काठमाडौं । चक्रपथ विस्तार अन्तर्गत दोस्रो चरण (कलंकीदेखि चाबहिलसम्म) सडक विस्तारका लागि आवश्यक पर्ने संरचना हटाउने (साइट क्लियरेन्स) काम अन्तिम चरणमा पुगे पनि चिनियाँ कम्पनीले काम शुरु गर्न आनाकानी गरेको छ ।
हालसम्म साइट क्लियरेन्सको काम ९८ प्रतिशत सम्पन्न भए पनि चिनियाँ कम्पनीले पूरै साइट क्लियर नभएसम्म काम शुरु नगर्ने बताएको आयोजना प्रमुख अर्जुन सुवालले जानकारी दिएका छन् ।
महाराजगंज क्षेत्रका हटाउनुपर्ने १९ मध्ये १२ घरको क्षतिपूर्तिको मूल्याङ्कन गरी भत्काउने काम अगाडि बढे पनि ७ घरको घरधनीसँग अहिलेसम्म सम्पर्क हुन नसकेको बताइएको छ ।
उनका अनुसार चिनीयाँ कम्पनीले साइट क्लियरेन्स पूरा नभएसम्म काम शुरु गर्न मानेको छैन । आयोजनाले राजदूतावास मार्फत बारम्बार साइटको काम शुरु गर्न कम्पनीलाई पत्रचार पठाउने काम गरिरहेको उनले बताए ।
‘केही घर भत्किने भएका छन्, त्यसैले अब काम शुरु गरौँ भनेर चिनीयाँ कम्पनीलाई बारम्बार बोलाउने प्रयास गरिरहेका छौँ, तर उनीहरु साइट सबै क्लियर नभएसम्म काम शुरु नगर्ने भनेर बसेका छन्,’ सुवालले चाणक्य पोष्टसँग भने ‘अहिलेसम्म चिनीयाँ कम्पनी तर्फबाट काम गर्ने विषयमा कुनै रेस्पोन्स आएको छैन ।’
आयोजनाका अनुसार महाराजगंज क्षेत्रका हटाउनुपर्ने १९ मध्ये १२ घरको क्षतिपूर्तिको मूल्याङ्कन गरी भत्काउने काम अगाडि बढे पनि ७ घरको घरधनीसँग अहिलेसम्म सम्पर्क हुन नसकेको बताइएको छ ।
पहिलो चरणको कोटेश्वर–कलंकी सडक विस्तारपछि दोस्रो चरणको कलंकी–चाबहिल विस्तार गर्ने भएको हो । चीन सरकारले सम्झौताअनुसार नै निर्माण कार्य अघि बढाउन लागिएको हो ।
आयोजनाका अनुसार विस्तारका लागि ११.६ किलोमिटर सडकको विस्तारका लागि निर्माणस्थल खाली गरिएको हो । सडक निर्माणस्थलमा रहेका खानेपानीको पाइप, ढल, विद्युतको पोललगायतका संरचना सार्ने काम सकिएको छ । त्यस्तै, सो सडकमा रहेका २ हजार १०० रूख काटिएको छ ।
त्यस्तै, विस्तारको क्रममा स्वयम्भूमा पर्ने एउटा स्तुपासमेत भत्किने भएपछि लामो समयसम्म विरोध रहँदै आएको थियो । स्तुपा सारिने जिम्मा काठमाडौं महानगरपालिकाले जिम्मा लिएपछि विवाद सुल्झिएको हो । हाल विवाद सकिएलगत्तै विस्तारको कार्य अघि बढेको हो ।
चक्रपथ पहिलो खण्डमा सडकमा रहेका संरचना हटाउनु पहिले नै निर्माण शुरु भएको थियो । सडक निर्माण शुरु भइसक्दा पनि संरचना हटाउन सकिएको थिएन । एकातिर सरकारी निकायले नै तुरुन्त युटिलिटी नहटाउने त अर्कातर्फ सडकमा रहेका घरटहरा नहट्दा निर्माणमा ढिलाइ भएको थियो ।
२०७१ मा शुरु भएको सडक निर्माण २०७२ मा नेपालमा आएको भूकम्प र त्यसपछिको नाकाबन्दीले गर्दा प्रभावित बनेको थियो । विभिन्न अवरोधका कारण सडक निर्धारित अवधिभन्दा केही ढिलो सम्पन्न भएको थियो ।चक्रपथ पहिलो खण्डमा देखिएको समस्या दोस्रो खण्डमा नदोहोरियोस् भनेर चीन सरकारले निर्माण शुरु गर्नु पहिले नै निर्माणस्थल खाली गर्न सरकारलाई भनेको थियो । चीन सरकारले निर्माणस्थल खाली भएपछि नै विस्तृत अध्ययन गरेर सडक निर्माण शुरु गर्नेछ ।
प्रत्येक किलोमिटरमा आकाशेपुल
चक्रपथ दोस्रो चरणमा बन्दै गरेको समडमा प्रत्येक दुई किलोमिटरमा आकाशेपुल राखिने भएको छ । सो सडकमा दुई ‘अन्डर पास’ समेत राखिने छ । साथै मुख्य लेनमा बीचमा डिभाइडर हुने गरी सडक विभागले प्रस्ताव गरेको छ ।
सडक विस्तारका लागि सरकारले गत चैतमा सडक हस्तान्तरण गर्ने गरी तयारी गरेको थियो । पहिलो चरणको विस्तारमा रहेको कमी–कमजोरी हुन नदिने गरी डिजाइन गरिएको सडक विभागले जनाएको छ ।