काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक साधरण सेयर (आइपीओ)मा मागभन्दा साढे ६ गुणा बढी आवेदन परेको छ ।
सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार १८ लाख ४ हजार ६४८ जनाले ३ करोड ८० लाख ५७ हजार ७१० कित्ताका लागि आवेदन दिएका छन् । यो मागको ६.४ गुणा बढी हो ।
यद्यपि, अन्तिम तथ्यांक आइनसकेकाले आवेदकको संख्या अझै बढ्न सक्ने क्यापिटलले जनाएको छ ।
ज्योति लाइफको आइपीओमा परेको आवेदन अहिलेसम्म कुनैपनि आइपीओमा परेको सबैभन्दा धेरै हो । यसअघि महिला लघुवित्तको आइपीओमा सबैभन्दा धेरै १५ लाख ४९ हजारले आवेदन दिएका थिए ।
कम्पनीले गत शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको छ ।
कुल निष्काशित आइपीओमध्ये ५ प्रतिशत (३ लाख ३० हजार कित्ता) कम्पनीका कर्मचारी र अर्को ५ प्रतिशत (३ लाख ३० हजार कित्ता) नै सामूहिक लागनी कोषहरु र ५९ लाख ४० हजार कित्ता सर्वसाधरणका लागि छुट्याइएको थियो ।
हाल १ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ निष्काशन पछि चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।