मिलेमतोमा भारतीय कुखुराको तस्करी बढ्दो, नेपाली व्यवसायी मारमा

काठमाडौं । भारतबाट अवैधरूपमा कुखुरा तस्करी हुने क्रम बढेपछि बाँकेका कुखुरा व्यवसायी चिन्तित भएका छन् ।

 

मुख्य नाका जमुनाहबाट सुरक्षाकर्मीले आयात हुन नदिए पनि भित्री नाकाबाट खुलेआम भारतीय कुखुरा, चल्ला र अण्डा आयात हुने गरेको खजुरा गाउँपालिका–२ सीतापुरका कुखुरा व्यवसायी इन्द्र श्रेष्ठले जानकारी दिए।

 

उनका अनुसार बाँके र बर्दियाका विभिन्न ग्रामीण नाकाबाट नेपाली र भारतीय सुरक्षाकर्मीसँगको मिलेमतोमा तस्करी हुने गरेकाले नेपाली व्यवसायी समस्यामा परेका छन् । ग्रामीण क्षेत्रका नाका प्रयोग गरी दैनिकरूपमा ठूलो मात्रामा भारतीय कुखुरा नेपाल आउन नरोकिएपछि नेपाली कुखुरापालक किसानको व्यवसाय नै धरापमा परेको छ ।

 

भारतमा बेलाबखत फैलिने बर्डफ्लुलगायत पक्षीजन्य रोग नेपाल भित्रिने खतराका कारण नेपाल सरकारले भारतीय कुखुराजन्य पदार्थ आयातमा प्रतिबन्ध लगाएको छ तर भारतमा कुखुराजन्य पदार्थको मूल्य नेपालमा भन्दा सस्तो रहेको हुँदा मुनाफाका लागि भारतीय कुखुरा नेपाल भित्रिने गरेको अर्का व्यवसायी लक्ष्मीबहादुर थापाले बताए ।

 

सबैभन्दा बढी बाँकेको जानकी गाउँपालिका–१ साइगाउँ र खजुरा गाउँपालिका–१ राधापुर क्षेत्रबाट ठूलो परिमाणमा कुखुरा र चल्ला तस्करी हुने गरेको पाइएको छ । यसरी भित्र्याइएका कुुखुरालाई नेपाली उत्पादन भन्दै नेपालगञ्ज, कोहलपुर र विमानमार्फत कर्णाली प्रदेशको जुम्ला, डोल्पालगायतका जिल्लामा समेत पुग्ने गरेको कुखुरा व्यवसायी थापाको भनाइ छ ।

 

कुखुरा व्यवसायी थापाले तस्करी रोक्न सहयोग माग्दा प्रहरी प्रशासनले सकारात्मक प्रतिक्रिया जनाउने गरे पनि व्यवहारमा नियन्त्रणमा सहयोग नपाएको गुनासो गरे। भारतीय कुखुराका कारण महङ्गो दाना र औषधि खुवाएर हुर्काएका कुखुरा सस्तो दरमा बिक्री गर्न आफूहरू बाध्य भएको उनको भनाइ छ ।

 

भारतमा १८० रुपैयाँ प्रतिकेजीमा पाइने कुखुरा नेपालमा २१० प्रतिकेजी थोक मूल्यमा तस्करहरूले पसल–पसलमा पुर्याउने गरेका छन् । २१० रुपैयाँमा खरिद भएको कुखुराको मासु उपभोक्तालाई भने खुद्रा मूल्य ३४० सम्ममा विक्री गर्ने गरिएको छ । मुनाफाका लागि नेपालगञ्जका मासु व्यवसायीले लुकाइछिपाई अवैधरूपमा कुखुरा ल्याउने र विक्री वितरण गर्ने गरेको पाइएको छ ।

 

नेपाल–भारत सीमा क्षेत्र जुमनाहस्थित इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी नायब निरीक्षक विष्णु गिरी मुख्य सीमा नाकाबाट कुखुराजन्य पदार्थ भित्रिन नदिएको बताए । ‘यहाँबाट भारतीय कुखुरा र अण्डा भित्रिन दिएका छैनौँ,’ इन्चार्ज गिरीले भने, ‘खुला नाका भएकाले सुरक्षाकर्मी नभएको भित्री गाउँबाट भित्रिएको हुनसक्छ ।’

कुमारी इक्वीटी फन्डको ८ करोड इकाई विक्री खुला, कहाँबाट भर्ने ? Read Previous

कुमारी इक्वीटी फन्डको ८ करोड इकाई विक्री खुला, कहाँबाट भर्ने ?

अब ट्रायल पास गरेको १ महिनामा लाइसेन्स पाइने Read Next

अब ट्रायल पास गरेको १ महिनामा लाइसेन्स पाइने