काठमाडौं । वर्षौदेखि निर्माणाधीन काठमाडौं उपत्यका विस्तार आयोजना अन्तर्गतका विभिन्न ९ सडक आयोजना चालू आर्थिक वर्षमा पूरा गर्ने लक्ष्य राखिए पनि त्यो सम्भव नहुने भएको छ ।हालसम्म ती सडकहरुको औसतमा करिब ७० प्रतिशतमात्रै निर्माण पूरा भएकाले अबको ४ महिनाभित्र बाँकी काम पूरा गर्न कठिन हुने आयोजनाले बताएको छ ।
काठमाडौं उपत्यका विस्तार आयोजनाका सूचना अधिकारी अशोक यादवले चालू आर्थिक वर्षभित्र ९० प्रतिशत आयोजना पूरा हुने बताएका हुन् । उनले धेरै आयोजना अन्तिम चरणमा रहेको भन्दै चालू आवभित्र आयोजनाको ९० पतिशतका हाराहारीमा काम सम्पन्न गर्ने लक्ष्य अनुसार काम भइरहेको बताए ।
आयोजना अन्तर्गतका ९ सडकमध्ये चालू आर्थिक वर्षका दुई सडक आयोजना सम्पन्न हुने बताए । लगनखेल–सातदोबाटो सडक र चाबहिल–साँखु सडक यही आर्थिक वर्षभित्र विस्तार सम्पन्न हुने देखिए पनि अन्य ७ सडक निर्माण भने सम्पन्न नहुने भएका हुन् ।
‘थोरै कुराले काम अड्केको छ, चालू आवमा ९० प्रतिशत आयोजनाका काम सकिने छन्, बाँकी आगामी आर्थिक वर्षमा पूरा हुन्छन्,’ सूचना अधिकारी यादवले चाणक्य पोष्टसँग भने ।
उनले आयोजना अन्तर्गतका ९ सडकमध्ये चालू आर्थिक वर्षका दुई सडक आयोजना सम्पन्न हुने बताए । लगनखेल–सातदोबाटो सडक खण्ड र चाबहिल–साँखु सडक यही आर्थिक वर्षभित्र विस्तार सम्पन्न हुने देखिएको छ ।
चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ७० प्रतिशत भौतिक प्रगति देखाएको उपत्यका विस्तार आयोजनाले चालू आवभित्र ९० प्रतिशत निर्माण सम्पन्न हुने जनाएको हो ।
यस अघि आयोजना अन्तर्गतका विस्तार कामहरु आगामी असार मसान्तभित्र सम्पन्न गर्ने बताइएको थियो । उनले विगतमा कोभिड १९ का कारण समस्या भए पनि पछिल्लो समय निर्माणले गति लिएको बताए ।
यस्तो छ उपत्यकाका ९ सडक आयोजनाको पछिल्लो अवस्थाा
चाबहिल–जोरपाटी–साँखु सडक
यस सडक आयोजना अन्तर्गत ८० प्रतिशतका हाराहारीमा भौतिक प्रगति भएको छ । सो खण्डमा ४ ठेक्कामा काम भइरहेको छ । यस अन्तर्गत ६५ प्रतिशतदेखि ८० प्रतिशत हाराहारीमा सडक विस्तारको काम सम्पन्न भएको यादवले बताए ।

यस अन्तर्गत चालू आर्थिक वर्षभित्र विस्तार सम्पन्न गरी कालोपत्र गरिने बताए । चाबहिल–साँखु सडकखण्ड २०७२ असोज १३ गतेबाट निर्माण शुरु हुने गरी सम्झौता भएको थियो । आर्थिक वर्ष २०७६/७७ को अन्तिमसम्ममा सम्पन्न हुने भनिए पनि त्यसो हुन सकेन । उक्त सडकखण्डको साढे ७ किलोमिटर सडक कालोपत्र भइसकेको छ । झण्डै ४ किलोमिटरको हाराहारीमा सडक कालोपत्र गर्न बाँकी रहेको छ । बाँकी रहेका काम यथास्थितीमा चालू आवभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको यादवले बताए ।
त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक
यस सडक आयोजना अन्तर्गत हालसम्मा ९० प्रतिशत हाराहारीमा काम पूरा भइसकेको छ । सो खण्डमा ३ वटा ठेक्का रहेको छ । ३ वटै ठेक्कामा ९० प्रतिशत भन्दा बढी भौतिक प्रगति भएको छ ।७० करोड लगानीमा विस्तार हुन लागेको सो आयोजनामा हालसमम ९२ करोड रुपैयाँ खर्च भइसकेको विस्तार आयोजनाका सूचना अधिकारी असोक यादवले जानकारी दिए ।
११ किलोमिटर लम्बाइ रहेको सो सडकमा ६८८ घर भत्काउनु पर्नेमा ३५० मात्र घर भत्काइएको छ भने बाँकी घर नभत्काई यथास्थितिमा निर्माण गर्न लागिएको हो ।यस सडक आयोजना २०७६ चैत्र महिनाभित्र सम्पन्न गर्ने तयारी भए पनि कोभिड १९ का कारण चालू आर्थिक वर्ष भित्र सम्पन्न गर्ने राखिएको छ । यससडकको काम २०७२ असारदेखि शुरु गरिएको थियो ।
लगनखेल–सातदोबाटो सडक
यस सडक आयोजना अन्तर्गत हालसम्म ९५ प्रतिशत भौतिक प्रगति भइसकेको छ । अन्तिम चरणमा रहेको सो आयोजना अबको केही महिनामै सम्पन्न हुने उनको भनाइ छ ।

५ करोड ७३ लाख रुपैयाँ लगानीमा विस्तार भइरहेको यस आयोजनामा हालसम्म ५ करोड ४२ लाख रुपैयाँ खर्च भइसकेको छ । यो आयोजना २०७३ जेठदेखि गतेबाट शुरु गरिएको थियो । २०७७ जेठ २० गतेसम्म सम्पन्न गर्ने भनिएको यस आयोजनाको केही काम कोभिडका कारण रोकिएको थियो ।
इमाडोल–सिद्धिपुर–गोदावरी–लामाटार सडक
यस सडक आयोजना अन्तर्गत हालसम्म ७० देखि ८० प्रतिशत भौतिक प्रगति भएको उपत्यका विस्तार आयोजनाले जनाएको छ । ३ ठेक्कामा विभाजन गरी भइरहेको यस आयोजना अन्तर्गत स्थिानिय वासिन्दाहरुबाट घर जग्गा मुआब्जा तथा क्षतिपूर्ति माग गर्दै घर टहरा भत्काउन दिएका छैनन् । विद्युतका पोल, रुख हटाउन नदिएका कारण यस ण्डमा धेरै भौतिक प्रगति देखिन नसकेको यादवले बताए ।
उनका अनुसार यस आयोजनामा हालसम्म ७० करोड रुपैयाँ बढी खर्च भइसकेको छ । यस आयोजनाका लागि ९३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । ८ किलोमिटर लम्बाइ रहेको सो सडक चालू आर्थिक वर्ष भित्र सम्पन्न हुने आयोजनाले जनाएको छ । सो सडकखण्ड २०७७/७८ भित्र सक्ने लक्ष्य रहेको छ ।
उक्त खण्डमा ५६ वटा घर भत्काउनु पर्नेमा १० वटा मात्र घर भत्काइएको थियो । चालू आवमा लामाटारमा समेत ३०/३५ वटा घर भत्काइएको छ । अन्य बाँकी रहेका घर नभत्काई यथास्थितिमै सडक विस्तार अघि बढाइने योजनाले जनाएको छ ।
नख्खु खोला–भैसेपाटी–बुंमती सडक
यस सडक आयोजना अन्तर्गत हालसम्म करिब ७० प्रतिशतका हाराहारीमा भौतिक प्रगति भएको छ । सडक विस्तारका क्रममा काठमाडौं उपत्यका विकास प्राधिकरणले सडक सीमा क्लियर गर्ने काम नहुँदा कार्य प्रभावित भएको यादवले बताए । उनले यस खण्डमा केही स्थानीयहरुले विद्युतका पोल, टेलिफोनका पोल र रुखहरु हटाउन नदिएको जानकारी दिए ।

यस आयोजना अन्तर्गत ५६ कारोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । हालसम्म ३१ करोड ६४ लाख रुपैयाँ खर्च भएको छ । २०७३/७४ मा शुरु भएको यस आयोजना चालू आर्थिक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
ढोलाहिटी–चापागाउँ–लेले सडक
यस सडक आयोजना अन्तर्गत हालसम्म ५० प्रतिशतका हाराहारीमा भौतिक प्रगति भएको छ । सो खण्डको शुरुमा १७.२० मिटर चौडाइमा सडक निर्माण भएको हुँदा हालका २० मीटर को सट्टा १७.२० मटिर नै गर्न स्थानीय वासिन्दाले माग गरेका छन् । स्थानीयको माग अनुसार गर्न नगरपालिकाबाट समेत पत्रचार भएता पनि मापदण्ड घटाइ निर्माण गर्न नसकिने भएको हो ।
सर्वोच्च अदालको स्टेअर्डरका कारण घर हटाउन नसकिएको यादव बताउँछन् । उनले घर टहरा हटाउने प्रयास गर्दा स्थानीयहरुले अवरोध सृजना गरेको हुँदा काम अघि बढ्न नसकेको बताए ।
२०७३/७४ मा शुरु भएको यस आयोजना हालसम्म ५० प्रतिशतका हाराहारीमा मात्र पूरा भएको छ । यस आयोजनामा १ अर्ब ८ करोड ७९ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । यस आयोजनामा हालसम्म ४१ करोड ९५ लाख रुपैयाँ खर्च भएको छ । उनले यस आयोजना यथास्थितीमा भए पनि यही आवभित्र पूरा गरिने बताए ।
पेप्सीकोला –सल्लाघारी सडक
यस सडक विस्तार आयोजना अन्तर्गत हालसम्म ४५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । स्थानीयले जग्गा समेतको मुआब्जा माग्न थाले पछि निर्माण कार्य अघि नबढेको यादवले बताए ।

उनले उक्त सडकको बाहखा बजार भन्दा अगाडि घरहरु भत्काउनु पर्नेमा स्थानीयको अवरोधका कारण उपत्यका विकास प्राधिकरणले साइट क्लियर गर्न नसक्दा हाल सो खण्डमा कुनै काम अघि बढ्न नसकेको बताए ।
४.५ किलोमिटर लम्बाइ रहेको यस आयोजना कान्छाराम/पीआर/उमा एण्ड कम्पनी जेभिले निर्माण ठेक्का लिएको छ । ४९ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन भएको यस आयोजनामा हालसम्म १७ करोड ९२ लाख रुपैयाँ खर्च भइसकेको छ ।
कर्मनाशा खोला–हरिसिद्धि–गोदावरी सडक
यस सडक आयोजना अन्तर्गत हालसम्म ३५ देखि ५५ प्रतिशत भौतिक प्रगति भएको छ । २ ठेक्कामा अघि बढी रहेको यस आयोजनाले साढे ७ किलोमिटर सडक विस्तार गरिँदै छ । २०७३/७४ मा शुरु भएको यस आयोजनामा हालसम्म प्रगति देखिन सकेको छैन ।सर्वोच्च अदालतले स्टेअर्डर जारि गरेका कारण १ सय २० घर हटाउन सकिएको छैन । सो खण्डमा ४०० घर भत्काउनुपर्ने भएकोमा एउटै पनि घर भत्काउन सकिएको छैन ।
आयोजना अन्तर्गत ६७ करोड रुपैयाँ विनियोजन गरिएको थियो । हालसम्म २० करोड ४६ लाख रुपैयाँ खर्च भइसकेको छ । सो खण्डमा हिमपाइप हाल्दै सडक मिलाउने काम तीव्र गतिमा भइरहेको छ । साढे ७ किलोमिटर लम्बाइ रहेको यो सडक खण्ड चालू आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
जोरपाटी–सुन्दरीजल सडक
यस सडक आयोजना अन्तर्गत हालसम्म ४० देखि ५५ प्रतिशतका हाराहारीमा भौतिक प्रगति भएको छ । ७ किलोमिटर लम्बाइ यो सडक निर्माण चालू आवभित्र सम्पन्न गर्ने यादव बताउँछन् ।
उनले स्थानीयको विवादका कारण सिमाङकनमा ढिलाई भएको हुँदा हाल मात्र काम शुरु गरिएको बताए । घर टहरा हटाएर विस्तार गर्न खोज्दा स्थानीयले विरोध सृजना गरेपछि सो खण्डमा यथास्थितिमा सडक कालोपत्र गरिने भएको हो । केही खाली स्थानमा काम शुरु गरिए पनि जग्गाको समेत मुआब्जा माग्दै स्थानीयले अदालतमा मुद्दा हालेपछि सो मुद्दा विचाराधीन रहेको हुँदा कामले गति लिन नसकेको यादवले बताए ।
२०७३ असारमा शुरु भएको यस आयोजना २०७७ कार्तिकसम्म सम्पन्न गर्ने भनिए पनि पूरा हुन सकेको छैन । निर्माणधीन ठेकेदारले म्याद थपका लागि निवेदन पेस गरेको उनले जानकारी दिए ।