न्यूयोर्कलाई उछिन्दै बेइजिङ बन्यो विश्वको सबैभन्दा धेरै अर्बपति भएको शहर

काठमाडौं । अमेरिकाको न्यूयोर्क सहरलाई उछिन्दै चीनको राजधानी बेइजिङ्ग विश्वका सबैभन्दा धेरै अर्बपति भएको शहर बनेको छ । फोर्ब्सले सार्वजनिक गरेको नयाँ सूची अनुसार बेइजिङमा विश्वकै सबैभन्दा धेरै अर्बपति बस्ने सहर बनेको हो ।

 

बेइजिङमा यो वर्ष मात्रै ३३ जना अर्बपति थपिएसँगै न्यूयोर्कलाई उछिन्दै धेरै अर्बपति भएको सहर बनेको हो । फोर्ब्सका अनुसार हाल बेइजिङमा अर्बपतिको कुल संख्या १०० पुगेको छ । यो न्यूयोर्ककोभन्दा १ जनाले धेरै हो । न्यूयोर्कमा अर्बपतिको संख्या ९९ रहेको छ ।

 

विगत सात वर्षदेखि न्यूयोर्क सहर धनाढ्य अर्बपतिहरुको सूचिमा शीर्ष स्थानमा रहँदै आएको थियो । कोरोना भाइरसको महामारीमाथि चीनले तीव्र गतिमा कायम गरेको नियन्त्रण, प्रविधि क्षेत्रमा चिनियाँ कम्पनीको बढ्दो वर्चश्व र शेयर बजारले चिनियाँ धनाढ्यहरुलाई अर्बपतिको सूचिमा थप्ने क्रम तीव्र भएको हो ।

 

अर्बपतिको संख्या बेइजिङमा धेरै भए पनि अर्बपतिहरुको कुल सम्पत्तिमा भने न्यूयोर्क नै अघि छ । न्यूयोर्कका अर्बपतिहरुको कुल सम्पत्ती बेइजिङ्गका अर्बपतिको भन्दा ८० बिलियन अमेरिकी डलर बढी रहेको बताइएको छ ।

 

अर्बपतिको संख्या भने अमेरिकामै धेरै

 

धेरै अर्बपतिको सहर चीनमा भए पनि विश्वमा सबैभन्दा धेरै अर्बपति भएको देशमा भने अमेरिका शीर्ष स्थानमा रहेको छ । अमेरिकामा कुल ७२४ अर्बपति रहेका छन् । यो चीनको भन्दा ९८ जना बढी हो ।

 

अमेरिकामा गत वर्ष अर्बपतिको संख्या ६१५ रहेको थियो भने यो वर्ष बढेर ७२४ पुगेको छ । उनीहरुको कुल सम्पत्तिको नेटवर्थ ४.४ ट्रिलियन डलर रहेको छ । अमेरिका विश्वमै सबैभन्दा धेरै अर्बपति हुने देशको शीर्ष स्थानमा रहेको छ ।

 

फोर्ब्सका अनुसार गतवर्ष सबैभन्दा धेरै चिनियाँ नागरिक अर्बपति बनेका छन् । कोरोनाका बीच २३८ जना चिनियाँ अर्बपति थपिएका हुन् । गत वर्ष जम्मा ३८८ अर्बपति रहेको चीनमा १ वर्षमै अर्बपतिको संख्या बढेर ६२६ पुगेको छ । उनीहरुको कुल सम्पत्ति नेटवर्थ २.५ ट्रिलियन डलर रहेको छ । चीन विश्वमा धेरै अर्बपति हुने देशको दोस्रो नम्बरमा रहेको छ ।

१० लाखले १० कित्ता सेयर पाउने आइपीओ आउँदै Read Previous

१० लाखले १० कित्ता सेयर पाउने आइपीओ आउँदै

पहिलो चरणमा चीनबाट ४०० खाली सिलिन्डर ल्याइँदै Read Next

पहिलो चरणमा चीनबाट ४०० खाली सिलिन्डर ल्याइँदै