वैशाखदेखि सञ्चालनमा आउँदै चोभार बन्दरगाह, ७५ प्रतिशत काम पूरा

काठमाडौं । काठमाडौंको चोभारस्थित निर्माणाधीन सुक्खा बन्दरगाह आगामी वैशाखबाट सञ्चालनमा आउने भएको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेको उक्त बन्दरगाह अबको २ महीनाभित्र सञ्चालनमा आउने भएको हो ।

 

निर्माणको जिम्मा पाएको नेपाल इन्टरमोडल यातायात विकास समितिले बन्दरगाह निर्माण अन्तिम चरणमा पुगेको र आगामी २ महिनाभित्रमा त्यसलाई सञ्चालनमा ल्याउने तयारी रहेको जनाएको छ । समितिका अनुसार, बन्दरगाह निर्माणको अन्तिम चरणको काम केही समयअघि नै शुरु भइसकेको छ ।

 

डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७५ माघदेखि बन्दगाह निर्माण शुरु गरिएको थियो । स्थानीयको अवरोध, कोरोना, कामदार अभाव लगायत कारण काममा ढिलाइ भएपछि गत वर्ष पुनः १ वर्ष म्याद थपिएको थियो । सम्झौता अनुसार आगामी वैशाख १३ भित्र काम पूरा गर्नुपर्नेछ ।

 

हालसम्म सुक्खा बन्दरगाह निर्माणको ७५ प्रतिशत मात्र काम सम्पन्न भइसकेको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए । शुरुमा स्थानीयको विरोधका कारण रोकिएको र कोरोनाका कारण बीचमा लामो समय काम बन्द भएकाले काम केही ढिलो भए पनि अब फिनिसिङको मात्र काम बाँकी रहेकाले समयमै काम सकिने उनको दाबी छ ।

 

निर्धारित समयमा नै काम सम्पन्न गरी हस्तान्तरण गरी वैशाख भित्रमा बन्दरगाह सञ्चालनमा ल्याइने उनले बताए । ‘विगतमा बन्दरगाह निर्माणको कामले गति लिन सकेको थिएन, फेरि म्याद थप गरिएको छ, सोही हिसाबले काम गरिरहेका छौं,’ समितिका कार्यकारी निर्देशक गजुरेलले चाणक्या पोष्टसँग भने ‘थपिएको म्याद अनुसार २०७८ वैशाख १३ गतेभित्र यसको निर्माण कार्य सम्पन्न भइसक्नु पर्नेछ ।’

 

मुख्यगरी माटो परीक्षण, आरसीसी ढलान, जग र भवन निर्माणमा बढी समय लाग्ने गर्छ । उक्त सबै काम सकिएको हुँदा अब मात्रै फिनिसिङको काम बाँकी रहेको उनको भनाइ छ । फिनिसिङका लागि धेरै समय नलाग्ने हुँदा तोकिएकै समयमा सञ्चालनमा आउने उनको दाबी छ ।

 

मुख्यगरी कोलकाता र केरुङ नाकाबाट आएका सामानको भन्सार जाँच सीधै काठमाडौंमा गर्न मिल्ने गरी चोभार बन्दरगाह निर्माणको काम अघि बढाएको हो । यसले भन्सार जाँचका लागि लाग्ने समयको बचत हुने साथै लागतपनि घट्ने अनुमान गरिएको छ ।

 

सरकारले चोभार सुख्खा बन्दरगाह निर्माणका लागि २०६९ सालमा नै विश्व बैङ्कसँग २ अर्ब २५ करोड रुपैयाँ सहुलियत ऋणका लागि सम्झौता गरेको थियो । चीन र भारतको रेल ल्याएर पूर्व–पश्चिम रेलमार्गसँग जोड्ने गरी काठमाडौंमा सामान राख्ने दीर्घकालीन योजना सरकारले लिएको छ ।

 

सुक्खा बन्दरगाह निर्माणपश्चात् भारतीय नाकाबाट आउने कन्टेनरलाई  सोझै काठमाडौं ल्याएर भन्सार जाँचपास गर्ने तयारी भन्सार विभागले गरेको छ । निर्माण समितिले ३ महीनामा सुक्खा बन्दरगाहकोे काम सक्ने बताएको बताउँदै विभागले सुक्खा बन्दरगाह सञ्चालनको मोडालिटी निर्माणको काम अघि बढाइसकेको जानकारी दिएको छ ।

 

२०६७ सालमा नै सरकारले चोभारमा सुक्खा बन्दरगाह र अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल बनाउने योजना अघि सारेको थियो । तर विविध समस्या कारण त्यसको निर्माण अघि बढ्न सकेको थिएन । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ माघ ३ गते बन्दरगाह निर्माणको शिलान्यास गरेका थिए । डेढ वर्षभित्र काम सम्पन्न गर्ने दाबी गरिए पनि निर्माण काम सम्पन्न नहुँदा गत वर्ष निर्माणका लागि पुनः १ वर्ष निर्माण अवधि थप गरिएको थियो ।

नेप्सेमा उच्च अंकको गिरावट, के सेयर बजारमा बियरिस ट्रेन्ड शुरु भएकै हो ? Read Previous

नेप्सेमा उच्च अंकको गिरावट, के सेयर बजारमा बियरिस ट्रेन्ड शुरु भएकै हो ?

फागुन २३ देखि ज्योति लाइफको आइपीओ आउँदै, कति कित्तासम्म भर्न पाइन्छ ? Read Next

फागुन २३ देखि ज्योति लाइफको आइपीओ आउँदै, कति कित्तासम्म भर्न पाइन्छ ?