चन्द्रागिरीको सेयर पाउनै मुश्किल, पाए जति एउटैले झ्वाम ! कसले उठाउँदै छ धमाधम ?

काठमाडौं । पछिल्लो समय सेयर बजारमा ‘हटकेक’ बन्दै गएको चन्द्रागिरी हिल्सको सेयर पाउन अझै मुश्किल छ । कारोबारमा आएको करिब डेढ महिना बिते पनि कम्पनीको सेयरको आपूर्ति अत्यन्त कम हुँदा अझै सेयर किन्न नपाउने अवस्था रहेको हो ।

 

गत माघ २५ गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको कम्पनीको सेयर किन्न लगानीकर्ता अझै मरिहत्ते गर्ने गरेका छन् । दैनिक ५ लाखभन्दा बढी कित्ताको माग भए पनि विक्री कर्ता नहुँदा एक/दुई जनाले बाहेक सेयर पाउन सकेका छैनन् ।

 

१६१ रुपैयाँमा कारोबार खुलेको कम्पनीको सेयर मूल्य २९ कारोबार दिनमै १० गुणाले बढेर आज १५६३ रुपैयाँमा कारोबार भइरहेको छ । कारोबार शुरु भएदेखि नै कम्पनीको सेयर मूल्यमा हरेक दिन पोजेटिभ सर्किट अर्थात् १० प्रतिशतले बढ्दै आएको । कम्पनी सेयर अधिक माग रहेकाले अझै केही दिने भाउ बढ्ने सम्भावना समेत देखिन्छ ।

 

नेप्सेमा सूचीकृत अन्य कम्पनीको तुलनामा यस कम्पनीको सेयर संख्या न्यून रहेको र यस्तै प्रकृतिको कम्पनी सेयर बजारमा नरहेकाले लगानीकर्ता यसप्रति आकर्षित भएका हुन् ।

 

हाल नेप्सेमा सर्वसाधरण तर्फको चन्द्रागिरीको १५ लाख ३४ हजार ९१० कित्ता सेयर सूचीकृत छ । थोरै सेयर भएकाले बजारमा चलखेल (कर्नरिङ) गर्ने समूहले जति मूल्यमा भए पनि पाए जति सेयर खरिद गर्ने गरेकाले लगातार दैनिक सर्किट लेभलमा मूल्य बढेको हो ।

आजसम्म कम्पनीको करिब ५७ हजार कित्ता मात्र सेयर कारोबार भएको छ । अहिलेसम्म सर्वसाधरणले पाएको १० कित्ताका दरले नै कारोबार भएको छ भने म्युचुअल फण्डहरुले समेत आफूसँग भएको सेयर विक्री गरेका छैनन् । कुल १५ लाख ४३ हजार कित्ता सेयर मध्ये म्युचुअल फण्डहरुसँग २ लाख कित्ता सेयर रहेको छ । दोस्रो बजारबाट म्युचुअल फण्डहरुले पाएसम्म सेयर उठाउन गरेको बताइएको छ । जसले गर्दा दैनिक उच्च माग हुने गरेको छ ।

 

सेयर पाउनै मुश्किल

 

पछिल्लो दुई साता यता कम्पनीको दैनिक ५ हजारदेखि १५ हजार कित्तासम्म सेयर कारोबार हुँदै आएको छ । तर, सेयर अर्डर गर्ने एक/दुई जना बाहेकले सेयर पाउन सकेका छैनन् ।

 

‘एक त सप्लाइ नै कम छ । त्यसमा पनि एक जनाले नै दशौं हजार कित्ता अर्डर राखिदिन्छन्,’ एक ब्रोकरका संचालकले भने, ‘जसले सबैभन्दा छिटो अर्डर राख्यो, उसैले सेयर पाउने हो, त्यसले गर्दा अरुले सेयर पाउने चान्स नै छैन ।’

 

अहिले ८५ प्रतिशतभन्दा बढी लगानीकर्ताले अनलाइनमार्फत आफैले अर्डर राख्न सक्छन् । तर, शुरुमै एक जनाले नै धेरै कित्ता अर्डर राखिदिँदा अरुले हेरेर मात्र बस्नु पर्ने अवस्था रहेको उनको भनाइ ।

 

साना लगानीकर्ताले एकै पटक ठूलो भोलुममा सेयर उठाउन नसक्ने भएकाले अहिले म्युचुअल फण्डसहित केही ठूला लगानीकर्ताले पाएजति सेयर आफै उठाउने खेलमा लागेको साना लगानीकर्ताको आरोप छ ।

 

‘अहिले बजारमा सप्लाई आए जति सबै सेयर बटुल्न केही लगानीकर्ता समूह नै बनाएर लागिपरेका छन्,’ पुतलीसडकस्थित एक ब्रोकर कार्यालयमा भेटिएका लगानीकर्ताले भने, ‘यसले भविष्यमा केही सीमित व्यक्तिको हातमा मात्र सेयर हुने र उनीहरुले कर्नरिङ गर्दै आफूले चाहेको मूल्यमा सेयर बेच्न सक्छन् ।’

 

कस्तो छ कम्पनीको वित्तीय अवस्था

 

कुल अधिकृत पूँजी २ अर्ब रुपैयाँ रहेको कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ रहेको छ । कम्पनीमा संस्थापक समूहका १ अर्ब ३५ करोड रुपैयाँ र सर्वसाधरणको १८ करोड ४० लाख ९१ हजार रुपैयाँ लगानी छ ।

 

हाल कम्पनीको प्रतिसेयर नेटवर्थ ऋणत्मक रहेको छ भने आगामी ३ वर्षम मात्र नेटवर्थ १०० रुपैयाँ पुग्ने कम्पनी प्रक्षेपण छ । चालू आर्थिक वर्षमा नेटवर्थ ९०.६९ रुपैयाँ नेटवर्थ रहेको कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा नेटवर्थ १०९.२४ रुपैयाँ पुग्ने प्रक्षेपण गरको छ ।

यसैगरी, चालू आर्थिक वर्षमा ४ रुपैयाँ प्रतिसेयर आम्दानी पुग्ने प्रक्षेपण गरेको यो कम्पनीले त्यसपछिका आगामी २ आर्थिक वर्षमा २३.५४ रुपैयाँ र ३२.८४ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।

 

यस्तै हालसम्म सञ्चित मुनाफा ऋणात्मक रहेको यो कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा १४ करोड १७ लाख रुपैयाँ र त्यसपछिको आर्थिक वर्षमा ३३ करोड ८३ लाख रुपैयाँ पुग्ने अनुमान गरेको छ ।

 

कम्पनीले चालू आर्थिक वर्षमा ६ करोड १३ लाख खुद नाफा कमाउने प्रक्षेपण गरेको छ भने आगामी २ आर्थिक वर्षमा क्रमशः ३६ करोड ११ लाख र ५० करोड ३७ लाख रुपैयाँ खुद नाफा गर्ने प्रक्षेपण गरेको छ ।

 

कोरोना महामारीले कम्पनीलाई यो वर्ष धेरैै असर पारेको देखिन्छ । यो असरबाट निस्कन कम्पनीलाई केही वर्ष लाग्ने देखिन्छ । त्यसपछि भने कम्पनीले राम्रै नाफा कमाउन सक्ने सम्भावना भने देखिन्छ ।

 

मागको तुलनामा आपूर्ति कम भएपछि सेयर मूल्य बढ्नु स्वभाविक भए पनि वित्तीय अवस्था कमजोर रहेको यस कम्पनीको सेयर किन्दा भने लगानीकर्ताले ख्याल गर्नुपर्ने देखिन्छ ।

नेप्सेमा दोहोरो अंकको गिरावट, घट्दो बजारमा यी २ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Previous

नेप्सेमा दोहोरो अंकको गिरावट, घट्दो बजारमा यी २ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

सिंगटी हाइड्रोको आइपीओमा ७ गुणा बढी आवेदन, कति जनाले भरे ? Read Next

सिंगटी हाइड्रोको आइपीओमा ७ गुणा बढी आवेदन, कति जनाले भरे ?