गत वर्षको तुलनामा ३.६२ प्रतिशतले घट्यो धान रोपाइ

काठमाडौं । धान रोपाइ गत वर्षको तुलनामा यो वर्ष ३.६२ प्रतिशतले घटेको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयको तथ्यांक अनुसार २०७६ सालको साउन १८ गतेसम्ममा ८६ प्रतिशत धान रोपाइ भएको हो । गत वर्ष साउन १८ गतेसम्ममा ८९.६२ प्रतिशत धान रोपाइ भएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

 

नेपालको आर्थिक वृद्धिदरमा धानको उत्पादनको महत्वपूर्ण भूमिका हुने हुनाले धानको रोपाइ र उत्पादन नेपालको आर्थिक र कृषि क्षेत्रमा महत्वपूर्ण विषय हो ।

 

उच्च पहाडी क्षेत्रमा यो वर्ष साउन १८ गतेसम्ममा ८८.८४ प्रतिशत धान रोपाइ भएको छ भने गत वर्षको सोही समयमा ८९.७६ प्रतिशत धान रोपाइ भएको थियो । मध्य पहाडी क्षेत्रमा यो वर्ष साउन १८ गतेसम्ममा ८६.६५ प्रतिशत धान रोपाइ भएको छ भने गत वर्ष सोही अवधिमा ८९.६५ प्रतिशत धान रोपाइ भएको थियो ।

 

यसैगरी तराई क्षेत्रमा यो वर्षको साउन १८ गतेसम्ममा ८५.६३ प्रतिशत धान रोपाइ भएको हो । गत वर्ष सो अवधिमा ८९.६० प्रतिशत धान रोपाइ भएको थियो ।

 

सरकारले चालु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ । धानको उत्पादन घट्दा सरकारको आर्थिक वृद्धिदरको लक्ष्य भेट्न गाह्रो हुने संकेत यसले गरेको छ । गत वर्ष भन्दा यो वर्ष कम वर्षा भएका कारण रोपाइ कम भएको हो ।

 

सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी धान रोपाइ

 

 

सबै प्रदेश मध्ये साउन १८ गतेसम्मको अवधिमा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी धान रोपाइ भएको कृषि मन्त्रालयको तथ्यांकले देखाएको छ । उक्त प्रदेशमा ९५.३३ प्रतिशत धान रोपाइ भएको हो । गत वर्ष साउन १८ भित्र उक्त प्रदेशमा ९९ प्रतिशत धान रोपाइ भएको थियो ।

 

सुदूरश्चिम प्रदेशमा १३ लाख ७१ हजार ७ सय ६ हेक्टर जमिनमा रोपाइ हुने भए पनि यो वर्षको १८ गतेसम्ममा ११ लाख ७९ हजार ६ सय ८८ हेक्टर जमिनमा मात्र रोपाइ भएको हो ।

 

यस्तै कर्णाली प्रदेशमा ९४.१० प्रतिशत धान रोपाइ भएको छ । २०७६ सालको साउन १८ गतेसम्ममा ९४.१० प्रतिशत धान रोपाइ भएको मन्त्रालयको तथ्यांकले देखाएको हो ।

 

गत वर्ष उक्त अवधिमा ९१.५५ प्रतिशत धान रोपाइ भएको तथ्यांकले देखाएको छ । कर्णाली प्रदेशमा कुल ३८ हजार ३ सय ८५ हेक्टर जमिनमा धान रोपाइ गर्न हुने भएता पनि साउन १८ गतेसम्ममा २६ हजार १ सय २२ हेक्टर जमिनमा धान रोपाइ भएको हो ।

 

गण्डकी प्रदेशमा यो साउन १८ गतेसम्ममा ८६.५९ प्रतिशत धान रोपाइ भएको तथ्यांकले देखाएको छ । गत वर्ष सो अवधिमा ९६.५९ प्रतिशत धान रोपाइ भएको थियो । गण्डकी प्रदेशमा कुल १ लाख ८ हजार २ सय ७८ हेक्टरमा धान रोपाइहुने भएता पनि यो वर्षको साउन १८ गतेसम्ममा ९३ हजार ७ सय ५६ हेक्टरमा धान रोपाइभएको छ ।

 

यस्तै प्रदेश ५ मा यो वर्षको साउन १८ गतेसम्ममा ८८.८६ प्रतिशत धान रोपाइ भएको तथ्यांकले देखाएको छ । मन्त्रालयको तथ्यांक अनुसार गत वर्ष सो अवधिमा ९१.३८ प्रतिशत धान रोपाइ भएको थियो । प्रदेश ५ मा ३ लाख ३ हजार ५ सय ९३ हेक्टर जमिनमा धान रोपाइ हुने भएता पनि २ लाख ६९ हजार ७ सय ७४ हेक्टर क्षेत्रफलमा धान रोपाइ भएको छ ।

 

प्रदेश ३ मा यो वर्ष साउन १८ सम्ममा ८८.६७ प्रतिशत धान रोपाइ भएको छ । गत वर्ष सो अवधिमा ८९.३६ प्रतिशत धान रोपाइ भएको कृषि मन्त्रालयको तथ्यांकले देखाएको छ । प्रदेश ३ मा कुल १ लाख १५ हजार २ सय ९५ हेक्टर क्षत्रफलमा धान रोपाइ हुने भएता पनि यो वर्षको साउन १८ गतेसम्ममा १ लाख २ हजार २ सय २७ हेक्टर क्षेत्रमा धान रोपाइ भएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

 

प्रदेश २ मा यो वर्षको साउन १८ गतेसम्ममा ९१.९९ प्रतिशत धान रोपाइ भएको छ । गत वर्ष सो अवधिमा १०७ प्रतिशत धान रोपाइ भएको तथ्यांकले देखाएको छ । प्रदेश २ मा कुल ३ लाख ६५ हजार ६ सय १५ हेक्टर जमिना धान रोपाइ हुने भए पनि यो वर्षको साउन १८ गतेसम्ममा २ लाख ९९ हजार ७ सय ७६ हेक्टर जमिनमा धान रोपाइ भएको हो ।

 

यस्तै प्रदेश १ मा यो वर्ष साउन १८ गतेसम्ममा ८०.१३ प्रतिशत धान रोपाइ भएको तथ्यांकले देखाएको छ । गत वर्ष सो अवधिमा ८६.२९ प्रतिशत धान रोपाइ भएको थियो । प्रदेश १ मा कुल २ लाख ७५ हजार ९ सय १ हेक्टर क्षेत्रफलमा धान रोपाइ हुने भएता पनि साउन १८ गतेसम्ममा २ लाख २१ हजार ८७ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइ भएको हो ।

जलविद्युत कम्पनीको नाफा ३८ प्रतिशतले बढ्यो Read Previous

जलविद्युत कम्पनीको नाफा ३८ प्रतिशतले बढ्यो

सूर्या लाइफको ७०% हकप्रद भदौ ८ बाट खुल्ने Read Next

सूर्या लाइफको ७०% हकप्रद भदौ ८ बाट खुल्ने