४१ वर्षपछि नेपालको आर्थिक वृद्धिदर ऋणात्मक, जीडीपीको आकार भने बढ्यो

काठमाडौं । २०७२ सालको भूकम्पलेभन्दा कोरोनाका कारण अर्थतन्त्रको ठूलो क्षति पुगेको तथ्यांकले देखाएको छ ।

 

केन्द्रीय तथ्यांक विभागका अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर १.९९ प्रतिशत ऋणात्मक भएको छ ।

 

नेपालमा आर्थिक वृद्धिदर ४१ वर्षपछि ऋणात्मक भएको हो। यसअघि सन् १९७९/८० मा १.३ प्रतिशतले ऋणात्मक भएको थियो।

 

कोरोनाका कारण करिब ३ महिना देशको समग्र अर्थतन्त्र ठप्प जस्तै हुँदा समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्दा आर्थिक वृद्धिदरमा असर परेको हो । जबकी भूकम्प गएको आर्थिक वर्ष २०७२/७३ मा आर्थिक वृद्धिदर शून्य प्रतिशत थियो ।

 

गत वर्ष ऋणात्मक भएको आर्थिक वृद्धिदर चालू आवको पहिलो त्रैमासमा पनि ऋणात्मक देखिएको छ । विभागका अनुसार यस वर्षको पहिलो त्रैमासमा देशको अर्थतन्त्र ४.६ प्रतिशत ऋणात्मक भएको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा भाषणमा २.२७ प्रतिशत आर्थिक वृद्धिदर हुने अनुमान गरेको थियो ।

 

जीडीपी मापनको आधार वर्ष परिवर्तन

 

केन्द्रीय तथ्यांक विभागले देशको कुल ग्राहस्थ उत्पादन (जीडीपी) मापनको आधार वर्ष परिवर्तन गर्ने भएको छ । विभागले हालसम्म आर्थिक वर्ष सन् २०००/२००१ को मूल्यमा जीडीपीको मापन गर्दै आएकोमा त्यसलाई परिवर्तन गर्दै २०१०/२०११ लाई नयाँ आधार वर्ष निर्धारण गरेको छ।

 

२० वर्ष पुरानो मूल्य आधारबाट अहिलेको वास्तविक अर्थतन्त्रको मापन कठिन भएको र अर्थतन्त्रमा नयाँ क्षेत्र उदाउँदै आएकाले अहिलेको परिवेशमा सान्दर्भिक नहुने भन्दै विभागले नयाँ आधार वर्ष परिवर्तन गरेको हो।

 

जीडीपीको आकार पौने २ खर्ब बढ्यो

 

आधार वर्ष फेरिएसँगै नेपालको कुल जीडीपीको आकार १ खर्ब ७६ अर्ब रुपैयाँले बढेको छ ।

 

विभागका अनुसार पुरानो आधार वर्षका आधारमा नेपालको अर्थतन्त्रको आकार ३७ खर्ब ६७ अर्ब रहेको थियो भने नयाँ आधार वर्ष अनुसार अर्थतन्त्रको आकार बढेर ३९ खर्ब ४३ अर्बको पुगेको छ ।

 

नयाँ आधार वर्षअनुसार नेपालीको प्रतिव्यक्ति आय ११३४ डलर पुगेको विभागले जनाएको छ ।

जुम्लाको मार्सी चामल विश्व बजारमा, जापान र क्यानडा निर्यात हुँदै Read Previous

जुम्लाको मार्सी चामल विश्व बजारमा, जापान र क्यानडा निर्यात हुँदै

सेयर बजार उच्च अंकले कमब्याक, यी १० कम्पनीका लगानीकर्ता भए मालामाल Read Next

सेयर बजार उच्च अंकले कमब्याक, यी १० कम्पनीका लगानीकर्ता भए मालामाल