काठमाडौं । पप्पु कन्स्ट्रक्शनले बीचैमा अलपत्र पारेर छाडेको तीनकुनेस्थित वाग्मती पुल (आर्क ब्रिज) निर्माणको नयाँ ठेक्का नै अलमलमा परेको छ । पप्पुसँग ठेक्कका तोडेक १ वर्ष वितिसक्दा पनि नयाँ ठेक्का लाग्न नसक्दा उक्त पुल अझै अलपत्र परेको हो ।
उक्त पुलको नयाँ ठेक्का लगाउन पूर्व बोलपत्र स्टिमेट स्वीकृतिका लागिसडक विभागमा पठाइए पनि हालसम्म उक्त प्रस्ताव स्वीकृत नहुँदा नयाँ ठेक्कको प्रस्ताव अघि बढ्न नसकेको हो ।
सो प्रस्ताव सडक विभागमा माघ अघि नै बुझाइएको हो । उक्ता प्रस्ताव दिएको ३ महिना बितिसक्दा समेत कुनै निर्णय आउन सकेको छैन । सो प्रस्ताव स्वीकृत भएपछि उपत्यका सडक विस्तार प्राधिकले नयाँ ठेक्काको लागि बोलपत्र आह्वान गर्ने छ । त्यसपछि जुन कम्पनीले ठेक्का पाउने छ, उसले पुलको डिजाइन समेत आफै गर्नु पर्ने छ प्राधिकरणका सूचना अधिकारी अशोक यादवले बताए ।
‘अहिले प्रस्ताव विभागमै छ, स्वीकृत भएर आयो भने यही आवभित्र हामीले ठेक्का लगाउने काम शुरू गर्ने छौँ,’ उनले चाणक्य पोष्टसँग भने ‘ठेक्का पाउने कम्पनीले डिजाइन र निर्माण दुवै गर्नुपर्नेछ ।’
प्राधिकरणले पूर्व बोलपत्र स्वीकृतका लागि विभागमा पत्र पठाए पनि विभाग भने बेखबर रहेको छ । सडक विभागका सूचना अधिकारी रमेश कुमार सिंहले भने त्यस विषयमा आफूलाई जानकारी नभएको बताए । उनले सो फाइल महानिर्देशकको कक्षमा भएको हुन सक्ने भएकाले आफूसम्म कुनै जानकारी नआएको बताए ।
‘आर्क ब्रिज किाठमाडौं विस्तार आयोजना अन्तर्गतको हो, यस विषयमा महानिर्देशकलाई फाइल आएको होला, अहिलेसम्म मलाई जानकारी आएको छैन,’ सिंहले चाणक्य पोष्टसँग भने ।
निर्माण व्यवसायीको लापरबाही कारण सो पुल ६ वर्षदेखि अलपत्र बनेको छ । यसअघि निर्माणमा संलग्न कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिसँगको ठेक्का सम्झौता अन्त्य गरेसँगै नयाँ प्रक्रियाबाट निर्माण गर्न लागिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।
यादवले आर्क ब्रिजको नयाँ ठेक्का चालू आर्थिक वर्षभित्र गरिने बताए । पप्पुसँग २०७१ पुष ४ गते आर्क ब्रिज निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । सो सम्झौता अनुसार २०७५ असार ५ गतेसम्म निर्माण सम्पन्न हुनुपर्ने थियो । म्याद भित्र काम सम्पन्न गर्न नसकेको पप्पुले म्याद थपको माग गरेको थियो भने २०७६ सालमा पप्पुले केही काम अघि नबढाउँदा कालो सूचीमा राखिएको थियो । बारम्बार काम गर्न भनेर निर्देशन दिँदा समेत पप्पुले अटेर गरेपछि उसँगको ठेक्का अन्त्य गर्न आयोजना बाध्य भएको थियो ।
पप्पुले गरेको काममा त्रुटी पाइएपछि उसलाई नयाँ डिजाइन बनाउन निर्देशन दिइएको थियो । पप्पुले त्यसमा आफ्नै खर्च बढ्ने भएपछि काम गरेको थिएन । २५ प्रतिशतभन्दा बढी काम गर्न नसकेको पप्पुसँग ठेक्का तोडी उसलाई कालोसूचीमा राखिएको छ ।
आयोजनाले पप्पुसँग ‘एड्भान्स पेमेन्ट ग्यारेन्टी’ (एपीजी) समेत फिर्ता लिइसकेको छ । काम शुरू गर्दा ‘मोबीलाइजेसन’का लागि दिइने सो रकम आयोजनाले पप्पुबाट फिर्ता लिएको हो । आयोजनाले २ करोड ७७ लाख रुपैयाँ एपीजी फिर्ता लिएको हो । २१ करोड लगानीमा बनाउन लागिएको सो पुलका लागि सरकारले ६ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरिसकेको थियो ।
पूरै भत्काएर फेरि बनाइने
यसअघि निर्माण भएका संरचनासमेत भत्काएर फेरि नयाँ बनाउनु पर्ने भएको छ । पप्पु कन्स्ट्रक्शनले अलपत्र पारेको उक्त पुलको जगदेखि नै त्रुटी देखिएपछि सबै भत्काएर पुनः बनाइने भएको हो ।
यो पुल निर्माण गर्ने गर्ने क्रममा १६ वटा पायल मध्ये २ वटा पायल जमिनमा भासिएको देखिएको छ । सरकारले यो समस्यालाई समाधान गरेर निर्माण गर्ने भनेर पप्पुलाई पत्र दिएको थियो । तर, पप्पुले त्यसै माथि क्याब लगाउने र सब स्ट्रक्चर समेत बनाएको छ । त्यसपछि सो पुल निर्माण गर्दा जोखिम बढ्ने हुँदा काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले त्यो फेरि भत्काएर बनाउन निर्देशन दिएको थियो ।
पप्पुले सो निर्देशन पालना नगरेपछि उक्त पुलको काम अघि बढ्न सकेको थिएन । आयोजनाले बारम्बार पप्पुलाई निर्माण तोडेर नयाँ डिजाइनमा पुल बनाउन भने पनि पप्पुले अटेरी गरेको हो । पप्पुले फाउन्डेसन नमिलाई त्यस माथिनै थप काम गरेको थियो ।