काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बुधबार १२ अंकले बढेको बजार आज करिब ४५ अंकले घटेको हो ।
यससाता सोमबार र मंगलबार गरी दुई दिनमै करिब ५५ अंकले घटेको बजार आज पनि उच्च अंकले घटेको हो । यससाता समग्रमा बजार करिब ८५ अंकले घटेको छ ।
सूचकसँगै कारोबार रकममा पनि ह्वात्तै गिरावट आएको छ । गतसाता औसतमा दैनिक ९ अर्बको कारोबार हुँदै आएकोमा यस साता दैनिक साढे ६ अर्बमा झरेको छ ।
सर्वोच्च अदालतले विघटित संसद पुनःस्थापना गर्ने फैसला गरेसँगै लगानीकर्ता उत्साहित भई बजारले अझै गति लिने अनुमान गरिएको थियो । तर, संस्थागत र ठूला लगानीकर्ता प्रफिटबुक गर्नतिर लाग्दा बजारले गति लिन नसकेको आकलन गरिएको छ ।
बैंकको ब्याजदर र सेयर बजारलाई प्रभाव पार्ने कुनै नीति नियममा कुनै परिवर्तन नभएकाले बजार सामान्य करेक्शनमा गएको जानकारहरु बताउँछन् । पछिल्लो एक महिनायता निरन्तर उकालो लागेको बजार केही समय करेक्शनमा जाने उनीहरुको भनाइ छ ।
यद्यपि, पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता खुम्चिँदै गएको छ । बैंकको ब्याजदर पनि उकालो लाग्ने संकेत गरेको छ । जसले लगानीकर्ता केही प्रफिट बुक गरी पर्ख र हेरको अवस्थामा बसेको अनुमान छ ।
सामान्तय नेपाली सेयर बजारमा ३/४ वर्षको अन्तरालमा बुल र बियरिस ट्रेन्डको चक्र रहँदै आएको छ । अहिले बुलिस ट्रेन्ड शुरु भएको करिब १ वर्षमात्र भएकाले बजार अझै बुलमै रहेको विश्लेषकहरु बताउँछन् । नेप्से ६ महिनामै दोब्बरले बढेकाले अब केही समय करेक्शनमै रहने उनीहरुको भनाइछ ।
आज सेयर बजार मापक सूचक नेप्से ४४.९४ अंकले घटेर२५५४.१३ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०६ कम्पनीको ६ अर्ब ९ करोड ८१ लाख ८८ हजार ४१४ रुपैयाँ बराबरको १ करोड ५८ लाख ५६ हजार १७१ कित्ता सेयर किनबेच भएका छन् ।
बिहीबार कारोबारमा आएका १२ वटा समूहमध्ये सबैसमूहको परिसूचक राताम्मे भएका छन् । जीवन बीमा समूहको परिसूचक सबैभन्दा धेरै २९९.७८ अंकले घटेको छ ।
कारोबारमा आएका २०६ कम्पनीमध्ये जम्मा २१ कम्पनीको सेयर मूल्य बढेको छ भने १७९ कम्पनीको मूल्यमा गिरावट आएको छ । ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । यसको सबैभन्दा धेरै ९० करोड ३५ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा नबिल बैंक र नेशनल हाइड्रोपावरको समान २१/२१ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।
उच्च अंकले घटेको बजारमा आज एउटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । चन्द्रागिरी हिल्सका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।
दोहोरो अंकले घटेको बजारमा सनराइज फर्स्ट म्युचुअल फण्डका सेयरधनीले सबैभन्दा धेरै ६.८४ प्रतिशत गुमाएका छन् ।