काठमाडौं। पछिल्लो समय उत्पादनमूलक कम्पनीहरु पनि सेयर बजारमा प्रवेश गर्न उत्साहित हुँदै गएका छन् । बैंक तथा वित्तीय क्षेत्रका कम्पनीहरुको बाहुल्यता रहेको सेयर बजारमा उत्पादनमूलक कम्पनीहरु पनि थपिने क्रम बढ्दै गएको छ ।
यसअघि सर्वोत्तम सिमेन्ट, सोनापुर सिमेन्टले बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्ने घोषणा गरिसकेका छन् भने रिलायन्स स्पिनिङ मिल्सले पनि आइपीओ जारी गर्ने घोषणा गरेको छ ।
रिलायन्सले बुक विल्डिङमार्फत १४ लाख ६० हजार कित्ता सेयर जारी गर्ने भएको हो। कुल निष्काशन गरिने सेयरमध्ये ४० प्रतिशत सेयर योग्य संस्थागत लगानीकर्ता र बाँकी ६० प्रतिशत सेयर सर्वसाधारणको लागि निष्कासन गरिने कम्पनीले जनाएको छ ।
रिलायन्सले आइपीओ जारी गर्न ग्लोबल आइएमई क्यापिटललाई सेयर निष्काशन तथा विक्री प्रवन्धक नियुक्त गरेको छ। सेयर निष्काशनका सम्बन्धी सम्झौतापत्रमा कम्पनीका संचालक शशिकान्त अग्रवाल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरे।
२०५१ सालमा दर्ता भएर संचालनमा आएको रिलायन्स नेपालको सबैभन्दा ठूलो यस स्पिनिङ्ग मिल्स हो ।
उच्च प्रविधियुक्त स्पिनिङ्ग प्लान्ट र मेशिनरी जडान गरी कम्पनीले अन्तर्राष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलेक यार्न लगायत सिउने धागोहरु विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ।
दुहबी र खनारमा दुई स्थानमा उद्योग रहेको रिलायन्सले ४ हजार ३०० भन्दा धेरैजनालाई रोजगार दिँदै आएको छ ।