोच्ने र जवाफ खोज्ने वौद्धिक क्षमता नै छैन ।

 

गरिबीको बारे अत्यन्तै सतही र प्राविधिक बुझाइ छ नेपालमा । पढेलेखेका मानिसहरु, राजनीतिक दलहरु लगायत जिम्मेवार संस्थाहरु पनि यो बुझाइ बाट अछुतो छैनन् ।

 

गरिबीको एतिहासिक, भू–राजनीतिक, दार्शनिक, राजनीतिक, सामाजिक, धार्मिक र आर्थिक पक्षका बारे मानिसहरु उती चासो राख्दैनन् ।

 

गरिबीको कारणका बारेमा आम र जिम्मेवार मानिसहरुको सोचाई बारे माथि नै चर्चा गरियो । अब, यसको निराकरण गर्न के गर्ने भन्दा एकदुई जना ‘राम्रा’ मानिसहरु आएर ठोकठाक गरे यसै धनी भइन्छ भन्ने विश्वास छ मानिसहरुमा ।
उद्योगधन्दाहरु बन्द हुनु, नयाँ खोल्ने वातावरण नै नबन्नु जस्ता गरिबीलाई अझ सघन बनाउने विषयहरु माथि छलफल नै हुँदैन ।

 

नेपालको गरिबीलाई थप प्रश्रय दिन मद्दत पुर्याउने यी विषयमा हामी छलफल गर्दै जाने छौं । उद्योग समाज र विकास प्रक्रियाको अभिन्न अंग हो । यी फगत ‘कारखाना’ मात्र होइनन् ।

 

अहिले भौतिक उपनिवेशको युग समाप्त भइसकेको छ । यद्यपी उपनिवेशको नयाँ स्वरुपहरु उद्घाटन भएका छन् । त्यही नयाँ स्वरुपको उपनीवेश नेपाल हो, अहिले । नेपाललाई अर्ध उपनिवेशको रुपमा विद्धानहरुले अथ्र्याएकै छन् ।

 

तर, स्मरण रहोस, यो पनि गरिबीको व्याख्या गर्ने एउटा पाटो मात्र हो । अन्य धेरै पाटोहरुको क्षितिज उघार्ने हाम्रो मात्र वशको कुरा होइन ।

 

उद्योगधन्दा र उत्पादनसँग सम्बन्धित विषयबाट गरिबीको व्याख्या गर्ने सन्दर्भमा केही प्रश्नहरु महत्वपूर्ण छन् :

 

– नेपालमा उद्योगहरु कहिलेबाट र कसरी खुले ?

 

– कस्ता सामाजिक र राजनीतिक अवस्थामा त्यस्ता उद्योग खुले ?

 

– जङ्ग बहादुरले अंग्रेजको गुलामी गर्न थालेपछि नेपालका उत्पादनहरुको अवस्था के भयो ?

 

– ती किन दिगोसँग सञ्चालन हुन सकेनन् ?

 

– २०४६ सालको आन्दोलन पश्चात् नेपालमा भएका उद्योगहरु किन बन्द भए ?

 

– सन् १९९० यता विश्वमा ‘निर्विकल्प’ रुपमा चलिआएको नव–उदारवादी अर्थव्यवस्था र नेपालको ०४६ सालको राजनीतिक परिर्वतन बीचको सम्बन्ध के छ ?

 

– वहुराष्ट्रिय कम्पनीहरु र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुको नेपालमा रहेको उपस्थिति र भूमिकालाई कसरी हेर्ने ?

 

– नव–उदारवाद र भूमण्डलीकरणको (आर्थिक विस्तारीकरणको रुपमा) चङगुलमा फसेको बेला नेपालजस्तो कमजोर देशले औद्योगिक विकास गर्न सम्भव होला ?

 

यस्ता प्रश्नहरुको जवाफले नेपालको गरिबीको एउटा पाटो उर्घाछ होला । आज यहाँ चर्चा भने भारतको गरिबीको हुनेछ, जसले नेपालको अवस्थालाई पनि बुझ्न धेरै हदसम्म मद्दत पुग्छ । भारतलाई बेलायतले धेरै वर्षसम्म भौतिक रुपमै उपनिवेश बनायो ।

 

यही कालखण्डलाई अँध्यारो युगको रुपमा व्याख्या गर्दै भारतीय लेखक एवं लोकसभाका सांसद शशी थरुरले ‘एन इरा अफ डार्कनेस’ नामको किताब लेखेका छन् ।यसमा उनले भारतको गरिबीको प्रमुख कारण बेलायती राज भएको तथ्य र तर्क प्रस्तुत गरेका छन् ।

 

अहिले भौतिक उपनिवेशको युग समाप्त भइसकेको छ । यद्यपी उपनिवेशको नयाँ स्वरुपहरु उद्घाटन भएका छन् । त्यही नयाँ स्वरुपको उपनीवेश नेपाल हो, अहिले । नेपाललाई अर्ध उपनिवेशको रुपमा विद्धानहरुले अथ्र्याएकै छन् ।

 

त्यसैले उपनिवेश र इतिहासको आधारमा थरुरले भारतको गरिबीको एउटा महत्वपूर्ण पाटो उघार्न गरेको प्रयास नेपालको गरिबी र अनुत्पादनलाई बुझ्ने एउटा गोरेटो हुन सक्लाकी भनेर यहाँ उनको किताबमा उल्लेखित तथ्य र तर्कलाई प्रस्तुत गरिएको हो ।

 

एन इरा अफ डार्कनेश (एउटा अध्याँरो युग )

 

सन् १६०० मा भारतमा बेलायती राज शुरु हुने समयमा विश्वको कुल जीडीपीमा भारतको हिस्सा २३ प्रतिशत थियो भने बेलायतको १.८ प्रतिशत थियो ।

 

तर, जब ३ सय वर्ष भन्दा बढी समय राज गरेर बेलायतले भारत छाड्यो, बेलायतको विश्वको कुल जीडीपीको हिस्सा १० प्रतिशत पुग्यो भने भारतको ३ प्रतिशतमा खुम्चियो ।

 

शशी थरुरका अनुसार बेलायत धनी भारतमा राज गर्न आइपुग्यो र उसलाई अन्ततः अत्यन्तै गरिब बनाएर गयो । अर्थात, बेलायतको समृद्धिसँग भारतको गरिबीको सिधा साइनो रहेको छ ।

 

जब कपडा बुन्ने मेसिनहरुको आविष्कार भयो, ती मेसिनहरुलाई लामो समयसम्म भारत ल्याउन पनि दिइएन । ‘भारतमा कपडा हातले बनाइन्थ्यो । हामीकहाँ मेसिनले । त्यसैले तिमीहरु पछि पर्यौं । तिमीहरुको गाडी छुट्यो’ भन्ने बेलायती तर्क लाई थरुर जवाफ दिन्छन्,‘हामीले गाडी छुटायौं । किनभने तिमीहरुले हामीलाई गाडीबाट निकालेर त्यसको पाङग्रामा फ्याँक्यौ ।’

 

यो प्रक्रियाका धेरै आयामहरु रहेका छन् । भारतका उद्योगहरुलाई योजनाबद्ध ढंगले बन्द गराउनु, सम्पत्ति बेलायत लैजानु, करको दर र दायरा अत्याधिक बढाउनु र अन्य धेरै भारतीय साधन र स्रोतहरु बेलायत तिर सोझ्याउनु ।

 

र, यी सबै क्रियाकलापले बेलायतको औद्योगिक क्रान्तिको लागि उर्जा प्रदान गर्यो । त्यसैले भारत लगायत अन्य उपनिवेशहरुको दमन र गरिबी बेलायतको समृद्धिको पूर्वशर्त हुन् ।

 

थरुरको किताबमा भारत कसरी गरिब हुँदै गयो भन्ने विषयमा धेरै किस्साहरु छन् । ती मध्ये एउटा भारतको कपडा उद्योग हो ।

 

१८ औं शताब्दीमा भारतको कपडा उद्योगले विश्वको कुल कपडा कारोबारको २५ प्रतिशत हिस्सा ओगट्थ्यो । तर, बेलायतले भारत छोड्ने बेलामा भारतका कपडा उद्योग र त्यसको व्यापार पूर्ण रुपमा बन्द मात्र भएनन्, भारतीय बजारमा बेलायती कपडाको बाढी नै आयो ।

 

कपडा उद्योग बन्द गराउनका लागि उनीहरुले पहिलो कुरा त भौतिक रुपमै उद्योगहरु ध्वस्त बनाए । एक डच लेखकले संग्रह गरेको डकुमेन्टमा उल्लेख गरे अनुसार त अहिलेको बंगलादेशमा रहेका कपडा बुन्ने मानिसहरुका बुढि औंला समेत काटिए ।

 

भन्सार शुल्कहरु अत्याधिक बढाएर भारतीय कपडा विदेशमा निर्यात गर्नै नसक्ने अवस्थामा पुर्याइयो । र, भारतमा आयात हुने बेलायती कपडामा भने कुनै पनि भन्सार शुल्क वा कर लगाइएन ।

 

जब कपडा बुन्ने मेसिनहरुको आविष्कार भयो, ती मेसिनहरुलाई लामो समयसम्म भारत ल्याउन पनि दिइएन ।
‘भारतमा कपडा हातले बनाइन्थ्यो । हामीकहाँ मेसिनले । त्यसैले तिमीहरु पछि पर्यौं । तिमीहरुको गाडी छुट्यो’ भन्ने बेलायती तर्क लाई थरुर जवाफ दिन्छन्,‘हामीले गाडी छुटायौं । किनभने तिमीहरुले हामीलाई गाडीबाट निकालेर त्यसको पाङग्रामा फ्याँक्यौ ।’

 

भारतको गरिबी र बेलायतको समृद्धिको यात्राको विश्लेषण गर्ने सन्दर्भका थरुर आफ्नो किताबमा भारतीय रेलको पनि उदाहरण दिन्छन् ।

 

भारतीय रेल पूर्वाधारलाई बेलायतीले भारतीय उपनिवेशमा गरेको अत्यन्तै ठूलो भष्ट्राचारको रुपमा अथ्र्याएका छन् । भारतीय रेल पूर्वाधार निमार्णको मुख्य कारण भनेको भारतको साधनस्रोत सम्म सहज पहुँच पुर्याउनु र ती स्रोतहरलाई सहज रुपमा बेलायत लैजान बन्दरगाह सम्म पुर्याउनका लागि बनाइएका थिए ।

 

नेपाली देखि लिएर धेरैलाई बेलायतले भारतमा राज गर्दा भारतले पाएको महत्वपूर्ण यातायात पूर्वाधार रेल भएको लाग्ने गर्दछ । तर, थरुरले आफ्नो किताबमा यस बारे फरक धारणा राखेका छन् ।

 

उनले भारतीय रेल पूर्वाधारलाई बेलायतीले भारतीय उपनिवेशमा गरेको अत्यन्तै ठूलो भष्ट्राचारको रुपमा अथ्र्याएका छन् । उनका अनुसार भारतीय रेल पूर्वाधार निमार्णको मुख्य कारण भनेको भारतको साधनस्रोत सम्म सहज पहुँच पुर्याउनु र ती स्रोतहरलाई सहज रुपमा बेलायत लैजान बन्दरगाह सम्म पुर्याउनका लागि बनाइएका थिए ।

 

रेल पूर्वाधार बनाउने कम्पनी बेलायतको तत्कालिन सेयर बजारको सबैभन्दा आकर्षक नाफा दिने कम्पनीको रुपमा रहेको थियो । किनभने रेलले पैसा कमाए पनि वा नकमाए पनि त्यसले ओसार्ने साधनस्रोत र भारतका आम जनताले तिरेको करको पैसाले त्यो कम्पनीले अत्याधिक नाफा कमाउने निश्चित नै थियो ।

 

रेल पूर्वाधार बनाउनका लानि लाग्ने खर्चमा पनि ठूलो भ्रष्टाचार गरिएको थियो । अमेरिका वा बलायतमा १ माइल रेलवे बनाउनका लागि लाग्ने खर्च भन्दा ९ गुणा बढी खर्च भारतको रेलवे बनाउन खर्च गरिएको थियो ।

 

उनका अनुसार १९ औं शताब्दीको छैठौं दशकमा भारतमा प्रति माइल रेलवे बनाउन १८ हजार पाउण्ड खर्च गरिएको थियो । जबकी त्यतिनै बेला अमेरिकामा १ माइल रेलवे बनाउन २ हजार पाउण्ड खर्च भएको थियो ।

 

अर्को उदाहरणको रुपमा थरुरले भारतको ग्रामिण गरिबीलाई लिएका छन् । उनले प्रत्यक्ष रुपमै बेलायतीहरुले भारतमा ग्रामिण गरिबीको अवस्था ल्याएको बताएका छन् ।

 

बेलायतले भारतका उद्योगहरु ध्वस्त वा आफ्नो कब्जामा पारेर ठूलो संख्यामा मानिसहरुलाई निर्वाहमुखि खेतीतर्फ धकेल्यो, जसलाई ग्रामिण भेगमा रहेको सीमित खेतबारीले धान्न सकेन । जसको परिणाम स्वरुप उनीहरुले भारत छाडेर जाँदा भारतमा ठूलो संख्यामा ग्रामिण गरिबी छायो ।

 

उनको अर्को तर्क करको दरलाई लिएर पनि छ । बेलायतले भारतमा कब्जा जमाउनुभन्दा अघि भारतको करको दर त्यति ठूलो थिएन । उत्पादनको १५ प्रतिशत हाराहारी भन्दा बढि कहिल्यै थिएन, त्यति बेलाका प्राप्त प्रमाणहरुका अनुसार ।

 

भूमि व्यवस्थापनको बेलायती मोडल अंगीकार गर्दै भारतमा पहिलेको व्यवस्थामा भाडा वा अन्न उठाउने सीमित मानिसहरुलाई नै भूमिको स्थायी स्वामित्व दिइयो, जसले भारतमा भूमिहिनताको युग शुरु भयो ।

 

तर, बेलायती राजमा कम्तीमा ४५ प्रतिशत वा त्यो भन्दा पनि बढि कर थोपरियो । भोगमरी लागेको बेला, खडेरी लागेको बेलामा समेत कुने छुट दिने गरिएको थिएन । कतिपय अवस्थामा त किसानको सम्पूर्ण अन्ननै कब्जा गरिने समेत गरिएको थियो । करिब ९० प्रतिशत कर सामान्य थियो त्यो बेला । यसले पनि गरिबीको बिउ रोप्यो ।

 

त्यो भन्दा अघि स–साना राजा रजौटा वा जमिनदारले समेत किसानलाई अप्ठ्यारो परेको अवस्थामा वा चाडबाडको बेलामा छुट दिने गरेका थिए । बेलायतीले त्यो कहिल्यै दिएनन् ।

 

समग्रमा भन्दा उद्योगहरु ध्वस्त वा कब्जा गरेर मानिसहरुलाई निर्वाहमुखी कृषि तर्फ धकेलियो, जुन आफैंमा दिगो थिएन । त्यसपछि फेरी अत्यन्तै उच्च कर लगाएर ती मानिसहरुलाई गरिबीको दलदल र मृत्युको मुखमा धकेलियो ।

 

साथै, भूमि व्यवस्थापनको बेलायती मोडल अंगीकार गर्दै भारतमा पहिलेको व्यवस्थामा भाडा वा अन्न उठाउने सीमित मानिसहरुलाई नै भूमिको स्थायी स्वामित्व दिइयो, जसले भारतमा भूमिहिनताको युग शुरु भयो ।

 

थरुर आफ्नो किताबमा लेख्छन्, ‘१९ औं शताब्दीको अन्त्यसम्ममा भारत बेलायतको सबैभन्दा ठूलो आम्दानीको स्रोत र बेलायती उत्पादनको सबैभन्दा ठूलो उपभोक्ता भइसकेको थियो । र, धेरै तलब खाने बेलायती कर्मचारीहरु र सेनाको सबैभन्दा ठूलो स्रोत पनि भारत नै थियो ।’

 

भारतीय स्टिल उद्योगको पनि हालत कपडा उद्योगको जस्तै बनाइयो । पहिला भारतको स्टिल उद्योग विश्व विख्यात थियो । र, त्यही उद्योगलाई मासेर साधनस्रोत पुर्याए पछि नै बेलायतको आफ्नो स्टिल उद्योगले औद्योगिक क्रान्ति मार्फत जन्म लिएको हो ।

 

जम्सेट्जी टाटाले पछि स्टिल उद्योग खोल्नका लागि धेरै व्यवधानहरुको सामना गर्नु परेको थियो । साँच्चै भन्दा टाटा स्टिलको पहिलो उपादन टाटाको मृत्यु पछिमात्र सम्भव भएको थियो ।

 

बेलायती लेखक विलियम डिग्बीलाई उदृत गर्दै बेलायतले भारतबाट १९ औं शताब्दीमा मात्र ४ अर्ब २० करोड पाउण्ड बराबर रकम लगेको थरुरले लेखेका छन् । र, त्यो भन्दा अगाडिको समयमा वार्षिक रुपमा औसत १ करोड ८० लाख पाउण्ड पैसा भारतबाट बेलायत लगेको लेखेका छन् । त्यो समयमा यो अत्यन्तै धेरै पैसा थियो ।

 

यस्ता पैसाहरु इस्ट इन्डिया कम्पनीको वासलातमा मात्र नभएर बेलायत सरकारको वासलातमा समेत मसलन्दको रुपमा उल्लेख गरिएको हुन्थ्यो ।

 

थरुरले बेलायती राजको समयमा करिब २ करोड ५० लाख भारतीयहरु भोकमरीको कारण ज्यान गुमाउन बाध्य भएको समेत उल्लेख गरेका छन् । यो भनेको स्टालीन र मोओको समयमा रसिया र चीनमा मानिसहरुले गुमाएको ज्यानको संख्या भन्दा पनि धेरै हो ।

 

नेपालको औद्यौगिक इतिहास र त्यसका अर्थ–राजनीतिक पाटोहरुबारे आगामी दिनहरुमा चर्चा गर्दै जाने छौं ।

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम-२ मा आवेदन दिने समय लम्बियो Read Previous

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम-२ मा आवेदन दिने समय लम्बियो

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको डीपीआर अन्तिम चरणमा Read Next

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको डीपीआर अन्तिम चरणमा