काठमाडौं । कोरोना महामारी पछि ‘भी’ आकारमै माथि उठेको चिनियाँ अर्थतन्त्रले यो शताब्दीकै महत्वपूर्ण आर्थिक संरचना परिर्वतनको गतिलाई तीव्र बनाइदिएको छ । महामारी पछिको उसको आर्थिक गतिले विश्वकै ठूलो अर्थतन्त्रको रूपमा रहेको अमेरिकालाई छिट्टै उछिन्ने संकेतहरू देखिएका छन् ।
चीन सन् २०२० मा अर्थतन्त्र विस्तार भएको विश्वको एकमात्र उल्लेख्य र ठूलो अर्थतन्त्र हो । सन् १९२१ को विश्व आर्थिक मन्दी ‘द ग्रेट डिप्रेशन’यता चिनियाँ अर्थतन्त्रमा संकुचन आएको छैन ।
विश्वको कुल उत्पादनमा आफ्नो हिस्सा बढाउँदै लगेको र अमेरिकासँगको दूरी घटाउँदै लगेका कारण सन् २०२८ सम्ममा चिन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण अर्थशास्त्रीहरूले गर्दै आएका थिए । अहिले महामारी पछि भने त्यो परिदृश्यमा केही परिर्वतन आएको छ । चिनियाँ मुद्रा डलरसँग बलियो गरी उभिएको खण्डमा सन् २०२६ सम्ममा नै चीनले अमेरिकाबाट विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको ताज खोस्न सक्ने प्रक्षेपणहरू बाहिर आउन थालेका छन् ।

यो तथ्य वासिङ्टनको टाउको दुखाइको विषय भएको छ । आफ्नो पहिलो पत्रकार सम्मेलनमै अमेरिकी नव–निर्वाचित राष्ट्रपति जो बाइडेनले चीनलाई उछिन्न नदिने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले अमेरिकी अर्थतन्त्र उकास्न अनुसन्धान र पूर्वाधारमा लगानी बढाउने बताएका थिए । ‘उनीहरू विश्वको नेता बन्न चाहन्छन् । सबैभन्दा धनी र शक्तिशाली मुलुक बन्न चाहन्छन्,’ बाइडेनले भनेका थिए, ‘तर त्यो मेरो आँखा अगाडी हुन संभव छैन ।’
ट्रम्प प्रशासनले माइक्रोचिप्स जस्ता महत्वपूर्ण प्रविधिहरूमा चीनको पहुँच कम गर्न विभिन्न प्रतिबन्धहरू लगाएका थिए । बाइडेनले पनि यस्ता प्रतिबन्धहरूलाई कायम राख्ने र थप मजबुत समेत बनाउने नीति लिएका छन् ।
चीनको विपक्षीहरू अन्य क्षेत्रमा पनि कम छैनन् । युरोपमा चिनियाँ कम्पनीहरूको लागि सहज छैन । ‘स्क्रिनिङ’ कडा छ । एशियामा पनि जापान, भारत र अष्ट्रेलिया जस्ता देशहरू अमेरिकासँग मिलेर चिनियाँ प्रभाव कम गर्न लागिपरेका छन् ।
तर यसले बेइजिङलाई रोक्न सकेको छैन । उसले सन् २०३५ सम्म अर्थतन्त्रको आकार ‘डबल’ बनाउने महत्वाकांक्षी योजना ल्याएको छ । सरकारले वैज्ञानिक अध्ययन र अनुसन्धानलाई तीव्रता दिएको छ । कृत्रिम बौद्धिकता, बायो टेक्नोलोजी र हरित ऊर्जाको क्षेत्रमा विश्वकै नेता बन्ने दौडमा चीन लागेको छ ।

‘विश्वमा अहिले यो शताब्दीमै नदेखिएका ठूला परिर्वतनहरू देखा परेका छन् । तर समय र त्यसको धार हाम्रो पक्षमा छ,’ चिनियाँ राष्ट्रपति सी चीन फिङले गत जनवरीमा पार्टी नेताहरूलाई भनेका थिए ।
गत वर्ष चीनको बढ्दो प्रभाव विभिन्न ढंगले उजागर भएका थिए । चीनले गत वर्ष इतिहासमै पहिलो पटक अमेरिकाको भन्दा धेरै प्रत्यक्ष विदेशी लगानी भित्र्यायो । विश्वका ठूला ५०० कम्पनीहरूको सूचीमा पनि अमेरिकी कम्पनीहरूभन्दा धेरै चिनियाँ कम्पनीहरू पर्न सफल भए । विश्व व्यापार पनि तीव्र ढंगले बढ्यो । मास्क, मेडिकल सामग्री र घरबाटै काम गर्दा प्रयोग हुने सामानहरूको निर्यात उल्लेख्य मात्रामा बढ्यो ।
वास्तवमा ‘पर्चेजिङ पावर प्यारिटी’को आधारमा हिसाब गर्ने हो भने त चिनियाँ कुल ग्राहस्थ उत्पादन अमेरिकाकोभन्दा अहिले नै बढी छ । तर, चिनियाँ आर्थिक विस्तार र वृद्धि रोकिन्छ भन्ने मतहरू पनि नभएका होइनन् । बढ्दै गएको ऋणले वित्तीय प्रणाली ध्वस्त हुन सक्ने र एक पार्टी प्रणालीले आर्थिक चलायमानतालाई संकुचित पार्ने मतहरू पनि छन् । तर चीनले लामो समय देखि यस्ता मतहरूलाई गलत नठहर्याएको पनि होइन । अर्थतन्त्रमा राज्यको अधिक नियन्त्रणलाई पनि कमजोरीको रूपमा हेरिने गरिएको छ ।
संकटबाट अझै बलियो भएर चीन निक्लेको यो पहिलो पटक होइन । सन् १९९० को दशकको एशियन आर्थिक मन्दी र सन् २००८ को विश्व आर्थिक मन्दीबाट पनि चीन अझै बलियो भएर निक्लेको थियो । महामारीमा पनि त्यो इतिहास दोहोरिएको छ ।

चीनियाँ अर्थतन्त्रमा स्वस्थ प्रतिस्पर्धा गर्न पाइँदैन भनेर भन्ने गरिएको भए पनि विश्वका ठूला बहुराष्ट्रिय कम्पनीहरू चीनको ठूलो उपभोक्ता बजारबाट फाइदा उठाउन तछाडमछाड गरिरहेका छन् । विश्वका ठूला कार निर्मातादेखि लिएर विलासी वस्तुहरू उत्पादन गर्ने कम्पनीहरूले चिनियाँ बजारलाई नै टार्गेट गरेका छन् । नाइक, स्टारबक्स जस्ता कम्पनीहरूको सबैभन्दा धेरै उपभोक्ता चीनमै छन् ।
तर विश्वको ठूलो अर्थतन्त्र बन्ने यो भीषण युद्ध सहजै सकिनेवाला छैन । सन् १९८० को दशकमा जापानले विश्वको ठूलो अर्थतन्त्रको रूपमा अमेरिकालाई उछिन्ने प्रक्षेपणहरू व्यापक थिए । तर त्यो दिन कहिल्यै आएन ।
राष्ट्रपति बाइडेनले १.९ ट्रिलियन डलरको आर्थिक प्याकेज ल्याएका छन् । उनले पूर्वाधारहरूको सन्दर्भमा आफूले गरेका वाचाहरू पूरा गर्ने हो भने अमेरिकी अर्थतन्त्रको वृद्धि हुने क्षमता बढ्न सक्छ । त्यसो हुँदा अझै केही लामो समय चीन दोस्रो स्थानमै रहनेछ ।
डेमोग्राफी पनि चीनको पक्षमा छैन । जन्मदर न्यून छ । यो दशकको अन्त्य अगाडि नै चीनको जनसंख्याले उच्चतम विन्दु छुन सक्नेछ । यदि चीनले अमेरिकालाई उछिनिहालेको खण्डमा पनि बढ्दो बुढ्यौलीका कारण आर्थिक वातावरण सुस्त हुँदा चीन फेरि पछाडि पर्न सक्ने तथ्यलाई पनि नकार्न सकिन्न । -ब्लूमबर्ग