जनता धनी बनाउने नारा घन्काउने व्यवसायिक र राजनीतिक नेतृत्वको ‘गरीब’ व्यवहार
ब्रबिम बिक्रम थापा
प्रकाशित : 8:35 am, बिहीबार, फाल्गुन २७, २०७७

नेपाल किन सिङ्गापुर जस्तो छैन ? वा, स्वीट्जरल्याण्ड र नेपाल बीच किन यति धेरै भिन्नता छन् ? यी प्रश्न कुनै सामान्य मानिसलाई सोध्यो भने सहज रूपमा जवाफ आउन सक्छ, ‘नेपाल गरीब देश भएर ।’

 

नेपाल गरीब भएर यस्तो भएको हो वा अरू नै केही भएर चाहिँ नेपाल गरीब भएको हो ? अर्थात, गरीबी कारण हो कि परिणाम ?

 

मेरो विचारमा चाहिँ गरीबी कारण नभएर परिणाम हो । यो एउटा बृहत् अर्थ-राजनीतिक र सामाजिक अवधारणा हो । यसका पछाडि गहिरा सामाजिक, राजनीतिक र आर्थिक कारणहरू विद्यमान हुन्छन् । जटिल संरचानगत कारणहरू हुन्छन् ।

 

पञ्चायतकालमा विकासको मूल फुटाउने र देशलाई एशियाली मापदण्डमा पुर्याउने नेतृत्वले बताएका थिए । बहुदलकालमा पनि नेपालाई सिङ्गापुर वा स्वीट्जरल्याण्ड जस्तो बनाउने सपना देखाइयो । अहिले गणतन्त्रकालमा पनि हालका प्रधानमन्त्री खड्गप्रसाद ओलीले पनि ‘सम्बृद्ध नेपाल सुखी नेपाली’ नारा दिइनै रहेका छन् । तर, यी तमाम वर्षहरूमा नेपाल गरीब हुनुको मूल कारणहरूका बारेमा भने गम्भीर छलफल नै भएनन् ।

 

यो अति सामान्य आर्थिक र सामाजिक क्रियाकलापको उपज होइन । अर्थात् नेपाल र नेपालीहरू जुवाको खालमा आफ्ना सम्पक्ति हारेर गरीब भएका होइनन् । काम गर्न अल्छी भएर पनि गरीब भएका होइनन् । ‘भाग्य’ले नै ठगेर गरीब भएका पनि पक्कै होइनन् होला । वा, साधन स्रोतको चरम अभावले गरीब भएका पनि होइनन् । बाढि, पहिरो वा भुईंचालोले मात्र नेपालीहरू गरीब भएका होइनन् ।

 

यस्ता सामान्य प्राकृतिक र सामाजिक प्रक्रियाका दौरान मानिसहरू व्यक्तिगत रूपमा गरीब वा धनी भइरहन्छन् । तर समग्र देश नै किन यति गरीब भयो । २५ प्रतिशत मानिसहरू किन निरपेक्ष गरीबीको रेखामुनि परे ?

 

यस्ता प्रश्नहरूमा गम्भीर छलफल गर्ने र त्यसको निराकरणको लागि नीतिहरू तर्जुमा गर्ने काम राज्यका अंगहरूबाट हुन सकेको छैन । यद्यपि सतही रूपमा नेपाललाई धनी बनाउने गफ भने आधुनिक नेपालका शासकहरूले दिँदै आएको दशकौं बितिसक्यो ।

 

पञ्चायतकालमा पनि नेपालमा विकासको मूल फुटाउने र देशलाई एशियाली मापदण्डमा पुर्याउने त्यतिबेलाको नेतृत्वले बताएका थिए । त्यसपछि बहुदलकालमा पनि नेपाललाई सिङ्गापुर वा स्वीट्जरल्याण्ड जस्तो बनाउने भएर धेरै चर्चा गरियो । अहिले आएर गणतन्त्रकालमा पनि हालका प्रधानमन्त्री खड्गप्रसाद ओलीले पनि ‘सम्बृद्ध नेपाल सुखी नेपाली’ नारा दिइनै रहेका छन् । तर, यी तमाम वर्षहरूमा नेपाल गरीब हुनुको मूल कारणहरूका बारेमा गम्भीर छलफल भएनन् । गरीबी हटाएर समग्र नेपालीहरूलाई सम्बृद्ध बनाउने हेतु स्वरुप भएका तमाम राजनीतिक र सामाजिक आन्दोलनहरू पश्चात् प्रतिक्रान्तिहरू भए र त्यस्ता आन्दोलनका मूल उद्देश्यहरूलाई पनि कालान्तरमा धुलिसात पार्ने कामहरू भए ।

 

म आफैं पनि बेलामौका नेपाल किन यस्ता गरीब भएको होला ? यहाँका मानिसहरूमा किन यस्तो दरिद्रता छाएको होला ? भनेर घोत्लिने गर्छु । प्रश्नहरू जटिल छन् । एकैछिन मथिङ्गल खेलाएर यस्ता जटिल प्रश्नहरूको स्पष्ट जवाफ खोज्न सकिने कुरा भएन ।

 

यसैबीच, यसैसाता राजधानीमा निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग परिसंघ (सीएनआइ) ले आयोजना गरेको कार्यक्रममा सहभागी भएँ । कार्यक्रमको उद्देश्य मुलुकलाई सम्बृद्ध बनाउनका लागि एक अभियानको शुरूवात गर्ने थियो । अभियानको नाम थियो, ‘मेक इन नेपाल ः स्वदेशी’ । उक्त कार्यक्रमले यस अभियान मार्फत स्वदेशमै उत्पादन भएका वस्तुहरूको उपभोग बढाउने, औद्योगीकरण गर्ने, आर्थिक विकास गर्ने र देशलाई सम्बृद्ध तुल्याउने थियो । परिसंघका पदाधिकारीहरूले उक्त अभियान शुरू भएको दिनलाई देशलाई सम्बृद्धिको बाटोमा हिँडाउने एतिहासिक दिनको रूपमा व्याख्या गरेका थिए । कार्यक्रममा प्रमुख अथिति प्रधानमन्त्री खड्ग प्रसाद ओली थिए ।

 

त्यो कार्यक्रममा सहभागी हुँदै गर्दा र त्यहाँका गतिविधि नियाल्दै गर्दा नेपाल गरीब हुनुका महत्वपूर्ण कारणहरू एकाएक आँखै अगाडि नाच्दै गरेको जस्तो देखियो । मथिङ्गल खियाउनै परेन । गम्भीर अध्ययन पनि गर्नै परेन । अझ सोझै भन्दा त्यहाँका गतिविधिहरू मूलुकलाई गरीब बनाउने तमाम कारणहरूलाई प्रशय दिने खालको पो देखियो ! कत्रो ठूलो विरोधाभास । कार्यक्रमको मूल उद्देश्य र त्यहाँ देखिएका विरोधाभासहरूको केही सिलसिला यहाँ उल्लेख गरिएको छ ।

 

तथ्यहरू प्रतिको उदासीनता

 

सीएनआइका प्रमुख आर्थिक सल्लाहकार रहेछन् अर्थशास्त्री विश्व पौडेल । पौडेलले कार्यक्रममा प्रस्तुति दिन भनेर १२–१५ वटा ‘पावरप्वाइन्ट स्लाइड’हरू बनाएर ल्याएका थिए । त्यहाँ नेपालले चीन, बंगलादेश वा कम्बोडिया जस्तो लामोसमयसम्म दिगो रूपमा आर्थिक वृद्धि हासिल गर्न नसकेको र त्यो नसक्नुका केही सामान्य कारणहरू उनले उल्लेख गरेका थिए । नेपालमा औद्योगिक विकास नहुनुका केही संरचानगत कारणहरू पनि उनको प्रस्तुतिमा परेको थियो ।

 

उनले प्रस्तुति गर्दै गर्दा प्रधानमन्त्रीले परिसंघका एक पदाधिकारीसँग खासखुस गरे । त्यसपछि ती पदाधिकारीले एउटा सानो कागजको चिर्कटोमा केही लेखे र बोल्दै गरेका पौडेललाई थमाए । त्यसपछि पौडेलले आफ्नो प्रस्तुतिलाई छोट्याए । स्लाइडहरू छिटोछिटो बढाए ।

चिर्कटोमा के लेखिएको थियो थाहा भएन । तर, प्रधानमन्त्रीले प्रस्तुति छिटो सक्न निर्देशन दिए होलान् जस्तो लाग्यो । त्यहाँ प्रस्तुत गरिएको तथ्यहरू प्रति प्रधानमन्त्रीलाई रुची थिएन होला । अथवा उनलाई यी सबै तथ्यहरू पहिल्यै थाहा थियो कि ! पहिल्यै थाहा भएका कुराहरू फेरि किन सुनिरहनु ?

 

समग्रमाभन्दा नेपालको सामाजिक संरचनामा जात, लिङ्ग, भूगोल, वर्ण, धर्म, भाषा इत्यादिका आधारमा चरम विभेद र उत्पिडन व्याप्त छ । राज्यले अधिकांश नेपालीहरूलाई विविध ढंगले विभेद गर्ने गरेको छ । ९० प्रतिशत जनतालाई सामान्य सम्मान र अवसर समेत नदिइ कसरी प्राप्त गर्ने समृद्धि ? १० प्रतिशत नेपाली धनी भएर समग्र नेपाल पक्कै पनि धनी हुँदैन ।

 

तर, आफूले बोल्ने पालो आएपछि भने प्रधानमन्त्रीले लामो बोले । आफ्नो सदावहार शैलीमा धेरै कुराहरू सिकाए । अर्ति–उपदेश दिए । नेतृत्वको तथ्य र तर्क प्रति उदासीन हुने तर लामोलामो अर्थहीन भाषण गर्ने पारा देश र जनता गरीब हुनुको एउटा महत्वपूर्ण कारण होला कि नहोला ?

 

लोकतन्त्रको अभाव

 

नेपालमा लोकतन्त्रलाई औपचारिक रूपमा निर्विकल्प व्यवस्थाको रूपमा स्वीकार गरिसकिएको अवस्था हो । लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र मात्र हो भन्ने भाष्य पनि स्थापित भइसकेको छ । यसका लागि विगत ७० वर्षयता विभिन्न प्रकारका र साना–ठूला आन्दोलनहरू भएका पनि छन् ।

 

तर, दुःखको कुरा के छ भने लोकतन्त्र सामान्य जिवनमा प्रतिविम्वित हुन अझै सकेको छैन । यसका केही उदाहरणहरू यहाँ चर्चामा रहेको कार्यक्रममा पनि देखियो ।

 

प्रधानमन्त्री र मञ्चमा बसेका अन्य मानिसहरूको कुर्सीका बीचमा भिन्नता, मञ्चमा प्रधानमन्त्री आसिन हुँदा अन्य मानिसहरू सामान्य कुर्सीमा पुठ्ठो टेकाएर र घुँडा जुधाएर बसेको दृश्य, प्रधानमन्त्री थोरै हाँस्दा उनीभन्दा तीन गुणा धेरै मुख च्यातेर हाँसेका दृश्यहरू आदिका धेरै सांकेतिक महत्व छन् । लोकतन्त्र संस्थागत भएका समाजमा सरकार प्रमुख प्रति उनको पदीय गरिमा र मर्यादालाई ख्याल राख्दै सामान्य सम्मान गरिए पनि यस्ता खाले गतिविधिहरू देखिँदैनन् । हेर्दा सामान्य जस्ता लागे पनि यस्ता गतिविधिका धेरै सांकेतिक महत्वहरू छन् । राजधानीको पाँच तारे होटलमै यस्ता दृश्यहरू देखिन्छन् भने सामान्य नेपालीजनको लोकतान्त्रिक चेतनास्तर कस्तो होला अनुमान गर्न सकिने नै कुरा हो । संविधानमा लेखेर मात्र त हुँदैन ।

 

योभन्दा अर्को महत्वपूर्ण कुरा के छ भने लोकतन्त्रमा चाकरी हुँदैन, प्रशंसा मात्र हुन्छ । तर त्यो कार्यक्रम नै मूल रूपमा प्रधानमन्त्रीको चाकरी गर्नका लागि रचिएको जस्तो देखिन्थ्यो । त्यस कार्यक्रमले ओलीको ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारालाई दर्शन वा मार्गनिर्देशक सिद्धान्तको रूपमा लिएको थियो र त्यस ‘महान् दार्शनिक मार्ग’मा थोरै सहयोग पुर्याउन कार्यनीतिक रूपमा सहयोग पुर्याउन ‘मेक इन नेपाल: स्वदेशी’ अभियानको शुरूआत गरिएको भान ओलीलाई पार्न समग्र कार्यक्रम र सीएनआइका पदाधिकारीहरूले धेरै मिहिनेत गरेका थिए । ‘समृद्ध नेपाल सुखी नेपाली’ एउटा ओठे नारा बाहेक केही पनि होइन भनेर ओलीभक्त बाहेक अरूले नबुझ्ने कुरै छैन । अनी ओलीको गैंडा मोह बुझेरै होला अभियानको लोगो पनि गैंडा कै रहेछ !

 

समाजमा लोकतन्त्र संस्थागत नहुनु देश गरीब हुनुको एउटा प्रमुख कारण हो कि होइन ?

 

नेतृत्वको हावादारी गफ

 

नेपाली नेतृत्वका हावादारी गफहरूको बारेमा धेरै चर्चा गरिरहनै पर्दैन । यसमा ओली अन्यभन्दा अझ धेरै अगाडि छन् । उक्त कार्यक्रममा पनि उनले धेरै अर्थहीन कुराहरू गरे ।

 

इनर्जी ड्रिङ्कलाई धमिलो पानी भने । त्यो धमिलो पानी आयात नगर्न र नेपालमै बनाउन व्यवसायीहरूलाई अर्ति दिए । कोकलाई ट्वाइलेट सफा गर्ने भनेर घुमाएर भने । जनतालाई लामो चामल नखाइ नेपालकै छोटो चामल खान उपदेश दिए । अरू पधि धेरै कुराहरू गरे । उपस्थित मानिसहरूले ताली बजाए । विश्व पौडेलको प्रस्तुति सुन्न उति धैर्यता नदेखाएका ओली आफैंंले भने एक घण्टा जति बोले होलान् ।

 

अगाडि उभिएका मानिसहरू र सामान्य जनतालाई मूर्ख ठान्दै, उनीहरूको चेतनालाई गिज्याउँदै, तथ्य र तर्कहरू प्रति उदासीन हुँदै र गमक्क परेर अर्थहीन गफ जोत्ने नेतृत्वको प्रवृति नेपालको गरीबीको एउटा कारण होइन होला त ?

 

गम्भीर संरचनागत समस्याप्रतिको उदासीनता

 

कार्यक्रममा गायक योगेश्वर अमात्य र बैंकर अनिल शाहका छोटा भिडियो क्लिपहरू पनि सार्वजनिक गरिएको थियो । उक्त भिडियोमा यी दुईजनाले नेपालीहरूलाई देश र देशको माटोलाई माया गर्न, स्वदेशी सामानहरूको प्रयोग गर्न र देशलाई आफ्नो तर्फबाट सकेजति दिन र देशले आफूलाई धेरै दिएको हुनाले थप के दियो भनेर प्रश्न नगर्न सन्देश दिएका छन् ।

 

अमात्य यो देशका गनेचुनेका ह्वीस्की ‘खान जान्ने’ मानिसहरू मध्ये पर्छन् क्यारे । उनी स्कटिस ह्वीस्कीका पारखी हुन् रे । शाहको त झन् कुरै भएन । उनका चस्मा, सुट, गाडी, घडी इत्यादिको बारेमा ब्राण्ड ‘कन्सिएस’ मानिसहरू खुब चर्चा गर्छन् रे । उनी ‘अर्बन किड्स’हरूका ‘रोल मोडल’ हुन् । यस्ता मानिसहरूलाई स्वदेशी सामानहरूको प्रर्बद्धन गर्ने सन्देश दिन लगाउनु हास्यास्पद लाग्छ ।

 

तर, यो भन्दा धेरै गम्भीर कुरा त्यो सन्देशमा अर्कै छ । यी दुई मानिसहरू देशले सबै नेपालीहरूलाइ धेरै दिएको हुँदा सबैले देशलाई दिनु पर्ने र देशसँग माग्न नहुने सन्देश दिन्छन् ।

 

यो नेपालको असमान सामाजिक संरचनालाई झेली कुरा गरेर ढाक्ने दुष्प्रयास हो । खासमा कुरा के हो भने यो देशले आफ्नो ९० प्रतिशत भन्दा बढी जनतालाई केही पनि दिएको छैन । राजनीतिक अधिकार दिएको छैन, आर्थिक अवसरको दिएको छैन, सामाजिक न्यायको कुरै भएन र नागरिकको रूपमा सबैलाई समान ढंगले सम्मान पनि दिएको छैन ।

 

यी केही पनि नपाएका मानिसहरूले राज्यबाट यस्ता कुराहरूको अपेक्षा राखेर शान्तिपूर्ण ढंगले मागेका पनि छन् । हिंसात्मक आन्दोलन गरेका पनि छन् । तर आन्दोलन पश्चात् तारन्तार प्रतिक्रान्ति भएका हुनाले त्यस्ता समस्याहरू अझै समाधान भएका छैनन् । यस्ता समस्याहरूको बारेमा चर्चा गर्न चाहने मानिसहरूलाई राष्ट्र विरोधी वा डलरवादी भन्ने चलन छ नेपालमा । तर, करिब १० प्रतिशत मानिसहरूलाई भने नेपालले खुब दिएको छ । उनीहरूले अत्याधिक संरचनागत लाभांश पाएका छन् । शाह र अमात्यले सबै खाले संरचनागत लाभांश पाएका छन् ।

 

अमात्यको रजगज उनले कन्दै गीत गाएका कारण भएको होइन । उनका बाबु बाजेले दरबारमार्गमा जग्गा जोडेका कारण भएको हो । मासिक करोडौं भाडा उठाएर खाएपछि जति कनेर गीत गाए पनि भैहाल्यो । देशले सबैलाई सबै दिएको छ भनेर भने भैहाल्यो । उनले भूगोलको कारणले जस्तो खाले संरचनागत लाभांश पाए हिमाली र पहाडी जिल्लाका केही ठाउँ (सदरमुकाम र बजार क्षेत्र) बाहेक प्रतिरोपनी १ हजार रुपैयाँमा पनि नबिक्ने जग्गा भएको मानिसले पाएको छैन ।

 

शाह त झन् बाबुसाहेब । धेरै कुरा गर्नै परेन । उनको रवाफ उनको औसत बैंकिङ क्षमताले दिएको होइन । उनले पाएका अन्य संरचनागत लाभांशहरूको उपज हुन्, जुन नेपालका ९० प्रतिशत मानिसहरूलाई प्राप्त छैन ।

 

समग्रमाभन्दा नेपालको सामाजिक संरचनामा जात, लिङ्ग, भूगोल, वर्ण, धर्म, भाषा इत्यादिका आधारमा चरम विभेद र उत्पिडन व्याप्त छ । राज्यले अधिकांश नेपालीहरूलाई माथि उल्लेखित विविध ढंगले विभेद गर्ने गरेको छ ।

 

यसरी टड्कारै देखिने उत्पिडन र विभेदलाई कार्पेट मुनि छोपेर माथि उल्लेखित सबै क्षेत्रमा संरचनागत लाभांश पाएका दुईजना मानिसहरूलाई बोलाएर देशलाई दिउँ, केही नमागौं अनि देश समृद्ध हुन्छ भनेर भन्दिने ? ९० प्रतिशत जनतालाई सामान्य सम्मान र अवसर समेत नदिइ कसरी प्राप्त गर्ने समृद्धि ? १० प्रतिशत नेपाली धनी भएर समग्र नेपाल पक्कै पनि धनी हुँदैन ।

 

अन्त्यमा, कार्यक्रम स्वदेशी सामानहरूको प्रबद्र्धन गर्दै देशलाई समृद्धिको बाटोतर्फ लैजाने चालिएको ऐतिहासिक कार्यक्रमको रूपमा व्याख्या गरिए पनि त्यहाँ सामान्य लोकतान्त्रिक चरित्र देखिएन, तथ्यहरू प्रति उदासीन भइयो, नेतृत्वले हावादारी गफ जोते र देशका अत्यन्तै गम्भीर संरचनागत समस्याहरू ढाकछोप गर्दै भिडियो मार्फत हास्यास्पद सन्देशहरू दिइयो । नेपाल गरीब हुनुका तमाम कारणहरू त्यहीँ उत्घाटित भए र तिनले प्रशय पनि पाए ।