कोरोनाका बीच हरेक १३ घण्टामा थपिए एकजना नयाँ अर्बपति, कुन देशमा कति ?
चाणक्य पोष्ट
प्रकाशित : 9:33 am, बुधबार, चैत २५, २०७७

काठमाडौं । कोरोनाले विश्व अर्थतन्त्र नै चौपट बनाए पनि धनाढ्यहरुका लागि भने सम्पत्ति कमाउने अवसर बनेको देखिएको छ । कोरोना कालमा विश्वका करोडौं व्यक्तिले रोजीरोटी गुमाउँदा पनि धनी व्यक्तिहरुलाई भने आफ्नो सम्पत्ति बढाउने अवसर बनेर आयो । यही बीचमा धेरैले अर्बौको सम्पत्ति थपे ।

 

कोरोनाकालमा गरिब झनै गरिब हुँदै गएको र धनी झनै धनी बन्दै गएको तथ्यांकले देखाएको छ । कोरोना यता विश्वभर १० करोडभन्दा धेरै रोजगारी गुमाएको जनाइएको छ तर, यसै समय विश्वभर करिब ५०० नयाँ डलर अर्बपति थपिएका छन् ।

 

विश्व प्रसिद्ध फोर्ब्स म्यागजिनका अनुसार गत वर्ष (सन् २०२०) मा कोरोनाका बीच विश्वभर ६६० जना अर्बपति थपिएका छन् । अर्थात् गत वर्ष हरेक १३ घण्टामा एक जना अर्बपति थपिएका छन् ।

 

विश्व प्रसिद्ध फोर्ब्स म्यागजिनका अनुसार गत वर्ष (सन् २०२०) मा कोरोनाका बीच विश्वभर ६६० जना अर्बपति थपिएका छन् । अर्थात् गत वर्ष हरेक १३ घण्टामा एक जना अर्बपति थपिएका छन् ।

 

फोर्ब्सले मंगलबार प्रकाशित गरेको नयाँ अर्बपतिको सूची अनुसार विश्वभर अर्बपतिको संख्या २ हजार ७५५ जना पुगेको छ । जबकी अघिल्लो वर्ष अर्बपतिको संख्या २ हजार ९५ जना थिए ।

 

चीनमा १ वर्षमै थपिए २३८ अर्बपति

 

फोर्ब्सका अनुसार गतवर्ष सबैभन्दा धेरै चिनियाँ नागरिक अर्बपति बनेका छन् । कोरोनाका बीच २३८ जना चिनियाँ अर्बपति थपिएका हुन् । गत वर्ष जम्मा ३८८ अर्बपति रहेको चीनमा १ वर्षमै अर्बपतिको संख्या बढेर ६२६ पुगेको छ । उनीहरुको कुल सम्पत्ति नेटवर्थ २.५ ट्रिलियन डलर रहेको छ । चीन विश्वमा धेरै अर्बपति हुने देशको दोस्रो नम्बरमा रहेको छ ।

यस्तै, विश्वकै सबैभन्दा धेरै धनी व्यक्ति रहेको अमेरिकामा गत वर्ष १०९ अर्बपति थपिएका छन् । यो संख्या विश्व महाशक्ति बन्ने होडमा रहेको चीनको तुलनामा आधाभन्दा कम हो । जबकी सोही अवधिमा चीनमा २३८ नयाँ अर्बपति थपिएका छन् ।

 

अमेरिकामा गत वर्ष अर्बपतिको संख्या ६१५ रहेको थियो भने यो वर्ष बढेर ७२४ पुगेको छ । उनीहरुको कुल सम्पत्तिको नेटवर्थ ४.४ ट्रिलियन डलर रहेको छ । अमेरिका विश्वमै सबैभन्दा धेरै अर्बपति हुने देशको शीर्ष स्थानमा रहेको छ ।

 

यस्तै, सबैभन्दा धेरै अर्बपति हुने देशको सूचीमा भारत तेस्रो स्थानमा रहेको छ । भारतमा अर्बपतिको संख्या १४० पुगेको छ । कोरोनाका बीच भारतमा १ वर्षमा ३८ जना नयाँ अर्बपति थपिएका छन् । गतवर्ष १०२ अर्बपति रहेको भारतमा यो वर्ष अर्बपतिको संख्या बढेर १४० पुगेको छ ।

 

धेरै अर्बपति हुने देशको चौथो स्थानमा रहेको जर्मनीमा १ वर्षमा ३० जना नयाँ अर्बपति थपिएका छन् । गत वर्ष १०६ अर्बपति रहेको जर्मनीमा अर्बपतिको संख्या १३६ पुगेको छ ।

 

जेफ बेजोसको वर्चश्व कायमै

 

अर्बपति सूचीमा अमेजनका संस्थापक जेफ बेजोस यसपालि पनि सूचीको पहिलो नम्बरमा छन् । उनको सम्पत्ति १७७ अर्ब डलर छ ।

त्यस्तै टेस्लाका मालिका एलन मस्क सबैभन्दा धनी व्यक्तिको दोस्रो स्थानमा रहेका छन् । उनको सम्पत्ति १५१ अर्ब डलर पुगेको छ । गत वर्ष २४.६ अर्ब डलरसहित सूचीको ३१ औं स्थानमा रहेका मस्क यसपालि २९ स्थान फड्को मार्दै दोस्रो स्थानम उक्लिएका हुन् ।

 

यस्तै, विश्वका सर्वाधिक धनीको सूचीमा बेनार्ड आर्लन्ट १५० अर्ब, बिल गेट्स १२४ अर्ब, मार्क जुकरबर्ग ९७ अर्ब सहित शीर्ष पाँचमा रहेका छन् ।

 

डोनाल्ड ट्रम्पको सम्पत्ति स्वाट्टै घट्यो

 

कोरोनाका बीच ६६० अर्बपति थपिँदा अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पत्तिमा भने ठूलो गिरावट आएको छ ।फोब्र्सको सूचीमा ट्रम्प अघिल्लो वर्षभन्दा ३०० स्थान तल झरेका छन्। अहिले उनी संसारका अर्बपतिको सूचीमा १२९९ औं स्थानमा छन् । सन् २०१७ मा राष्ट्रपतिको सपथ लिँदा ट्रम्पसँग साढे ३ अर्ब डलरको सम्पत्ति थियो अहिले त्यो घटेर २.४ अर्ब डलरमा सीमीत भएको छ ।