नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणले गति लिँदै, २ महिनामा १४२ मिटर खनियो

काठमाडौं । नागढुंगा–नौबिसे सुरुङमार्ग निर्माणलाई गति लिएको छ । औपचारिक रुपमा सुरुङ खन्न शुरू गरिएको २ महिनाको अवधिमा १४२ मिटर सुरुङ खन्ने काम पूरा भएको हो ।

 

हालसम्म काठमाडौंतर्फ ५२ मिटर र धादिङतर्फ ९० मिटर मिटर सुरुङ खनिएको आयोजनाका निर्देशक नरेशमान शाक्यले जानकारी दिए । उनका अनुसार काठमाडौंतर्फको ५२ मिटरमध्ये २७ मिटर मुख्य सुरुङ र २५ मिटर आपतकालीन उद्धार सुरुङ (स्केप्ट टनेल) खनिएको छ ।

 

धादिङतर्फ हालसम्म ९० मिटर स्केप्ट टनेल खनिएको छ भने अबको दुईसाता भित्र मुख्य सुरुङ खन्न शुरु गरिने आयोजनाका निर्देशक शाक्यले जानकारी दिए । उनका अनुसार धादिङ (पश्चिम) तर्फ पुस ६ बाट सहायक सुरुङमार्ग (सर्भिस ट्रयाक) खन्न थालिएको थियो । सो तर्फ हालसम्म ९० मिटर सुरुङ खनिसकिएको छ भने मुख्य सुरुङ खन्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

 

हालसम्म मुख्य सुरुङ अन्तर्गत काठमाडौंतर्फ २५ मिटर, आपतकालीन उद्धार सुरुङ (स्केप्ट टनेल) अन्तर्गत काठमाडौंतर्फ २७ र धादिङतर्फ ९० मिटर गरी कुल १४२ मिटर सुरुङ खनिसकिएको छ ।

 

उनले अझै ११९ मिटर सुरुङ खनिएपछि मुख्य टनेल खन्न शुरु गरिने बताए । ‘पूर्वतर्फ मुख्य टनेलमा पनि खन्ने काम भइरहेको छ, पश्चिम तर्फ अबको २ साता जतिमा मुख्य टनेल खन्न शुरु गर्ने छौँ,’ शाक्यले चाणक्य पोष्टसँग भने ।

 

हाल सुरुङ निर्माणका लागि ६० टन विष्फोटक पदार्थ प्रयोग भइरहेको छ । थप ६० टन विष्फोटक पदार्थ आउने क्रममा रहेको उनले बताए । सुरुङ निर्माणका लागि कुल ९०० टन विष्फोटक पदार्थ आवश्यक पर्नेछ । सो मध्ये ३०० टन आयातका क्रममा रहेको छ । सबै विष्फोटक पदार्थ सेनाको नियन्त्रणमा आवश्यक्ता अनुसार मगाइने उनले बताए ।

 

उनका अनुसार १४ महिनाभित्रर निर्माण सक्ने लक्ष्य सहित दुई सिफ्टमा काम भइरहेको छ । उनले दिन र रातमा गरेर ४÷४ घण्टाको ओभरटाइम सहित सुरुङ निर्माणको कामलाई तीव्रता दिइएको छ ।

 

धादिङ तर्फ जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेशनले २४ घण्टै काम गरिरहेको उनले बताए । ‘दुबै तर्फ सुरुङको कामले गति लिइसकेको छ, समयमै सक्ने गरी काम गरिरहेका छौँ, धादिङ तर्फ २४ घण्टा काम भइरहेको छ, चाँडै दुवै तर्फबाट मुख्य र सहायक दुवै सुरुङ खन्न थालिने छ,’ शाक्यले चाणक्य पोष्टसँग भने ।

 

उनले वातावरण तथा स्थानीयलाई ध्यानमा राखि साउण्डप्रुफ हालेर काम भइरहेको बताए । धादिङतर्फ भने आपत्कालीन उद्धार (स्केप्ट टनेल) सुरुङको कामअघि बढाइएको हो । स्केप टनेल आपतकालीन अवस्थामा प्रयोगका लागि मुख्य सुरुङमार्गसँगै समानान्तर हुने गरी निर्माण गरिँदै छ । मुख्य सुरुङबाट ३० मिटरको दुरी (चौडाइ) मा हुनेगरी स्केप टनेल खनिएको छ । यसरी समानान्तर हुनेगरी खनिने स्केप टनेललाई प्रत्येक ३७५ मिटरमा सहायक बाटो (क्रस प्यासेज)ले मुख्य सुरुङसँग जोड्छ ।

कुनै दुर्घटना परे वा भवितव्य भए एम्बुलेन्स लगायतका आपतकालीन सवारीको आउजाउका लागि यस्तो सुरुङ (स्केप टनेल) प्रयोग हुनेछ । यो टनेल मूल सुरुङको एकतिहाई ब्यास (डायमिटर) को हुनेछ । अर्थात् मुख्य टनेल स्केप टनेलभन्दा तीन गुणा ठूलो हुनेछ ।मुख्य सुरुङमार्गको काम पनि यही टनेलबाट भित्र गएर खनिने बताइएको छ । ‘हामी स्केप टनेलबाटै भित्र खन्दै जान्छौं । एउटा क्रस प्यासेज आएपछि हामी गएकै बाट मुख्य सुरुङ पनि खन्छौ,’ शाक्यले भने ।

 

सुरुङसँगै पर्ने पृथ्वी राजमार्गको अहिले संचालनमा रहेको बाटो ओभर पास बनाएर संचालन हुन दिने र सुरुङमार्गबाट निस्कने बाटोलाई त्यसमुनि संचालन हुने गरी यस सुरुङमार्गको डिजाइन गरिएको छ ।

 

यो सुरुङमार्ग करिब २.७ किलोमिटर हुनेछ । काठमाडौतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिकमा सुरुङमार्गको शिलान्यास गरेका थिए । शिलान्यास भएको १६ महिना बितिसकेको छ  । ४४ महिनामा निर्माण सक्नुपर्ने सम्झौता भए पनि विभिन्न समस्याहरूका कारण सुरुङ खन्ने काम ढिला शुरू भएको आयोजनाले जनाएको छ ।

 

यस सुरुङमार्गको मुख्य निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेशनले बनाएको तालिकाअनुसार आगामी १४ महिनामा सुरुङ छेडिनेछ । यो सुरुङमार्गको परामर्शदाता कम्पनी जापानको निप्पोन कोइ इजे र नेपाली कम्पनी एनसीसीको संयुक्त उपक्रम (जोइन्ट भेन्चर) हो । यो जेभीले नै यस आयोजनाको डिजाइन गरेको हो भने आयोजना पूरा गर्दासम्म यसको सुपरीवेक्षणको काम पनि सोही कम्पनीले गर्नेछ

३ वर्ष अघि ओलीको र अहिले सेयर बजारमा निफ्राको उफ्राइ उस्ताउस्तै ! Read Previous

३ वर्ष अघि ओलीको र अहिले सेयर बजारमा निफ्राको उफ्राइ उस्ताउस्तै !

निफ्राको सेयरमा तीव्र चलखेल : एकैदिन पोजेटिभ र नेगेटिभ सर्किट, बेच्नेको ओइरो किन्ने शून्य Read Next

निफ्राको सेयरमा तीव्र चलखेल : एकैदिन पोजेटिभ र नेगेटिभ सर्किट, बेच्नेको ओइरो किन्ने शून्य