५ लाख व्यवसायीलाई राहत, पाए २ अर्ब १६ करोड कर छुट

काठमाडौं । कोभिड १९ का कारणले धेरै उद्योगहरूले ठूलो नोक्सानी व्यहोर्नु पर्यो । व्यवसाय नै ठप्प रहेको भन्दै व्यवसायीहरुले सरकारसँग कर छुट मागेको थिए । व्यवसायीको माग सम्बोधन गर्दै सरकारले २ अर्ब बढी कर छुट दिएको छ ।

 

हालसम्म सरकारले कोरोना प्रभावित व्यवसायीलाई २ अर्ब १६ करोड रुपैयाँ कर छुट उपलब्ध गराइएको छ । ५ लाख १२ हजार ७५५ करदाताहरूले कर छुट पाएका हुन् ।

 

आन्तरिक राजस्व विभागका अनुसार २० लाख रुपैयाँ बराबर कारोबार गर्नेलाई ७५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । सो अन्तर्गत ४ लाख ४३ हजार करदाताले छुट पाएका छन् । उक्त छुटका क्रममा सबै गरी १ अर्ब ५० करोड रुपैयाँ छुट दिइएको हो ।

 

२० लाख रुपैयाँदेखि ५० लाख रुपैयाँ कारोबार गर्ने व्यवसायीले ५० प्रतिशत छुट पाएका छन् । सो क्रममा १९ हजार ७२३ करदाताले छुट पाएका हुन् । उक्त कर छुट अन्तर्गत हालसम्म २० करोड ८५ लाख रुपैयाँ छुट उपलब्ध गराइएको छ ।

 

५० लाख रुपैयाँदेखि १ करोड रुपैयाँ कारोबार गर्ने व्यवसायीले भने २५ प्रतिशत छुट पाउने छन् । सो अन्तर्गत पर्ने ४९ हजार ७५४ करदाताले ३९ करोड रुपैयाँ छुट पाएको आन्तरिक राजस्व विभागका सूचना अधिकारी अर्जुन ढकालले जानकारी दिए ।

 

यस्तै, पर्यटन अन्तर्गत २७८ करदाताले ५ करोड ६२ लाख रुपैयाँ छुट पाएको उनले बताए । ‘करको दायरामा आउने सबैले छुट पाएका छन्, कर तिर्दा सिस्टमबाटै कर छुट उपलब्ध गराउने व्यवस्था छ, कसलाई काखा कसैलाई पाखा गरिएको छैन’ ढकालले चाणक्य पोष्टसँग भने ।

 

कोभिड १९ का कारण धेरै जसो व्यवसाय ८ महिना ठप्प हुने अवस्थामा पुगेका थिए । कोभिड–१९ का कारण बन्द भएका ११ प्रतिशत उद्योग पुनः सञ्चालनमा आउँन नसक्ने अवस्थामा पुगेका छन् । यी उद्योग कोभिड–१९ को महामारी र त्यसको नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण सधैंका लागि बन्द भएका हुन् ।

 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको अध्ययन प्रतिवेदनका अनुसार बाँकी ८९.१९ प्रतिशत उद्योग-व्यवसायहरू आंशिक रूपमा सञ्चालन भइरहेका छन् ।

 

सरकारले नेपालमा कोरोना भाइरस नियन्त्रणका लागि भन्दै २०७६ चैत ११ देखि बन्दाबन्दी घोषणा गरेको थियो । कोरोनाले नेपालमा मात्र हैन विश्व अर्थतन्त्रमा प्रभाव पारेको थियो । अन्तर्राष्ट्रिय पोर्ट तथा बोडरहरू बन्द हुँदा अन्तरदेशीय व्यापार व्यवसाय ठप्प जस्तै भएको थियो । कोरोनाका कारण व्यवसायहरू अझै पूर्ण सञ्चालनमा आउन सकेका छैनन् ।

हाइड्रो चम्किँदा नेप्सेले बनायो दोहोरो कीर्तिमान, यी ११ कम्पनीका लगानीकर्ता मालामाल Read Previous

हाइड्रो चम्किँदा नेप्सेले बनायो दोहोरो कीर्तिमान, यी ११ कम्पनीका लगानीकर्ता मालामाल

देशभर ५० चार्जिङ स्टेशन बनाउन चिनियाँ कम्पनीसँग सम्झौता Read Next

देशभर ५० चार्जिङ स्टेशन बनाउन चिनियाँ कम्पनीसँग सम्झौता