काठमाडौं । नेप्सेको अनलाइन प्रणाली (टीएमएस)मा समस्या आएको छ । बजार खुलेको १५ मिनेटसम्म काम गरेको टीएसमए सिस्टमले त्यसपछि काम गर्न छोडेको छ ।
टीएमस प्रयोगकर्ताका अनुसार अहिले टीएमएसमार्फत खरिद विक्रीका लागि अर्डर नै नबस्ने समस्या भएको छ भने केही कम्पनी नेप्सेको सूचीकृत कम्पनीको लिष्टबाटै हटेको छ ।
बजार खुल्नसाथ करिब ३५ अंकले बढेको बजार टीएमएसमा एकैचोटी ८१ अंक ऋणत्मक देखाएको थियो । यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर बैंको सेयर १०० प्रतिशत ऋणत्मक देखाएको छ । नेप्सेको नियम अनुसार कुनै पनि कम्पनीको सेयर मूल्य एक कारोबार दिनमा बढीमा १० प्रतिशतभन्दा घट/बढ हुन नपाउने व्यवस्था छ ।

संसद पुनःस्थापना पछि लगानीकर्ता उत्साहित हुँदा बजारले छलाङ मार्ने अनुमान गरिएको थियो । बजार खुलेको केही बेरमै उच्च अंकले बढेको बजार १५ मिनेटमै ह्वात्तै गिरावट देखाएपछि लगानीकर्ताले सिस्टम नै बिगारेर चलखेल गरेको आशंका गरेका छन् ।
केही स्वार्थ समूहले चलखेल गरी बजार घटाएर सस्तोमा सेयर उठाउन सिस्टममै समस्या देखाइएको हुन सक्ने लगानीकर्ताको आरोप छ ।
यता नेप्सेले प्राविधिक समस्या आएकाले टीएमएसमा समस्या आएको जनाएको छ । उक्त समस्या चाँडै समाधान गरी सिस्टम सुचारु गर्ने प्रयास भइरहेको नेप्सेले जनाएको छ ।