आक्रमक रूपमा कर्जा विस्तार गर्दै बैंकहरू, ६ बैंकको सीसीडी ८०% नाघ्यो (सूचीसहित)
चाणक्य पोष्ट
प्रकाशित : 9:29 am, सोमबार, चैत २३, २०७७

काठमाडौं । केही महिना यता वाणिज्य बैंकहरूले आक्रमक रुपमा कर्जा विस्तार गर्न थालेका छन् । पछिल्लो समय उद्योगधन्दा, व्यापार व्यवसायले गति लिएसँगै बैंकहरूले कर्जा लगानी उल्लेख्य रुपमा बढाएका हुन् ।

 

पछिल्लो डेढ महिनामा मात्रै बैंकहरूले डेढ खर्ब बढी ऋण लगानी गरेका छन् । नेपाल बैंकर्स संघका अनुसार फागुनदेखि चैत दोस्रो (६ हप्ता)को अवधिमा बैंकहरू ले १ खर्ब ५७ अर्ब कर्जा लगानी गरेका छन् ।

 

व्यापार, उद्योग कलकारखाना, घरजग्गा कारोबार लगायत व्यवसायले गति लिँदा ऋणको माग उच्च भएको बैंकहरूले बताएका छन् । मंसिर यता सबैखाले व्यापार व्यवसाय चलायमान हुँदा दैनिक ऋणको माग उच्च रहेको बैंकरहरूको भनाइ छ ।

 

बैंकिङ प्रणालीमा तरलता कायमै रहेकाले बैंकहरूले निक्षेप संकलनमा भने खासै ध्यान दिएका छैनन् । पछिल्लो ६ हप्ताको अवधिमा डेढ खर्ब बढी ऋण लगानी गर्दा जम्मा ९३ अर्ब निक्षेप संकलन भएको छ ।

 

यद्यपि, चैत दोस्रो साता भने कर्जाभन्दा बढी निक्षेप संकलन गरेका छन् । फागुनदेखि चैत पहिलो साताको अवधिमा जम्मा ५३ अर्ब निक्षेप संकलन गरेका बैंकहरूले चैत दोस्रो सातामा मात्रै ४० अर्ब निक्षेप संकलन गरेका छन् ।

 

चालू आवको चैत २० गतेसम्ममा बैंकहरूले कुल ३८ खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३५ खर्ब १ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

 

६ बैंकको सीसीडी अनुपात ८० प्रतिशत नाघ्यो

 

आक्रमक रुपमा कर्जा विस्तारमा लागेका बैंकहरुको कर्जा तथा निक्षेप अनुपात (सीसीडी) पनि बढेको छ । गत असार मसान्तसम्म औसतमा ७२ प्रतिशत हाराहारीमा रहेको सीसीडी अनुपात फागुन मसान्तसम्म बढेर औसतमा ७७ प्रतिशत पुगेको छ ।

 

केही बैंकको सीसीडी अनुपात नेपाल राष्ट्र बैंकले तोकेको सीमा नजिक पुग्न लागेको छ । ती बैंकहरुलाई अब थप कर्जा विस्तार गर्न समस्या हुने देखिन्छ । फागुन मसान्तसम्म ६ बैंकको सीसीडी अनुपात ८० प्रतिशत नाघेको छ । जसमा नबिल, एनआइसी एशिया, बैंक अफ काठमाण्डू, मेगा, प्राइम र सानिमाबैंक रहेका छन् ।

कोभिड-१९ को प्रभावपछि राष्ट्र बैंकले बैंकहरुलाई ८५ प्रतिशत सीसीडी अनुपात कायमा गर्नु पर्ने व्यवस्था गरेको छ । यसअघि यस्तो अनुपात बढीमा ८० प्रतिशत हुनुपर्ने व्यवस्था थियो ।

 

फागुनसम्ममा सबैभन्दा धेरै सीसीडी अनुपात रहने बैंकमा नबिल शीर्ष स्थानमा रहेको छ । यसको यस्तो अनुपात ८३.२२ प्रतिशत रहेको छ ।यो राष्ट्र बैंकले तोकेको सीमाभन्दा जम्मा १.७८ प्रतिशत मात्र कम हो । यसले आगामी दिनमा नबिलले थप कर्र्जा विस्तार गर्न सक्ने सीमा न्यून रहेको जनाउँदछ । फागुनसम्म नबिलले कुल २ खर्ब २ अर्ब निक्षेप संकलन गरी १ खर्ब ८६ अर्ब ऋण लगानी गरेको छ ।

 

पछिल्लो समय आक्रमक कर्जा विस्तार गरेका बैंकहरुको सीसीडी अनुपात क्रमशः एनआइसी एशिया ८२.९८, मेगा ८२.५७, प्राइम ८२.०४, बैंक अफ काठमाण्डू ८१.९८ र सानिमाको ८१.५८ प्रतिशत रहेको छ ।

 

फागुनसम्ममा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको सीसीडी अनुपात सबैभन्दा कम ६७.७१ प्रतिशत मात्र रहेको छ । सो अवधिसम्म २ खर्ब ४३ अर्ब निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब कर्जा लगानी गरेको बैंकले अझै प्रशस्त कर्जा विस्तार गर्न सक्ने ठाउँ रहेको छ ।

 

यस्तै, फागुनसम्ममा १३ बैंकको सीसीडी औसतभन्दा माथि अर्थात् ७७ प्रतिशतभन्दा माथि रहेको छ भने १४ बैंकको औसतभन्दा मुनि अर्थात् ७७ प्रतिशतभन्दा कम रहेको छ । औसतभन्दा मुनि सीसीडी रहेका बैंकहरुले अझै पनि प्रशस्त कर्जा विस्तार गर्न सक्ने ठाउँ रहेको देखिन्छ ।