गोल्छा समूहको ९० करोड लगानीमा पर्सामा फलाम उद्योग स्थापना, २ महिनाभित्र संचालनमा आउने

काठमाडौं । पर्सा जिल्लामा करिब ९० करोड रुपैयाँको लागतमा फलामजन्य (आइरन) उद्योग स्थापना भई सञ्चालनको प्रक्रियामा रहेको छ । उद्योग निर्माणको अन्तिम चरणमा छ । मेसिनको सेटिङ र फिनिसिङको काम अन्तिम चरणमा रहेको बताइएको छ । अब १० प्रतिशत काम मात्र बाँकी रहेको छ ।

 

गोल्छा समूहद्वारा स्थापना गरिएको हुलास आइरन इण्डष्ट्रिज प्रालि नामक सो उद्योग आउँदो वैशाख महिनाबाट सञ्चालनमा आउने भएको उद्योगका पदाधिकारीले जनाएका छन् ।

 

पर्साको वीरगञ्ज–पोखरिया सडक खण्डअन्तर्गतको विन्दवासिनी गाउँपालिकामा सो उद्योग स्थापना गरिएको हो । गोल्छा समूहका शरद गोल्छाको लगानीमा निर्माण भइरहेको सो उद्योगबाट वार्षिक ८० हजार टन फलामजन्य सामग्री उत्पादन हुने लक्ष्य राखिएको छ ।

 

उद्योग सञ्चालनपश्चात् त्यस उद्योगबाट पाइप, जस्तापाता, वायर र बोल्डर (तारजालीको) र एङ्गल उत्पादन हुने बताइएको छ । अठार बिघा जमिन क्षेत्रफलमा निर्माण भइरहेको सो उद्योग तीन वर्ष अगाडिदेखि निर्माण भइरहेको हो ।

 

गत वर्ष नै निर्माणसम्पन्न गरी सञ्चालन गर्ने योजना रहे पनि कोरोना महामारीका कारण उद्योग निर्माण सम्पन्न गर्नमा ढिलाइ भएको थियो । निर्माण ढिलाइका कारण उद्योग निर्माणको लागत पनि बढ्ने अनुमान रहेको व्यवस्थापन पक्षका पदाधिकारीले बताएका छन् ।

 

उद्योग सञ्चालनका लागि निर्माणकार्य छिटो सम्पन्न गराउनका लागि दैनिक ४०/५० कामदार तथा प्राविधिकले काम गरिरहेका छन् । आधुनिक प्रविधिको प्रयोगबाट त्यस उद्योगबाट फलामजन्य सामग्री उत्पादन हुनेछ ।

 

वीरगञ्ज–पोखरिया क्षेत्रमा सञ्चालित उद्योगमध्ये सबैभन्दा ठूलो लगानीको उद्योग रहेको र यसको सञ्चालनबाट उद्योगले करिब एक हजार व्यक्तिलाई रोजगारी दिने बताइएको छ । विन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह (मोदी)ले उद्योग स्थापानाबाट अत्यन्त खुशी रहेको बताउँदै आर्थिक समृद्धि र रोजगारीका लागि उद्योग आवश्यक रहेको छ भने । उद्योग सञ्चालनमा सबै पक्षले सहयोग पुर्याउनुपर्ने उनको भनाइ छ ।

 

गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जका प्रमुख शशिभूषणकुमार यादवले बारा र पर्सा जिल्लामा ठूला तथा साना उद्योग थपिँदै गएको उल्लेख गर्दै उद्योगले गुणस्तरीय सामग्री उत्पादन गर्नुपर्नेमा जोड दिए। अहिले नेपालमा फलामजन्य तथा सिमेन्ट उद्योग व्यापकरूपमा खुल्दै गएका छन् ।

शिखर इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Previous

शिखर इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

बर्दिवासमा भूमाफियाको जगजगी, खोलाको बगरदेखि वनसम्म कब्जामा Read Next

बर्दिवासमा भूमाफियाको जगजगी, खोलाको बगरदेखि वनसम्म कब्जामा