मेलम्चीको पानी आइपुग्न कम्तीमा १५ दिन लाग्ने, चार दिनमा ३ किमी पार

काठमाडौं । वहुप्रतिक्षित मेलम्चीको पानी काठमाडौं आइपुग्न कम्तीमा दुईहप्ता बढी लाग्ने भएको छ ।

 

यही फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६.५ किमी लामो सुरुङमा परीक्षणका लागि पानी हालिएको थियो । उक्त पानी सुरुङको अन्तिम बिन्दु सुन्दरीजल आइपुग्न कम्तीमा १५ लाग्ने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

 

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको तिम्बुमा पर्ने सो आयोजनाको मुहानबाट छोडिएको पानी सुन्दरीजल आइपुग्न कम्तीमा १५ दिन लाग्ने प्रारम्भिक अनुमान गरिएको आयोजनाका साइड इञ्जिनीयर ब्रह्मलाल राजभण्डारीले बताए ।

 

उनका अनुसार हाल परीक्षणका लागि २६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । पानी हालेको चार दिन बित्दा ३ किमी सुरुङ पार भएको जनाइएको छ ।

 

यसअघि सुरुङ परीक्षणका लागि पानी भर्ने क्रममा सुरुङको गेट भत्किएर असार ३० गते दुघर्टना भएको थियो । सो दुर्घटनामा आयोजनाका दुई कर्मचारीको ज्यान समेत गएको थियो ।

 

दुर्घटना बारे अध्ययन गर्न गठित समितिले अध्ययनका क्रममा सुरुङ निर्माणका गम्भीर लापारबाही र त्रुटी गरिएको तथ्य बाहिर ल्याएको थियो ।करिब ५ महिना लगाएर फेरि उक्त सुरुङको गेट निर्माण गरेर अहिले पानी परीक्षण गरिएको हो ।

 

परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने छ । पानी आएपछि यहाँ निर्माण भएका साढे ८ करोड लिटरका दुई वटा प्रशोधन केन्द्रमा प्रशोधन गरी वितरणका लागि पठाउने तयारी छ । दुवै केन्द्रको कामसमेत सम्पन्न भइसकेको छ । ती केन्द्रमा वाग्मतीको पानी हालेर सामान्य परीक्षणसमेत गरिएको छ ।

 

सुन्दरीजलस्थित सुरुङको भित्री ढोका बन्द

 

गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित महाँकालको मेलम्ची खानेपानीको परीक्षणका क्रममा सुरुङभित्रको ढोका बन्द गरिएको छ ।

 

मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी आउन सक्ने समस्या बारेमा सजगता अपनाइएको आयोजनाका साइड इञ्जिनीयर ब्रह्मलाल राजभण्डारीले जानकारी दिए । सुरुङमा हालिएको पानी लिकेज भएर क्षति हुन सक्ने भएकाले ढोका बन्द गर्ने र अन्य तयारी भइरहेको छ ।

फागुन २३ देखि ज्योति लाइफको आइपीओ आउँदै, कति कित्तासम्म भर्न पाइन्छ ? Read Previous

फागुन २३ देखि ज्योति लाइफको आइपीओ आउँदै, कति कित्तासम्म भर्न पाइन्छ ?

महिला लघुवित्तको आइपीओ बाँडफाँट, यी ३ ठाउँबाट हेर्नुहोस् नतिजा Read Next

महिला लघुवित्तको आइपीओ बाँडफाँट, यी ३ ठाउँबाट हेर्नुहोस् नतिजा