जुम्लाको मार्सी चामल विश्व बजारमा, जापान र क्यानडा निर्यात हुँदै

जुम्ला । जुम्ली मार्सी चामल र जैविक सिमी लगायत कृषिवस्तुका माग अन्तर्राष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक ६ लाखभन्दा बढीका ती सामग्री जापान निर्यात भएको छ । अर्ग्यानिक्स एण्ड सुपरफुडका सञ्चालक राज शाहीले तीन टन मार्सी र सिमी निर्यात गरेका हुन् ।

 

व्यावसायिकरूपमा कर्णालीका खाद्यान्न अन्तर्राष्ट्रिय बजारमा पुर्याउने लक्ष्यका साथ पहिलोपटक ती सामग्री निर्यात भएको उनले जानकारी दिए। उनले भने, ‘टोकियोमा रहेको पूर्ण ट्रेडिङका सञ्चालक भुवन श्रेष्ठको समन्वयमा एक टन मार्सी चामल, मासको दाल, दुई टन सिमी र १० किलो स्याउको चाना निर्यात गरिएको छ ।’

 

कर्णालीका खाद्य पदार्थ व्यावसायिकरूपमा निर्यात भएको यो पहिलोपटक रहेको स्थानीयवासी बताउँछन् । निर्यात भएसँगैजुम्ली मार्सी र सिमीको माध्यमबाट नेपालको नाम अन्तर्राष्ट्रिय बजारमा चिनाउन सफल भएको छ ।

 

क्यानडा निर्यातको अन्तिम तयारी

 

बीस टन जुम्ली मार्सी सिमी क्यानडा पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । पन्ध्र टन मार्सी, चार टन सिमी, हरियो केराउ र कोदो गरेर एक टन क्यानडामा माग भएको सञ्चालक शाहीले बताए। क्यानडास्थित लायम फुड कर्पोरेशनका डा पूर्ण कँडेलका समन्वयमा ती वस्तु निर्यात गर्न लागिएको छ ।

 

ती सामानमा ‘कर्णाली सुपरफुड’ लोगो हुने सुपरफुडले जनाएको छ । अहिले प्याकेजिङ भइरहेको छ । क्यानडा सामान पठाउन भने केही अप्ठ्यारो भएको उनले बताए । ‘जापानको लागि स्ट्याण्डर्ड नचाहिने रहेछ, हामीले यहाँबाट सामान पठाएपछि उनीहरूले नै प्याकिङ गर्छन् र बजार पठाउँछन्,’ उनले भने, ‘क्यानडामा हामीले यहाँबाट नै प्याकिङ गरेर पठाउने भएकाले निकै गाह्रो भइरहेको छ ।’

 

काठमाडौँको नयाँ बानेश्वरमा रहेको ‘जुम्ला घर अर्ग्यानिक्स’मा कर्णालीमा उत्पादित स्याउ, सिमी, लसुन, दाल, ओखर, मार्सी चामल, कोदोको पिठो, जिम्बु, हर्बल टी, चिनो, कागुनो र कालिकोटको टिमुर उपलब्ध रहेको सञ्चालक शाहीले बताए ।रासस

उच्च अदालतको आदेशपछि ककनी-पिपलटार सडक निर्माण अवरुद्ध Read Previous

उच्च अदालतको आदेशपछि ककनी-पिपलटार सडक निर्माण अवरुद्ध

४१ वर्षपछि नेपालको आर्थिक वृद्धिदर ऋणात्मक, जीडीपीको आकार भने बढ्यो Read Next

४१ वर्षपछि नेपालको आर्थिक वृद्धिदर ऋणात्मक, जीडीपीको आकार भने बढ्यो