सेयर बजार उच्च अंकले कमब्याक, यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । पछिल्लो दुई सातामा करिब २२५ अंकले घटेको बजार आज उच्च अंकले कमब्याक भएको हो ।

 

पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता कम हुँदै गएपछि ब्याजदर बढ्ने हल्लाले लगानीकर्ताको मनोबल गिरेको थियो । त्यस्तै, राजनीतिक अस्थिरता छाउने आंशकामा पनि लगानीकर्ता निराश हुँदा बजार ओरालो लागेको थियो । तर, केही दिनमै ती हल्ला चिर्दै लगानीकर्ता आशावादी हुँदा बजारले फेरि गति लिएको छ ।

 

सूचकले उच्च अंकको फड्को मारे पनि कारोबार रकम भने ६ अर्ब हाराहारीमै सीमित भएको छ । गतसाता औसतमा दैनिक साढे ८ अर्बको कारोबार हुँदै आएकोमा यससाता घटेर दैनिक ६ अर्ब हाराहारीमा सीमित भएको छ ।

 

यस्तै, प्रफिट बुक गर्नेहरु हाबी हुँदा पनि बजारमा चाप परेको थियो । तर, बजार घटेको मौकामा सेयर उठाएकाहरु फेरि सलबलाउँदा बजारले गति लिन थालेको लगानीकर्ताहरु बताउँछन् ।

आज सेयर बजार मापक सूचक नेप्से ९०.२७ अंकले बढेर २५०६.२८ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०६ कम्पनीको ६ अर्ब ५ करोड ८१ लाख ४ हजार ३१६ रुपैयाँ बराबरको १ करोड ६६ लाख २२ हजार ७६३ कित्ता सेयर किनबेच भएका छन् ।

 

सोमबार कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै ५७१.९४ अंकले बढेको छ ।

 

कारोबारमा आएका २०६ कम्पनीमध्ये १९० कम्पनीको सेयर मूल्य बढेको छ भने १२ कम्पनीको मूल्यमा गिरावट आएको छ । ४ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । यसको सबैभन्दा धेरै ५३ करोड २३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै शिखर शिखर इन्स्योरेन्स २३ करोड र नबिल बैंकको २० करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

 

उच्च अंकले बढेको बजारमा आज आधादर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सूर्योदय लघुवित्त, लिबर्टी इनर्जी र चन्द्रागिरी हिल्सका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

 

यसैगरी, किसान लघुवित्त, इन्फिनिटी लघुवित्त र हिमालयन पावर कम्पनीको सेयर मूल्य पनि करिब १० प्रतिशतले बढेको छ भने श्री इन्भेष्टमेन्ट, नेशनल हाइड्रो, निर्धन उत्थान लघुवित्त र नेरुडे लघुवित्तको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

९० अंकले बढेको बजारमा आज एनएमबी ५० म्युचुअल फण्डका लगानीकर्ताले भने सबैभन्दा धेरै ३.४५ प्रतिशत गुमाएका छन् ।

४१ वर्षपछि नेपालको आर्थिक वृद्धिदर ऋणात्मक, जीडीपीको आकार भने बढ्यो Read Previous

४१ वर्षपछि नेपालको आर्थिक वृद्धिदर ऋणात्मक, जीडीपीको आकार भने बढ्यो

अब बुद्ध एयरले जनकपुरबाट सीधै भारतको अयोध्या उडान गर्ने Read Next

अब बुद्ध एयरले जनकपुरबाट सीधै भारतको अयोध्या उडान गर्ने