फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, प्रतिलिटर कति पुग्यो ?

काठमाडौं । पछिल्लो समय हप्तै पिच्छे जस्तै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दै आएको नेपाल आयल निगमले फेरि भाउ बढाएको छ । दुई साताअघि मात्र भाउ बढाएको निगमले आइतबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा समान २/२ रुपैयाँ भाउ बढाएको हो ।

 

निगमका अनुसार नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ । यस्तै, डिजेल र मट्टीतेल प्रतिलिटर १०३ रुपैयाँ पुगेको छ ।खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको खुद्रा विक्री मूल्य भने हाललाई यथावत् नै राखिएको निगमले जनाएको छ ।

 

पछिल्लो पटक अप्रिल १ मा इन्डियन आयल कर्पोरेशनले पठाएको मूल्यअनुसार नै मूल्य समायोजन गरिएको हो । मूल्य समायोजन नगर्दा निगमलाई मासिक १ अर्ब ९ करोड रुपैयाँ बराबरको घाटा हुने अवस्था आएको जनाइएको छ ।

 

निगमका अनुसार मूल्य समायोजनपश्चात् पेट्रोलमा प्रतिलिटर ७.३९ रुपैयाँ, डिजेलमा १.९४ रुपैयाँ तथा खाना पकाउने एलपी ग्यासमा ४१८.४७ रुपैयाँ घाटा भई करिब ८८ करोड रुपैयाँ बराबरको घाटा हुने देखिन्छ ।

 

एलपी ग्यासबाट मात्रै निगमलाई १५ दिनमा ६० करोड १३ लाख रुपैयाँ बराबरको घाटा भइरहेको छ । घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने जनाइएको छ ।

 

भारतीय सीमा रक्सोलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोलमा ३०.४७ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३६.६३ रुपैयाँ नेपालतर्फ नै सस्तो छ ।

रुरु जलविद्युतको आइपीओ मागको ३७ गुणा बढी आवेदन, कित जनाले भरे ? Read Previous

रुरु जलविद्युतको आइपीओ मागको ३७ गुणा बढी आवेदन, कित जनाले भरे ?

आक्रमक रूपमा कर्जा विस्तार गर्दै बैंकहरू, ६ बैंकको सीसीडी ८०% नाघ्यो (सूचीसहित) Read Next

आक्रमक रूपमा कर्जा विस्तार गर्दै बैंकहरू, ६ बैंकको सीसीडी ८०% नाघ्यो (सूचीसहित)