३ वर्ष अघि ओलीको र अहिले सेयर बजारमा निफ्राको उफ्राइ उस्ताउस्तै !

काठमाडौं । अहिले सहरमा दुईजना व्यक्तिको खुब चर्चा छ । पहिलो व्यक्ति हुन् अहिलेको काम चलाउ सरकारका प्रधानमन्त्री खड्ग प्रसाद ओली । अर्को व्यक्ति (कर्पोरेट व्यक्ति) हो नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) ।

 

पहिलो व्यक्ति कामचलाउ प्रधानमन्त्री ओली संविधानलाई मुर्छित पारेको, लोकतन्त्रलाई अपहरण गरेको र आफ्ना विरोधीहरूलाई तल्लो स्तरमा ओर्लेर गाली गलौज गरेका कारण चर्चाको शिखरमा छन् । अर्को कर्पोरेट व्यक्ति निफ्रा भने मानिसहरूलाई छोटो समयमै चिताइनसक्नु ‘धनी’ बनाएका कारण चर्चाको केन्द्रमा रहेको हो । सामाजिक सञ्जालमा यी दुइकै चर्चा छ । चिया पसलदेखि भट्टीमा समेत यिनीहरूकै भविष्यको मूल्यको चर्चा छ ।

 

यी दुईको चर्चामा अहिले केही आधारभूत भिन्नता भने देखिएको छ । निफ्राको सेयर मूल्यले नेप्सेमा दिनदिनै सर्किट हानिरहेको छ । मूल्य हरेक दिन १० प्रतिशतले बढिरहेको छ । मानिसहरू यो कम्पनीको सेयर किन्न नपाएर निराश भएका छन् भने केही अलि चाँडै बेचिएछ भनेर उक्ताएका छन् । किन्न पाएका वा अहिलेसम्म नबेचेका रमाएर बसेका छन् । आइफोन, स्कुटर, नयाँ मोटरसाइकल किन्ने सोचमा छन् । गाडी किन्ने सपना बुनेका छन् । केहीले त घर जग्गा नै पो जोड्ने कुरा गर्न थालिसकेका छन् ।

 

कामचलाउ प्रधानमन्त्री ओली अहिले संविधानलाई मुर्छित पारी लोकतन्त्रको अपहरण गरेको र आफ्ना विरोधीलाई तल्लो स्तरमा गर्ने गालीगलौजका कारण चर्चामा छन् । अर्को कर्पोरेट व्यक्ति ‘निफ्रा’ भने मानिसहरूलाई छोटो समयमै चिताइनसक्नु ‘धनी’ बनाएका कारण चर्चाको केन्द्रमा छ। अहिले चिया पसलदेखि भट्टीमा समेत यिनीहरूकै भविष्यको मूल्यको चर्चा छ ।

 

उता ओलीको लोकप्रियतामा दिनदिनै नकारात्मक सर्किट लागिरहेको छ । राष्ट्रवादी भनेर गलत मानिसलाई जिताइएछ भनेर मानिसहरू निराश भएका छन् । विकास भनेर हावादारी गफलाई पत्याइएछ भनेर सुस्केरा हालेका छन् । लोकतन्त्रवादी भनेर भरोसा गरिएछ भनेर झोक्राएका छन् ।

 

तर, वास्तवमा ओली कस्ता मानिस हुन् भनेर उनले खासै लुकाएका थिएनन् । अग्रगामी परिर्वतनहरूका प्रति उनको असहिष्णुता खासै लुकेको विषय होइन । विकासका आधारभूत मान्यताहरू प्रति उनको अज्ञानता पनि छिपेको विषय थिएन । निरङकुश प्रकृतिको बतासे राष्ट्रवादले पनि बेलामौका खास्टोले छोपेको बिरालो झैं म्याउँ गरेकै थियो । तर मानिसहरूले विवेकको प्रयोग गरेनन् । हल्लाको पछाडि लागे । अहिले पछुताएर बसेका छन् । तर कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भन्छन् । ओलीलाई चिन्ने सन्दर्भमा नराम्रोसँग फसेका नेपाली जनताले उक्त गल्तीबाट पाठ सिकेर त्यो ज्ञान सेयर बजारमा प्रयोग गर्न सक्छन् । ओलीलाई चिन्ने सन्दर्भमा चुकेका जनता निफ्रालाई चिन्न भने सचेत बन्न सक्छन् ।

 

निफ्रा अहिले गत चुनाव अघिको ओली जस्तै देखिएको छ । त्यतिबेला ओलीका समर्थकहरूको संख्यामा सकारात्मक सर्किट लागेझै अहिले दैनिक रुपमा निफ्राको सेयरमा सकारात्मक सर्किट लागिरहेको छ ।

 

त्यो बेला ओलीको समर्थक संख्यामा सकारात्मक सर्किट लाग्नु कत्तिको स्वभावीक थियो ? अहिले निफ्रामा पनि दैनिक सकारात्मक सर्किट लाग्नु कति स्वभाविक हो ? ओलीको राजनीतिक चरित्र र क्षमता त्यो समर्थन पाउन योग्य थियो ? निफ्राको वित्तीय विवरण यस्तो उत्साह र उमंग ल्याउन योग्य छ ?

 

ओलीको चरित्र र योग्यता सार्वजनिक रुपमा लुकेको विषय थिएन । उनका विचारहरू सोही अनुसार बाहिर आइरहेकै थिए । तर मानिसहरू झुक्किए । गल्ती गरे । त्यसैगरी निफ्राको वित्तीय विवरण पनि सार्वजनिक रुपमै उपलब्ध छन् । ओलीको सन्दर्भमा झैं गल्ती नगर्नका लागि समय छ अहिले ।

 

निफ्राको वित्तीय अवस्था

 

पूर्वाधार विकासको क्षेत्रमा लगानी गर्ने भनेर २०७५ मा स्थापना भएको कम्पनी हो यो । २० अर्ब रुपैयाँ चुक्ता पूँजी भएको यो कम्पनीले ठूला निक्षेपकर्ताहरूबाट निक्षेप उठाउने र ठूला पूर्वाधारहरूमा लगानी गर्ने बताएको छ ।

 

ठूला पूर्वाधारहरूमा लगानी गर्नका लागि यो पूँजी पर्याप्त नहुने भएका कारण अझै हकप्रद जारी गरेर पूँजी संकलन गर्ने समेत कम्पनीले बताएको छ । यसको मतलब के हो भने कम्पनी निकट भविष्यमा नाफामा जाने र लगानीकर्तालाई राम्रो लाभांश वितरण गर्न सक्ने  संभावना कम देखिन्छ ।

 

दीर्घकालमा राम्रो होला नि त भनेर कतिपय मानिसहरूले भन्न सक्छन् । तर नेपालजस्तो देशमा पूर्वाधार विकास भनेर बहुआयामिक विषय हो । यो राजनीतिक र सामाजिक र साँस्कृतिक विषय पनि हो । नेपाल जस्तो दूषित राजनीति भएको देशमा ठूला पूर्वाधारहरूको निर्माण त्यति सजिलो छैन । हाम्रा अगाडि मेलम्ची खानेपानी आयोजना, फास्ट ट्रयाक, तामाकोशी जलविद्युत परियोजनाहरूको उदाहरण प्रष्टै छ ।

 

ठूला जलविद्युत परियोजनाहरूमा लगानी गर्ने भनेर खुलेको जलविद्युत विकास कम्पनी (एचआइडीसील)को पनि अवस्था हामीले देखेकै छौं ।

 

निफ्राले यातायात, कृषि, पर्यटन, उर्जा, सहरी पूर्वाधार, सूचना प्रविधि इत्यादि क्षेत्रमा लगानी गर्ने बताएको छ । बैंकले हालसम्म एउटा सोलार परियोजना, ४ वटा जलविद्युत, एक सिमेन्ट उद्योग र एउटा ५ तारे होटल गरेर ८ अर्ब रुपैयाँ भन्दा बढी लगानी गरेको छ ।

 

चालू आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा निफ्राकाे खुद मुनाफ १२.५४ प्रतिशतले घटेको छ ।

 

बैंकले चालू आवको पुस मसान्तसम्म ३५ करोड २२ लाख ५५ हजार खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको भन्दा ५ करोड ५ लाख कमी हो । बैंकले गत वर्षको दोस्रो त्रैमासमा ४० करोड २७ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

 

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकको नाफामा गिरावट आएको हो। समीक्षा अवधिमा ५० करोड ३५ लाख सञ्चालन मुनाफा र ५६ करोड ९४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

 

समीक्षा अवधिमा बैंकले ३४ करोड निक्षेप सङ्कलन गरी १ अर्ब ६१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यस्तै बैंकले विभिन्न बैंकहरुमा १३ अर्ब ४३ करोड रुपैयाँ निक्षेप लगानी गरेको छ।

 

हालै ८ अर्ब बराबरको आइपीओ जारी गरी बैंकले चुक्ता पूँजी १२ अर्ब रुपैयाँबाट बढाएर  २० अर्ब पुर्याएकाे छ । दोस्रो त्रैमाससम्म  बैंकको जगेडा कोषमा १ अर्ब ९४ करोड रुपैयाँ सञ्चित छ।

 

नाफा घट्दा बैंकको प्रतिसेयर आम्दानी ६.७१ रुपैयाँबाट घटेर ५.८७ रुपैयाँमा सीमित भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ भने ११०.८२ रुपैयाँबाट बढेर ११६.१९ रुपैयाँ पुगेको छ ।

 

वित्तीय विवरण हेर्दा बैंकले आगामी ३-४ वर्षसम्म बैंकको मुद्दती निक्षेप सरह पनि लाभांश दिनसक्ने संभावना छैन । दीर्घकालमा पनि नेपालको राजनीतिक परिवेश हेर्दा पूर्वाधार निर्माण सहज रुपमा अघि बढ्न सजिलो छैन । त्यसैले यो कम्पनीमा निकै सचेत भइ लगानी गर्नुपर्ने अवस्था देखिन्छ ।

 

तर अहिले मानिसहरू पछि सेयर नै नपाइएला जसरी यो कम्पनीको सेयरमा झुम्मिएका छन् । यही मनोविज्ञानलाई प्रयोग गर्दै उनीहरूलाई संस्थागत र ठूला लगानीकर्ताहरूले उनीहरूलाई महङ्गोमा यो सेयर भिडाउन लागि परेका छन् ।

 

त्यसैले अहिले निफ्राको चर्चा र बढ्दो सेयर मूल्य ३ वर्ष अगाडी प्रधानमन्त्री ओलीको ‘क्रेज’ र उनले गर्ने गरेका हावादारी भाषण जस्तै देखिएको छ ।

नेप्सेमा दोहोरो अंकको करेक्शन, घट्दो बजारमा पनि यी ८ कम्पनीका लगानीकर्ता मालामाल Read Previous

नेप्सेमा दोहोरो अंकको करेक्शन, घट्दो बजारमा पनि यी ८ कम्पनीका लगानीकर्ता मालामाल

नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणले गति लिँदै, २ महिनामा १४२ मिटर खनियो Read Next

नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माणले गति लिँदै, २ महिनामा १४२ मिटर खनियो