काठमाडौं । एनआइसी एशिया बैंक फेरि खर्बपति क्लबमा प्रवेश गरेको छ । यससाता पछिल्ला दुई दिनमा सेयर मूल्य बढेसँगै बैंकको बजार पूँजीकरण १ खर्ब नाघेको हो ।
पछिल्ला दुई दिन (आज १ बजेसम्म)मा सेयर मूल्य प्रतिकित्ता २२ रुपैयाँले बढेसँगै बैंकको बजार पूँजीकरण १ खर्ब पुगेको हो । एनआइसी यसअघि पनि खर्बपति क्लबमा प्रवेश गरे पनि गतासाता बाहिरिएको थियो ।
पछिल्लो ३ सातामा बैंकको सेयर मूल्य प्रतिकित्ता १०९ रुपैयाँले घटेको थियो । फागुन ६ गते प्रतिकित्ता ९६३ रुपैयाँ पुगेको बैंकको सेयर मूल्य त्यसयता निरन्तर घटेर चैत १ गते ८५५ रुपैयाँमा आएको थियो ।यससाता सेयर मूल्य बढ्न थालेपछि बैंक एकहप्तामै फेरि खर्बपति क्लबमा उक्लिएको हो ।
फागुन ६ गते १ खर्ब ११ अर्ब पुगेको एनआइसीको बजार पूँजीकरण घटेर चैत १ गते ९९ अर्बमा सीमित भएको छ ।यससाता फेरि सेयर मूल्यमा वृद्धि भएसँगै बैंकको बजार पूँजीकरण बढेर १ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ ।
मंगलबारदेखि फेरि सेयर बजार उकालो लागेसँगै अन्य कम्पनीहरुको पनि पूँजीकरण बढ्दो क्रममा रहेको छ । अब थोरै मात्र सेयर मूल्य बढे ग्लोबल आइएमई बैंक पनि खर्बपति क्लबमा प्रवेश गर्नेछ । आज ग्लोबलको बजार पूँजीकरण ९३ अर्ब हाराहारी रहेको छ ।
हाल नेप्सेमा सूचीकृत २२० कम्पनीमध्ये ७ वटा कम्पनीको बजार पूँजीकरण १ खर्ब बढी रहेको छ । नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, नागरिक लगानी कोष, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र एनआइसी एशिया बैंकको पूँजीकरण १ खर्ब बढी रहेको छ ।