काठमाडौं । कोरोनाका कारण थला परेको चिया व्यवसाय क्रमशः फस्टाउँदै गएको छ । लकडाउनको बेला उत्पादन र निर्यात दुवै ठप्प जस्तै भएको थियो । तर, पछिल्लो समय कोरोनाको असर कम हुँदै गएसँगै चियाको व्यापार र उत्पादन दुवै बढ्दै गएको हो ।
लकडाउनको समय (गत चैत–असार)मा चिया उत्पादन २० प्रतिशतले उत्पादन घटेको थियो । ठिक्क चियाको पहिलो पात टिप्ने समयमै लकडाउन हुँदा यस व्यवसायमा ठूलो असर पर्न गएको थियो । १५/२० दिन पछि मन्त्रालयसँगको समन्वयनमा फेरि सञ्चालनमा ल्याइएको थियो ।
चालू आर्थिक वर्षको ७ महिनामा कुल २ अर्ब ९३ करोड ५ लाख रुपैयाँ बराबरको चिया निर्यात भएको छ । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष १ अर्ब २० करोड रुपैयाँ बढीको चिया निर्यात भएको हो ।
पछिल्लो समय निर्यातले गति पाउँदै गर्दा चिया व्यवसायले फेरि बाटो समाउन थालेको चिया तथा कफी विकास बोर्डका प्रवक्ता दीपक खनालले बताए ।
उनले कोभिडका कारण चिया उत्पादक किसानका साथै व्यवसायमा पनि केही सकारात्मक असर पनि पर्न गएको बताए । कोभिडका करण भएका स्टकहरू विक्री हुन सफल भएको छ भने किसानहरूले पहिले पाउने भन्दा बढी मूल्यमा चिया विक्री गर्न पाएका छन् ।
चालू आर्थिक वर्ष २०७७/७८ को ७ महिना (साउन-माघ) मा कुल २ अर्ब ९३ करोड ५ लाख रुपैयाँ बराबरको चिया निर्यात भएको छ । यस अवधिमा ९२ लाख ८० हजार केजी चिया निर्यात भएको हो ।
यस वर्ष ७ महिनाकै अवधिमा गत वर्षको भन्दा करिब १ अर्ब बढीको चिया निर्यात भएको हो । गत वर्ष माघ महिनासम्ममा कुल १ अर्ब ७९ करोड २० लाख रुपैयाँ बराबरको चिया निर्यात भएको थियो । सो अवधिमा उक्त रकम बराबर ७४ लाख ६ हजार केनी चिया निर्यात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
प्रवक्ता खनालले विगतमा कोभिड समयमा कार्गो बन्द रहेकाले स्टकमा रहेका चिया धमाधम निर्यात हुन थालेपछि निर्यातको संख्या बढेको बताए ।
चालू आवमा ११ करोड ७० लाख ३२ हजार रुपैयाँको चिया आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । सो मूल्यमा २ लाख ६२ हजार केजी चिया आयात भएको हो । गत वर्ष सोही अवधिमा ६ करोड ६२ हजार रुपैयाँ बराबरको १ लाख ९५ हजार केजी चिया आयात भएको थियो ।
चियाको मूल्य ३ गुणासम्म वृद्धि
उनले किसानहरूले विगतको मूल्यमा भन्दा ३ गुणा बढीमा चिया उद्योगीलाई विक्री गरेको बताए । सबै क्षेत्रमा चियाको मूल्य वृद्धि भएको छ भने यसले किसानलाई राहत पुगेको छ । यसँगै व्यवसायीहरूले समेत चियाको मूल्य वृद्धि गरेका छन् ।
किसानले विगतमा २० देखि २५ रुपैयाँ प्रतिकेजी चिया विक्री गर्ने गरेका थिए भने यो पटक ५० रुपैयाँदेखि ६० रुपैयाँसम्ममा विक्री गरेका हुन् । चिया व्यवसायीहरुले ५०० देखि ७०० रुपैयाँ प्रतिकेजी पर्ने चिया १३०० रुपैयाँ प्रतिकेजीसम्म विक्री गरेको प्रवक्ता खनालले बताए ।
‘लकडाउनले १५/२० दिन किसानलाई चिया टिप्न जाने नजाने अन्योलमा परेको थियो, त्यसपछि मन्त्रालयसँग स्वीकृति लिएर हामीले चिया टिप्ने, प्रशोधन गर्ने काम शुरु गरेका थियौँ,’ प्रवक्ता खनालले चाणक्य पोष्टसँग भने ‘कोभिडले चियामा सामान्य असर पारे पनि किसानलाई फाइदा पुगेको छ, चियाको मूल्य वृद्धि भएको छ ।’
तेस्रो मुलुक निर्यातमा झै असहज
चिया व्यवसायी संघका अध्यक्ष उदय चापागाईंका अनुसार भारततर्फ चिया निर्यात भए पनि तेस्रो मुलुक लगायतका राष्ट्रमा निर्यात सहज हुन सकेको छैन । सो विषयमा वाणिज्य मन्त्रालयसँग बारम्बार छलफल भइरहेको उनले बताए ।
उनले नेपालमा झापामा २ करोड २० लाख केजी चिया उत्पादन हुने बताए । सो मध्ये ५० प्रतिशत निर्यात हुने गर्छ । पहाडी क्षेत्रमा उत्पादन हुने ६० लाख चिया मध्ये १० प्रतिशत नेपालमै खपत हुन्छ भने अन्य सबै भारत तथा यूरोपेली राष्ट्रमा जाने गरेको उनले बताए । झापाका चिया धेरै भारतमा निर्यात हुने गरेको छ । भारतको निर्यात हाल सहज भएको उनले बताए ।
पहाडी क्षेत्रको चिया भने निर्यातमा सहज नभए पनि केही खुकुला भएका देशमा पठाइरहेको उनले बताए । उनले अन्य तेस्रो मुलुमा चिया निर्यात गर्न सरकारबाट पहल गर्ने तयारी भइरहेको बताए । कोभिडका कारण नेपालमा आएर चिया बगान हेरेर किन्न आउने विदेशी खरिदकर्तामा कमी आएको उनले बताए ।
‘पहिला भएको स्टक यतिनै भन्ने थाहा हुन्न तर, अहिले सबै क्लियर भइसक्यो, नयाँ उत्पादनका यूरोप जानेमा कमी आएको नत्र निर्यातको काम राकिएको छैन,’ चापागाईले चाणक्य पोष्टसँग भने ‘मूल्यमा वृद्धि भने पनि त्यो क्वान्टिटी कम भएपछि बढ्नु कुनै ठूलो हैन घट्नु सरह हो ।’
नेपाल व्यावसायिक चिया खेती सर्वेक्षण २०७५ ले वार्षिक २ करोड २२ लाख ४० हजार किलो चिया उत्पादन भएको देखाएको हो । चिया खेती गर्ने कृषक/व्यवसायीमध्ये ८२.३ प्रतिशतले १ हेक्टर भन्दा कममा चिया खेती गरेको सर्वेक्षणले देखाएको छ ।
एक हेक्टरभन्दा कम हेक्टरका खेती गर्ने साना किसान र एक हेक्टरभन्दा बढी हेक्टरमा खेती गर्नेलाई व्यावसायिक कृषकको रुपमा परिभाषित छ । सर्वेक्षण अनुसार कृषक तथा व्यवासायीले १२ लाख ६६ हजार हेक्टरमा चिया खेती गरिएको पाइएको छ ।
मुलुकभरका ७७ जिल्लामध्ये १४ जिल्लामा चियाको व्यावसायिक खेती हुने गरेको छ । देशभर उत्पादन गरेको चियामध्ये सीटीसी चिया ५५ प्रतिशत निर्यात हुने गरको छ भने ९० प्रतिशत प्रांगारिक चिया बाहिरै जान्छन् ।