काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) यसै साताभित्र बाँडफाँट गर्ने तयारी गरिएको छ ।
विक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार अहिले कम्पनीको आइपीओमा परेका आवेदनहरु रुजु भइरहेको छ । आवेदन रुजु गरिसकेपछि प्रि-अलोटमेन्ट गरी सम्भवतः शुक्रबारसम्म बाँडफाँट गर्ने गरी काम भइरहेको क्यापिटलले जनाएको छ ।
कम्पनीले चैत ६ गतेदेखि सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर विक्रीमा ल्याएको थियो । जसमा १६ लाख २२ हजार ७२१ जनाले २ करोड ४७ लाख १० हजार ८८० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीको आइपीओमा परेको आवेदन हालसम्मकै दोस्रो धेरै आवेदन हो । यसअघि ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा हालसम्मकै धेरै १८ लाख बढीले आवेदन दिएका थिए ।
कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्र दोलखाको बिगु र कालिञ्चोक गाउँपालिकाका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आइपीओ जारी गरिसकेको छ ।
कम्पनीले हाल दोलखामा २५ मेगावट क्षमताको आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल लागत ५ अर्ब ५० करोड रहेको छ भने प्रतिमेगावाट लागत २२ करोड रुपैयाँ रहेको छ ।
लगानी फिर्ता हुने अवधि ८.१६ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १४.४० वर्ष रहेको छ ।