‘भीआइपी’लाई तान्दै मेची क्राउन, टुर प्याकेजदेखि डेस्टिनेशन वेडिङसम्मका योजना

मेची (झापा) । कोभिडले विश्व पर्यटन क्षेत्रलाई नै आक्रान्त बनाइरहेको बेला पूर्वाञ्चलको झापामा भने सकारात्मक घटना घट्यो । पूर्वाञ्चलकै पहिलो पाँच तारे होटल यही विषम परिस्थितका बीच सञ्चालनमा आयो । कोरोना कहरका समयमा सबैभन्दा प्रभावित मध्येको व्यवसाय पर्यटन व्यवसाय हो । त्यसमा पनि नेपालको पूर्वाञ्चल पर्यटनको दृष्टिकोणले उति चर्चित क्षेत्र होइन । त्यसैले विषम परिस्थिमा पूर्वाञ्चलमा पहिलो पाँच तारे होटल खुल्नु समग्र नेपालको पर्यटन क्षेत्रकै लागि सुखद र प्रेरणादायी कदम भएको छ ।

 

पूर्वाञ्चलकै पहिलो पाँच तारे होटल ‘होटल मेची क्राउन’को सफ्ट ओपनिङ गत सेप्टेम्बरमा भएको थियो । त्यसपछि अक्टुबरमा मात्र होटल पूर्णरूपमा सञ्चालनमा आएको हो ।

करिब ८ बिघा जमिनमा फैलिएको यो होटलको कुल लागत १ अर्ब ३० करोड हाराहारी रहेको छ । ठूलो स्वीमिङ पुल, स्पा, जिमहल लगायत पनि होटलको प्रमुख आर्कषण हुन् ।

 

होटलमा १०५ वटा कोठा छन् । यसका अलावा होटलमा केही भिल्लाहरू पनि छन् । भिल्लाहरू ‘एक्जिक्युटिभ भिल्ला’ र ‘एक्जिक्युटिभ सुइट’को रूपमा बेच्ने गरिएको छ । परिवारका लागि यी सुइटहरू निकै उपयुक्त देखिन्छन् । भिल्लाको माथि सुइट छ भने त्यसको तल्लो तल्लामा दुइवटा ‘टुइन रुम’हरू रहका छन् ।

होटलको शुल्क भने काठमाडौंका होटलहरूभन्दा थोरै बढी लाग्छन् । डिलक्स कोठाहरूको मूल्य एक रातको १० हजार (प्लस प्लस) रहेको छ । त्योभन्दा माथिको चाहिँ १३ हजार (प्लस प्लस) रहेको छ । ‘यो अहिलेको लागि मात्र हो । पछि हाम्रो र काठमाडौंको रेट उस्तै हुन्छ होला । सायद अहिले काठमाडौंमा पनि बढिसक्यो होला,’  होटलकी सह-कार्यकारी निर्देशक अश्लेशा कार्की भन्छिन् ।

 

होटलको अकुपेन्सी भने अहिले स्थिर छैन । महामारीको प्रभाव पनि पूर्णरूपमा हटिसकेको छैन । त्यसैले अकुपेन्सी निकै तलमाथि भइरहन्छ । कहिले २–३ वटा कोठा मात्र गइरहेको हुन्छ भने कहिलेकाहीँ २०-२५ वटा कोठाहरू पनि गइरहेको हुन्छ । त्यसैले ‘कस्टुमर फ्लो’ अहिले ठ्याक्कै भन्न सकिने अवस्था नभएको होटलका कर्मचारीहरू बताउँछन् ।

होटलले स्थानीय युवा युवतीहरूलाई नै काममा लगाएर स्थानीय रोजगारलाई प्रर्वद्धन गरेको छ । होटल पूर्णरूपमा सञ्चालनमा आए पनि यहाँ प्रत्यक्ष रूपमा ३ सय हाराहारीले रोजगारी पाउने सञ्चालक कार्की बताउँछिन् ।

 

पूर्व राजाको बसाइले चर्चा चुलियो

 

केही समय अघि पूर्व रानी कोमलको जन्मदिन मनाउन पूर्व राजा ज्ञानेन्द्रले यही होटल रोजेपछि होटलको चर्चा एकाएक चुलिएको थियो । उनीहरू त्यहाँ ७ दिन बसेका थिए अन्य नातेदारहरू भने ३ दिन बसेका थिए । पूर्व राजा ज्ञानेन्द्र एक पटक पहिला पनि यो होटलमा बसिसकेका रहेछन् ।

‘राजा पहिला पनि एक पटक हाम्रो होटलमा आएर बसिसक्नुभएको थियो । धेरै राम्रो लाग्यो अब आउँदा परिवार पनि लिएर आउँछु भन्नुभएको थियो । तर रानीको जन्मदिन नै यहाँ मनाउनुहोला जस्तो चाहिँ लागेको थिएन । हाम्रो लागि त्यो निकै सुखद आश्चर्य  थियो,’ होटलकी  निर्देशक कार्कीले चाणक्य पोष्टसँग भनिन् ।

 

अश्लेशा अष्ट्रेलियाको युनिर्भसिर्टी अफ मेलर्बनबाट व्यवस्थापनमा स्नातक गरेर आएकी हुन् । अहिले होटलको अपरेशनको जिम्मा उनकै काँधमा रहेको छ । युवा उमेरमै ठूलो होटलमा नेतृत्वदायी भूमिका निभाइरहेकी कार्की होटललाई लिएर निकै उत्साहित छिन् । भविष्यको लागि योजनाहरू पनि बनाइरहेकी छिन् ।

‘डेस्टिनेशन वेडिङ’ देखि टुर प्याकेजसम्मका व्यावसायिक योजना

 

नेपाल-भारत सीमा नजिक रहेको यो होटल अहिले पूर्ण क्षमतामा चलिसकेको छैन । अहिले सीमानाका बन्द नै छ । मानिसहरू अलिअलि हिँड्न मात्र पाएका छन् । गाडीहरू पूर्णरूपमै बन्द छन् ।

उसो त होटलको निर्माण कार्य पनि पूर्णरूपमा सञ्चालनमा आइसकेको छैन । होटल परिसरमा फाट्टफुट्ट निर्माण कार्य भइरहेको देखिन्छ । ‘निर्माण कार्य अब पूर्ण रूपमै २ देखि ३ महिना भित्र सकिन्छ होला । होटल पछाडिका भिल्ला एरियाहरू अबको २–३ हप्तामा सकिन्छ होला । अबको दुई महिनामा सीमानाका पनि सहज रूपमा खुल्छ होला । त्यही समय भित्र हाम्रो पनि निर्माण कार्य पूर्णरूपमा सकिन्छ । त्यसपछि होटल पूर्णरूपमा सञ्चालनमा आउँछ,’ सञ्चालक कार्की भन्छिन् ।

 

पूर्वाञ्चल पर्यटकीय दृष्टिकोणले नेपालको अन्य क्षेत्रभन्दा धेरै पछाडि छ । नेपालको पर्यटकीय क्षेत्रको नेतृत्व पोखरा, चितवन र सगरमाथाले गरिरहेका छन् । नेपालमा पर्यटन भन्ने बित्तिकै मुख्य रूपमा ‘साइट सिइङ’ भनेर बुझ्ने चलन पनि व्याप्त छ ।

यस्तो परिस्थितिमा होटल मेची क्राउनले भने अलि फरक ढंगले आफ्नो व्यवसायीक रणनीति तय गरेको छ । होटललाई मुख्यरूपमा ‘डेस्टिनेशन वेडिङ’को गन्तव्यको रूपमा विकास गर्ने योजना बनाइएको छ । यसका अलावा झापाका मारवाडी समूह पनि होटलका संभावित ग्राहकहरू हुन् । उनीहरूलाई नै लक्षित गर्दै विवाह, वर्षगाँठ र जन्मदिन जस्ता उत्सवहरूको आकर्षिक गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य होटलले राखेको छ ।

 

यसका अलावा विभिन्न टुर प्याकेजहरूको निर्माण गरेर पूर्वाञ्चलको पर्यटनमा पनि टेवा पुर्याउने र होटलको पनि व्यवसाय प्रर्वद्धन गर्ने लक्ष्य होटलको छ । ‘हामीले विभिन्न खाले टुर प्याकेजहरू पनि चलाउने योजना बनाएका छौं । यहाँ नजिकै पाथिभरा मन्दिर पनि छ । कञ्चनजंगा बेस क्याम्पतिर पनि जान पाइयो,’ कार्की भन्छिन्, ‘ काठमाडौंबाट यहाँ आएर १ रात बिताउने अनि पाथिभराको दर्शन गर्ने । त्यसैमा इलामको कन्याम पनि घुम्ने योजना बनाउन सकिन्छ । त्यतातिर पनि होटलहरू बन्दै छन् भन्ने हामीले सुनेका छौं । उनीहरूसँग पनि समन्वय गर्न सकिन्छ । सीमानाका सहज रूपमा खुलेपछि त झन् यो टुर सिलगुढी सम्मै लैजान पनि सकिन्छ ।’

होटलको अर्को प्रमुख व्यवसायिक क्षेत्र भनेको क्यासिनो पनि हो । यो व्यवसाय भने भारतको सिलगुढीतर्फ लक्षित छ । अहिले सञ्चालनमा नआइसकेको क्यासिनो निकट भविष्यमै सञ्चालनमा आउने होटलकी कार्यकारी निर्देशक सृजना सापकोटा बताउँछिन् ।

 

होटलको व्यवसायलाई लिएर सञ्चालकहरू ढुक्क देखिन्छन् । उनीहरूको आत्मविश्वासको स्रोत भने ग्राहकहरूको ‘रिभ्यु’ रहेछ । यहाँ आउने धेरै ग्राहकहरूले यो ठाउँमा पहिलेदेखि नै एउटा स्तरीय होटलको खाँचो रहेको र त्यो आवश्यकता अहिले पूरा भएको बताउने गरेका छन् ।

‘पहिले एउटा बर्थडे मनाउन पनि भारतको सिलगुढी जानुपर्ने अवस्था थियो । अहिले आफ्नै देशमा यो स्तरको होटल पाउनु हाम्रो लागि निकै खुसीको कुरा हो । यहाँको खानाहरू निकै राम्रा र मीठा छन् । होटलको आन्तरिक सजावट पनि निकै आकर्षक छ,’ होटलमा भेटिएका एक ग्राहकले खुशी व्यक्त गरे ।

 

होटलले नेपाल र भारतभन्दा बाहिरका ग्राहकहरूलाई तान्न पनि रणनीतिहरू बनाइरहेको छ । नेपाल, भारत र भुटानको टुर प्याकेज यही सर्किटमा पर्ने हुनाले यो क्षेत्रमा विशेषगरी थाइ र जापानी पर्यटकहरूको आवागमन बाक्लो हुने गर्छ । त्यस्ता पर्यटकहरूलाई पनि ‘टार्गेट’ गर्ने होटलको लक्ष्य रहेको छ ।

 

यसका अलावा विदेशी पर्यटकहरूलाई लक्षित गर्दै होटलले विभिन्न ओटी प्लेटर्फमहरू अगोडा, मेक माइ ट्रिप, बुकिङ डट कम, ट्रिप एडभाइजर सँग पनि संवादमा रहेको छ ।

विदेशी पर्यटकहरूको लागि यो क्षेत्रमा कञ्चनजंगा हिमाल आकर्षक गन्तव्य हुन सक्छ । त्यसका अलावा यहाँ धेरै मन्दिरहरू पनि छन् । मन्दिरहरू घुमाउनको लागि चाहिँ होटलले नै उनीहरूलाई सिकाउनु पर्ने हुन्छ । बानी पार्नुपर्ने हुन्छ । यो काम त्यति सजिलो चाहिँ छैन ।

 

अहिले दमकमा प्रधानमन्त्रीको महत्वाकांक्षी भ्यु टावर निर्माण भइरहेको छ । दमकदेखि यहाँ आउँदासम्म अरु पनि केही ठीकठाकका होटलहरू छन् । यो परिवेशले पनि होटललाई व्यवसायिक रूपमा मद्दत पुर्याउने देखिन्छ ।

नेप्सेलाई निफ्राको जवाफ : आगामी वर्ष लाभांश दिने सत्य हो, ८ प्रतिशत दिने प्रक्षेपण छ Read Previous

नेप्सेलाई निफ्राको जवाफ : आगामी वर्ष लाभांश दिने सत्य हो, ८ प्रतिशत दिने प्रक्षेपण छ

बीमा र माइक्रोफाइनान्स चम्किँदा सेयर बजारमा उछाल, यी ९ कम्पनीका लगानीकर्ता मालामाल Read Next

बीमा र माइक्रोफाइनान्स चम्किँदा सेयर बजारमा उछाल, यी ९ कम्पनीका लगानीकर्ता मालामाल