यसवर्ष रासायनिक मलको अभाव नहुने, बंगलादेशसँग किनेको मल १ हप्ताभित्र आइपुग्ने

काठमाडौं । हरेक वर्ष खेती लगाउने सिजनमा रासायनिक मल अभाव झेलेर आजित भएका कृषकहरुलाई यस वर्ष भने केही राहत मिल्ने भएको छ ।

 

सरकारले बंगलादेशबाट सरकार–सरकारबीच (जीटुजी) प्रक्रियाबाट खरिद गरेर ल्याएको मल अबको एकहप्ता भित्र नेपाल आइपुग्ने भएपछि यस वर्ष गहुँ, चैतेधान लगायतका लागि मल अभाव नहुने भएको हो ।

 

सरकारले बंगलादेशबाट ५० हजार मेट्रिकटन मल ल्याउन लागेको हो । पहिलो चरण अन्तर्गत २२ हजार ५०० मेट्रिकटन मल रेलमा लोड गरेर ल्याउन लागिएको हो ।त्यसपछि अबको १५ दिनमा १० हजार मेट्रिकटन र त्यसको १५ दिनमा १७ हजार ५०० मेट्रिकटन थप मल आयात हुने छन् ।

 

सरकारले बंगलादेशबाट खरिद गर्न लागेको ५० हजार मेट्रिकटन मल मध्ये पहिलो चरणमा ल्याउन लागेको २२ हजार मेट्रिकटन मल भारतको कोलकत्ता आइपुगेको छ । सो मल एकहप्तामै नेपाल आइपुग्ने कृषि सामग्री कम्पनीका प्रवक्ता विष्णु पोखरेलले बताए ।

 

उनका अनुसार बंगलादेशबाट ल्याइएको मल हाल कोलकत्तामा आइपुगेको र नेपालतर्फ ल्याउन मल प्याकिङ भइरहेको छ । उनले सो मल कोलकात्ताबाट ३ देखि ५ दिनमा नेपाल आइपुग्ने बताए ।

 

‘अहिले कोलकत्तामा मल प्याकिङ गर्ने काम भइरहेको छ, शुक्रबारसम्ममा काठमाडौं हिँड्ने छ, त्यहाँबाट हिँडेको छिटोमा ३ दिन ढिलोमा ५ दिनभित्र मल आइपुग्ने छ,’ पोखरेलले चाणक्य पोष्टसँग भने ।

 

पहिलो चरण अन्तर्गत २२ हजार ५ सय मेट्रिकटन मल रेलमा लोड गरेर ल्याउन लागिएको हो । सो पश्चात अबको १५ दिनमा १० हजार मेट्रिकटन र त्यसको १५ दिनमा १७ हजार ५ सय मेट्रिकटन थप मल आयात हुने छन् ।

 

सो मल आयात पछि वेयरहाउसमा राखिने छ । त्यसपछि अन्य सहकारीको माध्यबाट किसानसम्म पुर्राइने उनले बताए । सरकारले बंगलादेशसँग जीटुजीमा खरिद गरेको सो यूरिया मल अबको १ महिनामा सबै आयात भइसक्ने उनको भनाइ छ । बंगलादेशसँग सरकारले ५० हजार मेट्रिकटन युरिया मल खरिद गर्ने प्रक्रिया गत भदौमा शुरु गरेको थियो । नेपालले बङ्गलादेशसँग प्रतिमेट्रिक टन २५९.१९५ अमेरिकी डलरमा मल खरीद गरेको हो ।

 

गत वर्ष धान रोप्ने समय जेठ–असारमा युरिया मलको हाहाकार भएपछि तत्कालीन कृषिमन्त्री घनश्याम भुसालले छोटो प्रक्रियामा मल आयात गर्न बंगलादेश उत्तम विकल्प भएको भन्दै कुराकाननी अगाडि बढाएका थिए । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १६ मा बंगलादेशकी समकक्षी सेख हसिनासँग टेलिफोन संवादमा तत्काल सापटी मल ल्याउन आग्रह गरेका थिए ।

 

बंगलादेशकी प्रधानमन्त्री हसिनाले सो समयमा उक्त प्रस्ताव स्वीकार गरे पनि पछि सापटी नदिने निर्णय गरेको थियो । बंगलादेशले पैँचोमा मल नदिने भएपछि सरकारले यूरिया मल किनेर ल्याउन पुसमा ठेक्का लगाएको थियो ।

 

हाल कम्पनीसँग ९ हजार ४३८ मेट्रिकटन युरिया, ३० हजार ६७१ मेट्रिकटन डीएपी र ६ हजार ६७९ पोटास मौज्दात रहेको र मलको कुनै अभाव नरहेको दाबी कम्पनीको छ ।

अम्बानी र बेजोसले आँखा लगाएको भारतको खुद्रा व्यापारको संरचना बदल्दै स्टार्टअप 'उडान' Read Previous

अम्बानी र बेजोसले आँखा लगाएको भारतको खुद्रा व्यापारको संरचना बदल्दै स्टार्टअप 'उडान'

मलेसियामा कार्यरत नेपाली श्रमिक सामाजिक सुरक्षामा आबद्ध, अब कामदारले यस्ता सुविधा पाउने Read Next

मलेसियामा कार्यरत नेपाली श्रमिक सामाजिक सुरक्षामा आबद्ध, अब कामदारले यस्ता सुविधा पाउने