काठमाडौं । ओसारपसार र कारोबारमा संलग्न भएको आरोपमा केही व्यक्ति पक्राउ परेपछि उक्त रेडिओधर्मी धातुबारे धेरै जनामा जिज्ञासा उत्पन्न भएको छ।
फागुन २८ गते काठमाण्डूको बौद्धबाट प्रहरीले झन्डै तीन किलोग्राम शङ्कास्पद खनिज पदार्थसहित एक महिला र तीन पुरुषलाई पक्राउ गरेको थियो। उनीहरूविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले बताएको छ।
यसै वर्ष लागू भएको रेडिओधर्मी पदार्थको उपयोग तथा नियमनसम्बन्धी ऐनअन्तर्गत उनीहरूलाई मुद्दा चलाइने जानकारी काठमाण्डू प्रहरी प्रमुख अशोक सिंहले दिए।
संसद्ले गत जेठमा पारित गरेको रेडिओधर्मी पदार्थको नियमन गर्ने कानुनमा बिनाअनुमति विकिरणयुक्त पदार्थको भण्डारण र ढुवानी गर्ने कसुरमा संलग्न व्यक्तिलाई पाँचदेखि १० वर्षसम्म कैद र सात देखि १२ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।
नेपालमा कहाँ पाइन्छ युरेनीयम ?
प्रहरीले बरामद गरेको अप्रशोधित युरेनीयम भारतबाट ल्याइएको बताइएको छ। तर नेपालका केही स्थानमा पनि युरेनीयम खनिज पाइने तथ्य वैज्ञानिक अध्ययनहरूमा देखिएको छ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार विभागले गरेको प्रारम्भिक अन्वेषणमा मुस्ताङको लोमान्थाङ, मकवानपुरको तीनभँगाले, बैतडी, मनाङ र गोरखा जिल्लाका केही स्थानमा युरेनीयम पाइने सङ्केतहरू देखा परेका छन्।
उनका अनुसार ती ठाउँबारे थप अनुसन्धानका लागि पहल भइरहेको र लोमान्थाङमा सम्भावित खानी भएको क्षेत्रलाई नेपाली सेनाको सुरक्षा घेराभित्र राखिएको छ।नेपालले युरेनीयमको उत्खनन र थप अध्ययनका लागि पहल पनि गरिरहेको उनको भनाइ छ ।
के नेपालमा उत्खनन सम्भव छ ?
महानिर्देशक घिमिरेका अनुसार नेपाल संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) को पनि सदस्य भएकाले यस्ता खानीको उत्खनन गर्न राष्ट्रसङ्घले तोकेका मापदण्डहरू पूरा गर्नुपर्छ।
‘यसमा सुरक्षाबारे एकदमै ठूलो प्रश्न छ। खानी र प्रशोधन केन्द्रहरूबाट आउने विकिरणका कारण स्वास्थ्य र सुरक्षाको ठूलो जोखिम समेत हुन सक्छ। त्यसका लागि छुट्टै कानुन समेत बन्नुपर्ने हुन्छ,’ उनले भने, ‘हामीसँग विस्तृत अन्वेषण र उत्खननका लागि त्यति ठूलो दक्ष जनशक्ति र उपकरण छैनन् । त्यसका लागि आईएईएसँग सहकार्य गरिरहेका छौँ ।
’
विभागले युरेनीयम खानीबारे विस्तृत अध्ययनका लागि खानी तथा खनिज ऐन संशोधन मस्यौदा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको जनाएको छ ।‘त्यो कानुन बनेर आएपछि मात्रै हामी यसमा अघि बढ्न सक्छौँ। हामीसँग विस्तृत अन्वेषण र उत्खननका लागि त्यति ठूलो दक्ष जनशक्ति र उपकरण पनि छैनन् । त्यसका लागि पनि आईएईएसँग सहकार्य गरिरहेका छौँ,’ घिमिरेले भने ।
युरेनीयमबाट लाभ लिन नेपालले के गर्न सक्छ ?
नेपालका विभिन्न क्षेत्रमा पाइने युरेनीयम उत्खनन गरेर विक्री वा प्रशोधन गर्न सकिन्छ कि सकिँदैन भन्ने धेरैको जिज्ञासा छ। आणविक अस्त्र र ऊर्जाका लागि प्रयोग गरिने भएकाले युरेनीयमलाई ‘रणनीतिक खनिज’ मानिन्छ। त्यसैले सरकारको नीति पनि त्यसैअनुरूप आउन आवश्यक भएको घिमिरे ठान्छन् ।

तर युरेनीयम बेचेर नेपाल धनी बन्न सम्भावना चर्चा गरिए जस्तो सहज नभएको विज्ञहरू बताउँछन्।‘युरेनीयम प्रशोधन गरेर बेच्ने हो भने त्यसका लागि धेरै ठूला पूर्वाधार लगानी र प्रविधिको आवश्यकता पर्छ। त्यसमै केन्द्रित भएर लाग्यौँ भने त्यो सम्भव होला पनि। तर त्यसअघि हामीसँग भएको युरेनीयम कति मात्रामा छ र कस्तो गुणस्तरको भन्ने कुराको विवरण यकिन हुनुपर्छ,’ खानी विभागका प्रमुख घिमिरेले भने।
युरेनीयम उत्खनन गरेर मात्र नहुने तथा गुणस्तर र प्रशोधन चुनौतीपूर्ण हुने धारणा भौतिकशास्त्री प्राध्यापक देवीदत्त पौडेलको छ।प्रशोधित युरेनीयम धेरै मूल्यमा विक्री हुने तर नेपालले तत्कालै युरेनीयम खानीबाट आम्दानी गर्न नसक्ने प्राध्यापक पौडेल बताउँछन् ।
‘यसलाई प्रशोधन गर्न सहज छैन । हामीलाई उत्खनन तथा प्रशोधनका लागि लगानी, सुरक्षा, प्रविधि र जनशक्ति जुटाउनै निकै मुस्किल छ,’ उनले भने, ‘प्रशोधन गरेर पनि कुन गुणस्तरको बनाउने भन्ने हुन्छ । ऊर्जाका लागि मात्रै प्रयोग गर्ने भन्दा आणविक हतियार बनाउन प्रयोग गरिने युरेनीयम थप संवर्धित (इन्रिच्ड) हुन्छ । त्यसका लागि खनिज पनि गुणस्तरीय युरेनीयमयुक्त हुनपर्यो ।’
के हो युरेनीयम ?
यो एउटा धातु हो। यो धातु भूगर्भ तथा समुद्रमा पनि पाइन्छ। रसायनशास्त्रीहरूले यसलाई ‘हेभी मेटल’को वर्गमा राखेका छन्। यो ११३२ डिग्री सेन्टिग्रेड तापक्रम पुगेपछि मात्र पग्लिन्छ।
यो धातुबाट विकिरण उत्पन्न हुने भएकाले ऊर्जा उत्पादन गर्न तथा आणविक अस्त्र बनाउन प्रयोग हुने गरेको छ। चिकित्साक्षेत्रमा पनि यो प्रयोग हुन्छ। १८ औं शताब्दीमा यो धातु पहिलो पटक पत्ता लागेको थियो। -बीबीसी