काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको सेयर किन्नेको ओइरो लागेको छ । बुधबारदेखि दोस्रो बजारमा कारोबार शुरु भएको कम्पनीको सेयरमा लगानीकर्ताको अत्यधिक आकर्षण देखिएको हो ।
मंगलबार नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको सेयर आजदेखि कारोबारमा आएको हो । ३६० रुपैयाँ कारोबार खुलेको कम्पनीको १ बजेसम्म सेयर मूल्य ५.८३ प्रतिशतले बढेर प्रतिकित्ता ३८१ रुपैयाँमा कारोबार भएको छ । सो बेलासम्म ज्यातिको २३० कित्ता कारोबार भएको छ ।
मूल्य खासै नबढे पनि कम्पनीको सेयर किन्न चाहनेको भीड लागेको छ । १ बजेसम्म कम्पनीको करिब सवा २३ लाख कित्ता भन्दा बढी सेयर खरिदका लागि माग भएको छ भने विक्रीमा १ कित्ता पनि सेयर छैन ।
कारोबार खुलेका शुरुवाती दिनमै सेयर हात पार्न सके केही हप्तामा मनग्ये नाफा कमाउन सकिने भएकाले लगानीकर्ता यसरी झुम्मिएका हुन् । यद्यपि, विक्री कर्ता नभएकाले अर्डर राखे पनि सेयर पाउने सम्भावना भने अत्यन्तै कम छ ।
कम्पनीले फागुन २१ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियो । जसमा भाग्यमानी ५ लाख ९४ हजार जनाले गोलप्रथाबाट १० कित्ताका दरले सेयर पाएका थिए भने १२ लाख ३ हजार ८३५ जनाको हात रित्तो भएको थियो ।
आइपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।