काठमाडौं । सेयर बजार उच्च अंकले कमब्याक गरेको छ । लगातार दुईसाताको गिरावट पछि बजार लयमा फर्किएको हो ।
पछिल्लो दुईसातामा करिब २२५ अंकले घटेको बजार आज करिब ४१ अंकले बढेको छ । सूचकमा सुधार आए पनि कारोबार रकममा भने घट्दो क्रममा नै रहेको छ ।
फागुन दोस्रोसातासम्म औसतमा दैनिक ९ अर्ब कारोबार हुँदै आएकोमा पछिल्लो तीन सातामै घटेर करिब साढे ३ अर्बमा सीमित भएको छ ।
अफ सिजन भन्दै ठूला लगानीकर्ता बजार प्रवेश नगर्दा कारोबार रकम सुस्ताउँदै गएको लगानीकर्ताहरु बताउँछन् । अहिले अधिकांश कम्पनीले गत वर्षको मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् । यस्तै, सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमासिक रिपोर्ट आउन पनि लगभग १ महिना बाँकी नै छ । जसले गर्दा लगानीकर्ता सुस्ताएको आकलन गरिएको छ ।
यस्तै, केहीसाता अघि महँगोमा सेयर किनेका लगानीकर्ताहरुले सेयर होल्ड गर्दा पनि कारोबार रकमले गति लिन सकेको छैन भने बजारमा नयाँ लगानीकर्ताको पनि प्रवेश गरेका छैनन् ।देशमा देखिएको राजनीतिक अस्थिरताका कारण पनि लगानीकर्ता केही समय पर्ख र हेरको अवस्थामा रहेका छन् ।
करिब ४ वर्ष लामो बियरिस ट्रेन्डमा रहेको बजार पछिल्लो १ वर्ष यता बुल ट्रेन्डमा रहेको छ । बुल ट्रन्डमा रहेको बजारमा बीचबीचमा करेक्शन आउने गर्छ । पछिल्लो दुई सातामा आएको करेक्शनलाई सामान्य रुपमा लिनुपर्ने लगानीकर्ताको बुझाइ ।
करिब ६ महिनामा दोब्बरले बढेको नेप्सेमा अहिले कबिर १० प्रतिशतको करेक्शन आएको हो । यो करेक्शन पछि फेरि बजारले गति लिने लगानीकर्ताको विश्वास छ । चैत सकिएपछि कम्पनीहरुले धमाधम वित्तीय विवरण सार्वजनिक गर्ने हुँदा बजारले फेरि लय पकड्ने उनीहरुको बुझाइ छ ।
आज सेयर बजार मापक सूचक नेप्से ४०.४० अंकले बढेर २४३२.१४ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१२ कम्पनीको ३ अर्ब ३७ करोड ४५ लाख ५२ हजार १७८ रुपैयाँ बराबरको ८६ लाख २६ हजार ६६७ कित्ता सेयर किनबेच भएका छन् ।
बुधबार कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । जीवन बीमा समूह सबैभन्दा धेरै ३७२.५८ अंकले बढेको छ ।
कारोबारमा आएका २१२ कम्पनीमध्ये १७४ कम्पनीको सेयर मूल्य बढेको छ भने २५ कम्पनीको मूल्यमा गिरावट आएको छ । ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । यसको सबैभन्दा धेरै २० करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै नेपाल लाइफ इन्स्योरेन्स १८ करोड र एचआइडीसीएल १६ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।
उच्च अंकले बढेको बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । चन्द्रागिरी हिल्स, घलेम्दी हाइड्रोपावर, ग्रीनलाइफ हाइड्रोपावर, युनाइटेड इदिमार्दी हाइड्रोपावर र पञ्चकन्यामाइ हाइड्रोपावरका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । यस्तै, खानीखोला हाइड्रोपावरका सेयरधनीले पनि ९.३८ प्रतिशत कमाएका छन् ।
बढ्दो बजारमा आज घलेम्दी हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ८.९५ प्रतिशत गुमाएका छन् ।