सेयर बजारमा किन आयो लगातार गिरावट ?

काठमाडौं । सेयर बजारमा लगातार दोस्रो दिन गिरावट आएको छ । सोमबार करिब ३३ अंकले घटेको बजारमा आज पनि दोहोरो अंकले घटेको हो ।

 

आइतबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा २६४० विन्दुमा पुगेको बजार पछिल्ला दुई दिनमा लगातार दोहोरो अंकको गिरावट आएको छ । पछिल्ले दुई दिनमा बजार करिब ४० अंकले घटेको छ ।आज बजार खुलेदेखि लगातार ओरोलो लागेको नेप्से ९० अंकसम्म घटेको भए पनि अन्त्यमा २१ अंकले घटेर बन्द भएको हो ।

 

प्रफिट बुक गर्नेहरु हाबी हुँदा बजारमा करेक्शन आएको लगानीकर्ताहरुको अनुमान छ । यस्तै, संसद विघटन बारे सर्वोच्च अदालतले यसै साता फैसला गर्ने सम्भावना छ । बजारमा सर्वोच्चले गर्ने फैसलाबारे विभिन्न हल्ला चल्नाले त्यसको असर सेयर बजारमा परेको हो । अदालतको फैसलापछि संकटकालसम्म लाग्नसक्ने हल्ला चल्दा लगानीकर्तामा मनोवैज्ञानिक दबाब पर्दा बजार ओरालो लाग्न सहयोग पुगेको हो ।

 

बजारमा अनेकहल्ला चले पनि बैंकको ब्याजदर सहित बजारलाई प्रभाव पार्ने अन्य नीति नियममा तत्काल कुनै परिवर्तन हुने सम्भावना नरहेकाले आत्तिहाल्नुपर्ने अवस्था भने नरहेको लगानीकर्ताहरुको भनाइ छ ।

 

सूचकमा ठूलो गिरावट आए पनि कारोबार रकममा भने खासै गिरावट आएको छैन । बजार घटेको बेला सस्तोमा सेयर उठाउनेहरु हाबी हुँदा कारोबार रकम उत्साहजनक नै रहेको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से २१.१६ अंकले घटेर २५८६.५१ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २०५ कम्पनीको ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार ४२६ रुपैयाँ बराबरको २ करोड ७७ लाख १४ हजार ९१२ कित्ता सेयर किनबेच भएका छन् ।

 

मंगलबार कारोबारमा आएका १२ वटा समूहमध्ये अव्यापारसमूह बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएका छन् । उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै ९५.९९ अंकले अंकले घटेको छ ।

 

कारोबारमा आएका २०५ कम्पनीमध्ये जम्मा ५४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३६ कम्पनीको मूल्यमा गिरावट आएको छ । १५ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । यसको सबैभन्दा धेरै ७३ करोड ९४ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा माथिल्लो तामाकोशी ४३ करोड र नबिल बैंक ३७ करोडको कारोबार सहित शीर्ष तीनमा रहे ।

 

घट्दो बजारमा पनि आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेपाल फाइनान्स, अपी पावर, लिबर्टी इनर्जी र हिमालयन पावर कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

 

दोहोरो अंकले घटेको बजारमा आज नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयरमा नेगेटिभ सर्किट लागेको छ । यसअघि लगातार ७ दिन पोजेटिभ सर्किट लागेको बैंकको सेयर मूल्य आज ठ्याक्कै १० प्रतिशतले घटेको छ ।

७ महिनामै साढे ३ लाखले लिए नेप्सेको टीएमएस, कुन ब्रोकरबाट कति ? (सूचीसहित) Read Previous

७ महिनामै साढे ३ लाखले लिए नेप्सेको टीएमएस, कुन ब्रोकरबाट कति ? (सूचीसहित)

माथिल्लो पिलुवा खोला-३ जलविद्युत आयोजनाको लगानी जुट्यो Read Next

माथिल्लो पिलुवा खोला-३ जलविद्युत आयोजनाको लगानी जुट्यो