आफ्नो पार्टनर भन्दा बढी कमाई गर्ने महिला घरेलु हिंसाको सिकार हुने सम्भावना धेरै !
चाणक्य पोष्ट
प्रकाशित : 11:54 am, बिहीबार, चैत १९, २०७७

आफ्नो पुरुष जीवनसंगीभन्दा बढी कमाउने महिलाहरू माथि हिंसाका घटना करिब ३५ प्रतिशतसम्मले वृद्धि हुन सक्ने एक नयाँ अस्ट्रेलियाली अध्ययनले बताएको छ ।

 

अस्ट्रेलियाली तथ्याङ्क विभागले १० वर्षसम्म लगाएर गरेका पुराना सर्वेक्षणहरूमा आधारित रहेर उक्त अध्ययन दुईजना अध्यापकहरूद्धारा गरिएको हो ।

 

अध्येताद्वय रोबर्ट ब्रेउनिग तथा यिनजुनजी झाङका अनुसार पुरुषहरूले कम वा बढी आय आर्जन गर्दा उनीहरू माथि हुने घरेलु हिंसा वा भावनात्मक दुर्व्यवहारमा कुनै परिवर्तन देखिँदैन ।

 

‘जब लैङ्गिक नियमको उल्लङ्घन हुन्छ, तब मात्र हामीले शारीरिक हिंसा र भावनात्मक दुर्व्यवहारका घटना बढेको पाउँछौं,’ रिपोर्टमा उनीहरू लेख्छन् ।

 

यसैगरी, यदि घरमा पुरुषको सट्टा प्रमुख आय आर्जन गर्ने स्थानमा महिला छिन् भने ती महिलाहरू आफ्ना पार्टनरहरूबाट २० प्रतिशत थप रूपमा प्रताडित हुने गरेको पनि सो प्रतिवेदनले बताएको छ ।

 

विशेषगरी महिलाहरूले आफूहरूभन्दा बढी आय गर्दा उनीहरूको आर्थिक शक्ति बढेको देखिने र त्यसबाट ‘खतरा’ उत्पन्न हुने भन्दै पुरुषहरूले घरमा आफ्नो वर्चस्व यथावत् राख्न दुर्व्यवहारपूर्ण प्रतिक्रियामा ओर्लने बताइएको छ ।

 

साथै, रिपोर्ट भन्छ कि आफ्ना पुरुष साथीको तुलनामा धेरै कमाई गर्ने महिलाहरू जुनसुकै सांस्कृतिक पृष्ठभूमि, उमेर, शैक्षिक र आय स्तरका भएता पनि उनीहरू माथि हुने हिंसा बढेकै देखिन्छ ।

 

अस्ट्रेलियन नेश्नल युनिभर्सिटी अन्तर्गतको ट्याक्स एन्ड ट्रान्सफर पोलिसि इन्स्टिच्युटका निर्देशक रहेका प्रोफेसर ब्रेउनिग भन्छन् कि अध्ययन अगाडी बढ्दै जाँदा आफूहरू अचम्ममा पर्दै गए किनकि निस्केका नतिजाहरू एकदमै अनपेक्षित थिए ।

 

उनी भन्छन्, ‘नतिजा एकदम आश्चर्यजनक रह्यो, किनभने हामी यो सोच्दै थियौं कि जब महिलाहरूको आर्थिक हैसियत उँभो लाग्छ, तब घरेलु जीवनमा उनीहरूको स्थिति पनि समानान्तर रूपले सुध्रिन्छ ।’

 

‘खासमा कुरा के रहेछ भन्दा, मानिसहरू घरमा पुरुषहरूले प्रमुख रूपमा आय आर्जन गर्ने कुरालाई सामान्य रूपमा लिन्छन् र जब यसमा तलमाथि हुन थाल्छ, तब त्यसले खलबल मच्चाउँछ । अनि त्यसैको एक रूप महिला विरुद्ध हिंसा भएर बाहिर आउँछ ।’

 

अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयरको एक तथ्याङ्क अनुसार अस्ट्रेलियामा बस्ने प्रत्येक ६ महिलामा १ जनाले आफ्नो हालका वा पहिलेका पुरुष जीवनसाथीको हातबाट कुनै न कुनै किसिमको शारीरिक वा यौनजन्य हिंसा अनुभव गरेका छन् जबकि पुरुषहरूको हकमा भने प्रत्येक १६ मध्ये १ जनाले आफ्ना महिला जीवनसाथीबाट यस्ता दुर्व्यवहारको सिकार हुने गरेका छन् ।

 

उता, ब्याङ्कवेस्ट कर्टिन इकोनोमिक्स सेन्टर र वर्कप्लेस जेन्डर इक्वालिटी एजेन्सी भनिने कार्यस्थलमा लैङ्गिक समानता बारे हेर्ने एक निकायद्वारा गरिएको एक अर्को अध्ययनमा भने लैङ्गिक रूपमा समान आयका लागि थप २६ वर्ष सम्म लाग्न सकिने बताइएको थियो ।

 

यसबारे प्रोफेसर ब्रेउनिग भन्छन् कि महिलाहरूको आर्थिक अवस्था सुधार हुँदैमा हामीले अन्य किसिमका समस्याहरू स्वतः समाप्त हुन्छन् भनेर सोच्न मिल्दैन ।

 

‘घरेलु हिंसासँग निप्टन हामीलाई छुट्टै नीतिको अझ आवश्यक छ, ताकि महिलाहरूले आफ्नो सम्बन्ध छोड्दा सचेत होउन् कि त्यस अवस्थामा उनीहरू कहाँ जान र कसको मद्दत माग्न सक्छन् ।’

 

वूमन्स सेफ्टी एनएसडब्लु नामक न्यु साउथ वेल्स राज्यमा महिलाहरूको सुरक्षाका लागि कार्यरत एक संस्थाकी प्रमुख कार्यकारी हेली फोस्टरका अनुसार महिला विरुद्ध हुने हिंसाको सबैभन्दा ठुलो कारण भनेकै परम्परागत रूपमा लैङ्गिक भूमिका आधारित अपेक्षाहरू हुन् ।
‘यो रिसर्चले यस कुरालाई स्पष्टताका साथ देखाएको छ,’ फोस्टरले भनिन् ।