काठमाडौं । विश्वकै व्यवस्थित र सुन्दर भनेर चिनिने देश सिङगापुरले सन् २०३० सम्ममा हरेक घरबाट १० मिनेटको हिँडाइमा हरियाली पार्क पुगिने व्यवस्था गर्ने भएको छ । यसका लागि उसले सन् २०३० सम्ममा १० लाख रोप्ने महत्वाकांक्षि योजना अघि सारेको छ ।
सिङ्गापुर अहिले पनि विश्वकै धेरै हरियाली भएको देश मध्येको एक हो । सिङ्गापुरको कुल भू-भाग मध्ये एक तिहाई भू-भाग हरियाली छ ।यसका बाबजूद सिङ्गापुरले वायु प्रदूषणलाई थप न्यूनीकरण गर्न र देशवासीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्न यस महत्वाकांक्षी योजना अघि सारेको हो ।
नेपालमा नेताहरूले पनि लामोसमय देखि नेपाललाई सिङ्गापुर जस्तै बनाउने भन्दै आएका थिए । तर, उनीहरूले सिङ्गापुरको अर्थ अग्ला भवनहरू, रेल, चिल्ला बाटो इत्यादिका रूपमा मात्र बुझेको जस्तो देखिन्छ । होइन भने नेपालका उच्च राजनीतिक र प्रशासनिक नेतृत्वले सहर र देशलाई हरियाली बनाउने र जनताको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नेका बारेमा सोच्न समेत थालेका छैनन् । बरु त्यसको ठीक विपरीत काम गर्दै आएका छन् ।

ललितपुर महानगरपालीकाले साइकल लेन बनाउने र थप विस्तार गर्दै जाने योजना बनाएको छ । तर केही समयअघि मात्र सडक विभागका एक उच्च अधिकारीले त्यसको खुब विरोध गरे र त्यस्तो साइकल लेन नचाहिने तर्क गरे ।
उता सिङ्गापुरले भने सन् २०३० सम्म १३०० किलोमिटर साइकल लेन विस्तार गर्ने योजना बनाएको छ । सिङ्गापुरले सन् २०२५ सम्म सम्पूर्ण डिजेल गाडीहरू माथि प्रतिबन्ध लगाउने पनि घोषणा गरिसकेको छ ।
नेपालले भने अझै डिजेल र पेट्रोलबाट चल्ने गाडी प्रतिस्थापन गर्दै विजुली गाडी प्रबद्र्धन गर्ने ठोस र प्रभावकारी नीति बनाउन सकेको छैन ।सिङ्गापुरको महत्वाकांक्षी योजनामा १० वर्ग किलोमिटर एरियालाई हरियाली बनाउने र त्यसमध्ये २ वर्ग किलोमिटर एरियाको प्राकृतिक पार्क बनाउने पनि उल्लेख गरिएको छ ।

यता नेपालको राजधानी काठमाडौंमा भने हरियाली पार्क पाउनै मुश्किल छ । अथवा एउटै हरियाली पार्क छैन भन्दा पनि हुन्छ । भएका खाली जमिनहरू पनि टाठाबाठा र राज्यकै निकायहरूले मिचेको तथ्यहरू हाम्रा लागि सामान्य नै हुन् ।
सिङ्गापुरले घरबाट निस्कने फोहरहरू पनि ३० प्रतिशतले कटौती गर्ने, सौर्य उर्जा ५ गुणाले बढाउने, नयाँ बन्ने घरहरूले सरकारको न्यूनतम उर्जा खपत मापदण्ड पूरा गर्नुपर्ने जस्ता योजनाहरू पनि अघि सारेको छ ।
सिङ्गापुर अत्यन्तै सानो देश हो । त्यहाँ खाली जमिनको चरम अभाव छ । त्यसो हुँदा पनि उनीहरूले जसरी हरियाली बढाउने र पार्कहरू बनाउने योजनाहरू अगाडी सारेका छन् नेपालजस्तो देशको लागि यो निक्कै ठूलो शिक्षा हुन सक्छ ।
तर अग्ला भवनहरू, चिल्ला सडकहरू, रेलहरू इत्यादिलाई मात्र हेरेर नेपाललाई सिङ्गापुर बनाउने बनाउने डेङ हाँक्ने नेपाली राजनीतिक र प्रशासनिक नेतृत्वले सिङ्गापुरको दीर्घकालीक विकासको मोडलको भने सुईंको समेत पाएको देखिएको छैन ।
