सिंगटी हाइड्रोको आइपीओमा ७ गुणा बढी आवेदन, कति जनाले भरे ?

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) मा मागभन्दा ७ गुणा बढी आवेदन परेको छ ।

 

विक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार सोमबार ५ बजेसम्म सिंगटीको आइपीओमा १२ लाख २५ हजार २६८ जनाले १ करोड ९० लाख ९७ हजार ७३० कित्ताका लागि आवेदन दिएका छन् । यो मागको ७.०७ गुणा बढी हो ।

 

कम्पनीले शुक्रबारदेखि सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर विक्रीमा ल्याएको हो।

 

निष्किाशित कुल २९ लाख कित्ता आइपीओमध्ये २ प्रतिशत (५८ हजार कित्ता) कम्पनीका कर्मचारी र ५ प्रतिशत (१ लाख ४५ हजार कित्ता) सामूहिक लागनी कोषहरुलाई छुट्याइएको छ । बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

 

कम्पनीको आइपीओमा चैत १० गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर नबिकेमा ढिलोमा चैत २० गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् ।

 

लगानीकर्ताले धितोपत्र बोर्डबाट सी-आस्वा इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।

 

कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्र दोलखाको बिगु र कालिञ्चोक गाउँपालिकाका स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आइपीओ जारी गरिसकेको छ ।

 

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी माइनस (आइएस)’ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको जोखिम बहन क्षमता अ‍ैसतभन्दा कमजोर रहेको जनाउँछ ।

 

कम्पनीले हाल दोलखामा २५ मेगावट क्षमताको आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल लागत ५ अर्ब ५० करोड रहेको छ भने प्रतिमेगावाट लागत २२ करोड रुपैयाँ रहेको छ ।

 

लगानी फिर्ता हुने अवधि ८.१६ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १४.४० वर्ष रहेको छ ।

 

कति कित्ता भर्नु उपयुक्त ?

 

धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँड गर्नुपर्ने हुन्छ।

 

कम्पनीले सर्वसाधरणलाई २६ लाख ९७ हजार कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा २ लाख ६९ हजार ७०० जनालाई मात्र सेयर दिन पुग्छ ।

 

कम्पनीको आइपीओ अहिलेसम्म सवा १२ लाख बढीले आवेदन दिइसकेका छन् भने अझै आवेदन दिने समय १ दिन बाँकी छ । सो आधारमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नु पर्ने देखिन्छ । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार रुपैयाँ अर्थात १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।

चन्द्रागिरीको सेयर पाउनै मुश्किल, पाए जति एउटैले झ्वाम ! कसले उठाउँदै छ धमाधम ? Read Previous

चन्द्रागिरीको सेयर पाउनै मुश्किल, पाए जति एउटैले झ्वाम ! कसले उठाउँदै छ धमाधम ?

'अथेन्टिक' नेवारी खाना खुवाउन कीर्तिपुरमा खुल्यो सःसः रेष्टुरेन्ट Read Next

'अथेन्टिक' नेवारी खाना खुवाउन कीर्तिपुरमा खुल्यो सःसः रेष्टुरेन्ट