देशभर ५० चार्जिङ स्टेशन बनाउन चिनियाँ कम्पनीसँग सम्झौता
चाणक्य पोष्ट
प्रकाशित : 4:21 pm, मंगलबार, चैत २४, २०७७

काठमाडौं । देशभर ५० चार्जिङ स्टेशन बनाउन सम्झौता भएको छ । आइतबार चिनियाँ कम्पनीसँग चार्जिङ स्टेशन बनाउनका लागि सम्झौता भएको विद्युत प्राधिकरणका प्रव्रक्ता मदन तिमलसिनाले बताए ।

 

उनले पूर्व–पश्चिम राजमार्गमा सो चार्जिङ स्टेशन डीसी र एसी दुवै सुविधामा राखिने बताए । १ वर्षभित्र सम्पन्न हुने गरी उक्त सम्झौता चिनिया कम्पनीसँग भएको उनको भनाइ छ । ‘१ वर्षभित्र सबै चार्जिङ स्टेशन बनाउने गरी सम्झौता भएको छ, आइतबार कन्ट्रयाकमा सिग्नेचर भएको हो,’ तिमलसिनाले चाणक्य पोष्टसँग भने ।

 

एउटा चार्जिङ स्टेशन १४२ किलोवाट विद्युत क्षमताको हुने छ । ५० वटा मध्ये १५ वटाका हाराहारीमा चार्जिङ स्टेशन काठमाडौं उपत्यका भित्र राखिने छ भने अन्य ३५ वटा हाराहारीमा चार्जिङ स्टेशन उपत्यका बाहिर राखिने उनले बताए । चार्जिङ स्टेशन निर्माणका लागि ४० करोड रुपैयाँ हाराहारी लागत लाग्ने अनुमान गरिएको छ ।

 

चार्जिङ स्टेशनमा चार्ज गरेबापत कति शुल्क राख्ने भन्ने विषयमा प्राधिकरणले विद्युत् नियमन आयोगलाई प्रस्ताव पठाउनेछ  । राति, दिउँसो र पिक आवरमा चार्ज गर्दा फरकफरक शुल्क तय गर्ने प्राधिकरणको तयारी छ । राति चार्ज गर्नेलाई प्रतियुनिट ४ रुपैयाँ, दिउँसो चार्ज गर्नेलाई प्रतियुनिट ७–८ रुपैयाँ र बिहानबेलुका पिक आवरमा चार्ज गर्नेलाई केही बढी शुल्क लिने गरी प्राधिकरणले शुल्क निर्धारण गर्दै छ । चार्जिङ स्टेशनसम्बन्धी कार्यविधिको मस्यौदा पनि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारिसकेको छ ।

 

ऊर्जा मन्त्रालयले तयार पारेको कार्यविधिमा चार्जिङ स्टेशनलाई पेट्रोलपम्प जस्तै गरी व्यस्थित गर्ने प्रावधान छ । कार्यविधिअनुसार प्राधिकरणसहित अन्य निकायले पनि चार्जिङ स्टेशन निर्माण गर्न सक्छन् । तर सञ्चालकले आफूले खरिद गरेको विद्युत् महसुलमा २० प्रतिशतभन्दा बढी शुल्क लिन नपाउने प्रावधान कार्यविधिमा छ ।

 

कार्यविधिमा निजी तथा आवासीय भवनमा चार्जिङ स्टेशन स्थापना गर्न उनीहरूले हाल तिरिरहेकै दर लागू गर्ने व्यवस्था छ । चार्जिङ स्टेशनलाई नियमन गर्ने काम पनि प्राधिकरणलाई दिइनेछ । साथै प्राधिकरणले नै चार्जिङ स्टेशनको मापदण्ड बनाई लागू गर्नुपर्ने कार्यविधिमा सिफारिस गरिएको छ । सार्वजनिक स्थल, सरकारी कार्यालय र व्यापारिक स्थलमा पनि चार्जिङ स्टेशन स्थापना गर्न सकिने प्रावधान छ । कुनै विद्युतीय सवारी ब्रान्डले आफ्नो ब्रान्डको सवारी मात्रै लक्ष्य गरेर पनि चार्जिङ स्टेशन स्थापना गर्न पाउनेछन् ।

 

प्राधिकरणले स्थापना गर्ने चार्जिङ स्टेशन भने सबै ब्रान्डका सवारीलाई मिल्ने हुनेछ । अहिले नेपालमा विक्रीका लागि भित्रिएका विभिन्न ब्रान्डका विद्युतीय सवारीले आफ्नो ब्रान्डको सवारी चार्ज गर्न मिल्ने गरी चार्जिङ स्टेशन निर्माण गरेका छन् । यी चार्जिङ स्टेशनलाई नियमन गर्ने मापदण्ड भने बनिसकेको छैन ।