काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक आएको छ । सोमबार २६ अंकले घटेको बजारमा आज दोहोरो अंकको सुधार आएको हो ।
आज सेयर बजार मापक सूचक नेप्से १४.५७ अंकले बढेर २५२८.९६ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०८ कम्पनीको ५ अर्ब १४ करोड १८ लाख ९७ हजार १६९ रुपैयाँ बराबरको १ करोड २ लाख ७६ हजार ७१० कित्ता सेयर किनबेच भएका छन् ।
मंगलबार कारोबारमा आएका १३ वटा समूहमध्ये ७ समूहको परिसूचकमा हरियाली छाएको छ भने ६ वटासमूहको परिसूचक राताम्मे भएका छन् । व्यापार समूह सबैभन्दा धेरै ३४६.४६ अंकले बढेको छ भने जीवन बीमा समूह सबैभन्दा धेरै ९८.७८ अंकले घटेको छ ।
कारोबारमा आएका २०८ कम्पनीमध्ये ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७६ कम्पनीको मूल्यमा गिरावट आएको छ । १९ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । यसको सबैभन्दा धेरै ५२ करोड ६० लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा माथिल्लो तामाकोशी ३२ करोड र नेपाल बंगलादेश बैंक २८ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।
दोहोरो अंकले बढेको बजारमा आज ८ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने अधिकांश कम्पनी हाइड्रोपावर कम्पनी रहेका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य ठ्याक्कै १० प्रतिशत बढेको छ । यसैगरी, माथिल्लो तामाकोशी, चन्द्रागिरी हिल्स, रसुवागढी, साञ्जेन, कालिका पावर, रैराङ हाइड्रोपावर र वोमी लघुवित्तका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
बढ्दो बजारमा आज पञ्चकन्यामाइ हाइड्रोपावर सेयरधनीले सबैभन्दा धेरै ४.१५ प्रतिशत गुमाएका छन् ।