माथिल्लो पिलुवा खोला-३ जलविद्युत आयोजनाको लगानी जुट्यो
चाणक्य पोष्ट
प्रकाशित : 4:11 pm, मंगलबार, फाल्गुन ११, २०७७

काठमाडौं । ४.९५ मेगावाटका माथिल्लो पिलुवा खोला–३ जलविद्युत आयोजनाको लगानी जुटेको छ । लक्ष्मी बैंकको अगुवाईमा माछापुच्छ्रे बैंकसमेत गरी २ वटा वाणिज्य बैंकहरुले सहवित्तीयरकण अन्तर्गत कर्जा लगानी गर्ने सम्झौता गरेका छन् ।

 

माबिलुङ्ग इनर्जीले संखुवासभाकोे साविकको सिद्धकाली र मावादिन गाविसमा अवस्थित पिलुवा र सिखुवा खोलामा ४.९५ मेगावाटको आयोजना निर्माण गर्नेछ । उक्त आयोजनाको निर्माण लागत ९३ करोड ७० लाख रुपैयाँ रहेको छ ।

 

यी दुई बैंकले आयोजना लागतको ७० प्रतिशत अर्थात् ६५ करोड ५९ लाख र बाँकी ३० प्रतिशत कम्पनीको स्वलगानी रहनेछ । उक्त आयोजनामा लक्ष्मी बैंकले ३९ करोड ९९ लाख र माछापुच्छ्रे बैंकले २५ करोड ६० लाख रुपैयाँ लगानी गर्नेछन् ।

 

माबिलुङ्ग इनर्जी र नेपाल विद्युत प्राधिकरण बीच विद्युत खरिद सम्बन्धी सम्झौता २०७५ चैत्र १२ गते भएको र उक्त आयोजना निर्माणको लागि उर्जा मन्त्रालयबाट २०७७ साउन ९ गतेका दिन विद्युत उत्पादन अनुमति प्राप्त गरेको छ ।

 

माबिलुङ्ग इनर्जीलाई एशियन लाइफ इन्स्योरेन्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एन्ड फाइनान्स लगायत अन्य व्यक्तिहरुले प्रवर्धन गरेका छन् ।

 

उत्पादन क्षमता ४.९५ मेगावाट रहेको माबिलुङ्ग इनर्जीले झण्डै २८.४१७ गेगावाटआवर विद्युत वार्षिक रुपमा उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ । यो आयोजना फेबु्रअरी २०२२ मा संचालनमा आउनेछ ।

 

नेपाल विद्युत प्राधिकरणको आर्थिक वर्ष २०१९/२० को समिक्षा प्रतिवेदन अनुसार सो आर्थिक वर्षमा स्वतन्त्र उर्जा उत्पादकहरुले जम्मा १५ वटा नयाँ आयोजना मार्फत संयुक्त रुपमा १३५.३९ मेगावाट विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । साथै उक्त १५ वटा आयोजनाहरुलाई समेत समावेश गर्दा जम्मा ९८ वटा आयोजनाहरु संचालनमा आएकाछन र तिनीहरुको संयुक्त उत्पादन ६९६.१७ मेगावाट रहेकोछ ।