हाइड्रो चम्किँदा नेप्सेले बनायो दोहोरो कीर्तिमान, यी ११ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौं । सेयर बजारले दिनदिनै नयाँ रेकर्ड बनाउन थालेको छ । यससाता आइतबारदेखि रेकर्ड तोड्दै उकालो लागेको बजारले आज पनि नयाँ कीर्तिमान बनाएको हो ।

 

सेयर बजारले आज एकै दिन दोहोरो रेकर्ड बनाएको छ । नेप्सेले एकैदिन सर्वाधिक उच्च विन्दु र सर्वाधिक बजार पूँजीकरणको रेकर्ड बनाएको हो ।

 

सोमबार इतिहासकै उच्च विन्दुको कीर्तिमान बनाएको नेप्सेले उक्त रेकर्ड तोड्दै आज नयाँ रेकर्ड बनाएको हो । नेप्सले २६७४ विन्दुको उचाइ चुम्दै नयाँ रेकर्ड बनाएको हो । नेप्सेले २६७० विन्दु नाघेको इतिहासमै पहिलोपटक हो । यसअघि सोमबार नेप्से इतिहासकै सर्वाधिक २६५८.७४ विन्दुको रेकर्ड बनाएको थियो ।

 

यस्तै, नेप्सेले सूचकमा नयाँ रेकर्ड बनाएको दिन सर्वाधिक बजार पूँजीकरणको पनि रेकर्ड बनाएको छ । नेप्सेमा सूचीकृत कम्पनीकरुको बजार पूँजीकरण ३७ खर्ब पुगेको छ । यो हालसम्मकै सर्वाधिक हो ।

 

आज सेयर बजार मापक सूचक नेप्से १५.७२ अंकले बढेर २६७४.४७ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१३ कम्पनीको ७ अर्ब ४७ करोड ७७ लाख ९५ हजार ७३८ रुपैयाँ बराबरको १ करोड ६१ लाख ८ हजार ४९९ कित्ता सेयर किनबेच भएका छन् ।

 

मंगलबार कारोबारमा आएका १३ वटा समूहमध्ये ७ वटा समूहको परिसूचकमा हरियाली छाएको छ भने ६ वटा समूहको परिसूचक राताम्मे भएका छन् । होटल तथा पर्यटन समूहको परिसूचक सबैभन्दा धेरै २०५.७९ अंकले बढेको छ भने निर्जीवन बीमा समूह सबैभन्दा धेरै २८७.७६ अंकले घटेको छ ।

 

आज कारोबारमा आएका २१३ कम्पनीमध्ये १२१कम्पनीको सेयर मूल्य बढेको छ भने ७२ कम्पनीको मूल्यमा गिरावट आएको छ । २० कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक सर्वाधिक कारोबार भएको छ । यसको ३९ करोड ८० लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा चिलिमे हाइड्रोपावर ३१ करोड र अपर तामाकोशी २९ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

 

११ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

 

दोहोरो अंकले बढेको बजारमा आज ११ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । युनाइटेड इदी मार्दी हाइड्रोपावर, युनिभर्सल पावर, चिलिमे हाइड्रोपावर र चन्द्रागिरी हिल्सको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

 

यसैगरी, वोमी माइक्रोफाइनान्स, एनआइसी एशिया लघुवित्त, महिला लघुवित्त, साञ्जेन जलविद्युत्, शिवश्री हाइड्रोपावर, पञ्चकन्या माइ हाइड्रोपावर र छ्याङ्दी हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

बढ्दो बजारमा आज साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले आज सबैभ्न्दा धेरै १० प्रतिशत गुमाएका छन् ।

शिवश्री हाइड्रोपावरको २२.१ मेगावाटको आयोजना निर्माण पूरा, राष्ट्रिय प्रसारणमा जोडियो Read Previous

शिवश्री हाइड्रोपावरको २२.१ मेगावाटको आयोजना निर्माण पूरा, राष्ट्रिय प्रसारणमा जोडियो

५ लाख व्यवसायीलाई राहत, पाए २ अर्ब १६ करोड कर छुट Read Next

५ लाख व्यवसायीलाई राहत, पाए २ अर्ब १६ करोड कर छुट