स्वतन्त्र भएपछि बंगलादेशले अर्थतन्त्रले यसरी मार्‍यो फड्को

गाजीपुर । बङ्गलादेशले स्वतन्त्रता प्राप्त गरेको यसै साता ५० वर्ष पुगेको छ । गरिबीको चेपुवामा परेको बङ्गलादेशले पछिल्ला वर्षमा आर्थिक समृद्धिका दिशामा व्यापक प्रगति गरे पनि अधिकार कटौतीले चिन्तित बनाएको छ ।

 

पछिल्ला वर्षहरुमा एक दलीय झैं देखिएको बङ्गलादेशको राजनीतिमा सरकारको विरोधमा कार्टून बनाए वा फेसबुकमा केही लेखे जेलमा परिने वा त्योभन्दा कडा सजाय भोग्नु पर्ने हुन सक्छ ।

 

एबीएम शमशुद्दीन बङ्गलादेशको आर्थिक प्रगतिबाट राम्रै लाभ प्राप्त गर्न सफल भएका छन् । उनले सन् १९९८ मा ११० वटा मेसिन र २५० जना कामदार राखेर एउटा स्वीटर बनाउने कारखानाखोलेका थिए ।  अहिले शमशुद्दीनको हन्नान समूहका पाँच वटा कारखानाले दुई दर्जन युरोपेली ब्रान्डका लागि तयारी पोशाक आपूर्ति गर्दछ र यहाँ १० हजारभन्दा बढीले काम पाएका छन् ।

 

‘मेरो वार्षिक कारोबार अहिले झण्डै १० करोड डलर छ,’ ६६ वर्षीय शमशुद्दीनले भने, ‘म जिरो (शून्य) बाट हिरो भएको छु ।’ शमशुद्दीनको कार्यालयमा एएफपीसँग कुरा गर्दा मजदूरहरु जर्मनीको एस्प्रिट ब्रान्डका लागि तयारी पोशाक सिलाउँदै थिए ।

 

सडक, बन्दरगाह र ऊर्जाको सुविधा जस्ता पूर्वाधारमा धेरै राम्रो गरेकामा हसिना सरकारको प्रशंसा गर्दै शमशुद्दीनले १६ करोड ८० लाख जनसंख्याका लागि मुलुकमा समृद्धिको नयाँ युग शुरु हुन लागेको बताए।

 

उनको कारखानाकी एक कामदारको नाम रुमा हो । उनी बङ्गलादेशी तयारी पोशाक उद्योगमा कार्यरत ३० लाख मजदुरमध्ये एक हुनुहुन्छ । हाल विश्वमा चीनपछि बङ्गलादेशबाट सबैभन्दा बढी तयारी पोशाक विदेश निर्यात हुन्छ ।

 

सन् १९८० को दशकमा झाडापखाला लागेर रुमाकी आमाको निधन भएपछि उनी आफन्तको घरमा आश्रय लिन पुग्नु भएको थियो । तर काकाले छोरीलाई शिक्षाको के जरुरत भन्दै किताब नै च्यातिदिएका थिए । पढ्न लेख्न नपाए पनि उनी अहिले तयारी पोशाक उद्योगमा काम गर्न थाले ।

 

अहिले उनी महिनामा ४२० अमेरिकी डलरसम्म कमाउछन् ।  मुस्लिम समुदायको पर्व ईदका दिनहरुमा उनी र उनका पति दुबैले मिलेर एक हजार डलरभन्दा बढी रकम गाउँ लैजान्छन् । उनीहरु आफ्ना दुई बालबच्चाको शिक्षाका लागि महिनामा १२० डलरभन्दा बढी खर्च गर्न सक्ने भएका छन् ।

 

सन् १९७१ मा बङ्गलादेश रक्तरञ्जित युद्धपछि पाकिस्तानबाट स्वतन्त्र भएको थियो । यस युद्धमा ३० लाखभन्दा बढी मानिस मारिएका थिए ।त्यसबखत बङ्गलादेशका ८० प्रतिशतभन्दा बढी मानिस गरिबीको रेखामुनि थिए । भोकमरि र सैन्य सत्ताविद्रोह नियमित झैं थिए भने जुट उद्योग समेत अधिकांश उद्योगहरुमा पाकिस्तानी व्यवसायीको स्वामित्व थियो ।

 

अहिले, बङ्गलादेशको परिस्थिति फेरिएको छ । विगत चार दशकदेखि बङ्गलादेशका बारेमा गहिरो अध्ययन गरेका नर्वेजियाली अनुसन्धाता एरिक जी जान्सेनका अनुसार, बङ्गलादेशमा गरिबीको रेखामुनिको जनसंख्या अहिले १० प्रतिशतको हाराहारीमा मात्र छ ।

 

मुख्य बाली धानको उत्पादन तीन गुणाभन्दा बढी भइसकेको छ । सन् १९७१ मा मानिसको औसत आयु ४१ वर्ष रहेकामा अहिले त्यो ७३ वर्ष पुगिसकेको छ ।

 

विगत एक दशकमा बङ्गलादेशको अर्थतन्त्र वार्षिक ७ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ र सन् २००० देखि प्रतिव्यक्ति जिडीपी पनि तीन गुणाभन्दा बढीले वृद्धि भएको छ ।

 

प्रधानमन्त्री शेख हसिनाको सरकारले सन् २०४१ सम्ममा बङ्गलादेशलाई ‘विकसित मुलुक’मा रुपान्तरण गर्ने योजना अघि सारेकी छन् ।आर्थिक पक्षमा बङ्गलादेशले तिब्र गतिमा प्रगति गरिरहे पनि अधिकारकर्मीहरुले प्रधानमन्त्री हसिनाको शासनकालमा मानव अधिकार उल्लङ्घनका घटना बढेकामा सर्वत्र चिन्ता व्यक्त गरेका छन् ।

 

प्रधानमन्त्री हसिना सन् २००९ देखि लगातार बङ्गलादेशको प्रधानमन्त्री छिन् । उनी बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानकी छोरी पनि हुन् ।

 

मुख्य विपक्षी बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) को अवस्था नाजूक छ । पार्टी अध्यक्ष एवं हसिनाकी मुख्य प्रतिद्वन्द्वी खालेदा जिया हाल भ्रष्टाचारका कारण जेलमा छन् भने उनको स्वास्थ्य अवस्था नाजूक छ ।

 

बीएनपीको भनाइमा आफ्ना कम्तीमा ३५ लाख कार्यकर्ता र समर्थकमाथि सन् २०१२ देखि मुद्दा लगाइएको छ । ठूलो संख्याका व्यक्तिहरु अहिले पनि जेलभित्र छन् । एएफपी

अब सार्वजनिक यातायातमा मास्क अनिवार्य, नलगाए कारबाही हुने Read Previous

अब सार्वजनिक यातायातमा मास्क अनिवार्य, नलगाए कारबाही हुने

महालक्ष्मी विकास बैंकको लाभांश पारित Read Next

महालक्ष्मी विकास बैंकको लाभांश पारित