काठमाडौं । यातायात व्यवस्था विभाग अन्तर्गतको सवारी जाँचपास केन्द्रले विद्युतीय सवारीसाधन जाँच्ने उपकरण खरिद गर्न लागेको छ । पछिल्लो समय मुलुकमा विद्युतीय सवारी साधनप्रतिको आकर्षण बढेसँगै सरकारले विद्युतीय सवारीसाधन जाँचका लागि उपकरण खरिद गर्ने तयारी गरेको हो ।
केन्द्रले सोही उपकरणबाट सवारीसाधन जाँचपास गर्ने भएको छ । मुलुकभित्र चल्ने दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे विद्युतीय सवारी साधन जाँचका लागि उक्त उपकरणको खरिद प्रक्रिया अघि बढाएको केन्द्रका प्रमुख रामचन्द्र पौडेलले बताए ।
ती उपकरणले सवारी साधनको चक्का चलाएपछि कति पावर छ, कति उकालो तान्न सक्छ, कति गतिमा कुद्न सक्छ भन्ने जानकारी दिने पौडेलले बताए । उनका अनुसार ती जानकारी कम्प्युटरमा गएर प्रिन्ट गरेर निकाल्न सकिने छ ।
उपकरण खरिदका लागि केही महिना अगाडि नै ठेक्का सम्झौता भइसकेको केन्द्रले जनाएको छ । केन्द्रले सोही सम्झौता अनुसार, उपकरण खरिद गरी ल्याउने प्रक्रिया अघि बढाएको पौडेलले बताए । ‘आगामी वैशाखसम्ममा उपकरण खरिद गरी ल्याउने योजना छ,’ पौडेलले भने ‘भन्छन्, कोभिडको कारण आउन अलि समय लाग्ने हो ।’
चालू आर्थिक वर्षभित्र खरीद गरिने उक्त जाँच्ने उपकरण आगामी आर्थिक वर्षको शुरुदेखि त्यसलाई सञ्चालन गर्ने लक्ष्य लिइएको छ । अहिले सरकारले जाँच पास र ‘रोड ओपनियन टेस्ट’ अनिवार्य गरिए पनि परीक्षण मान्छेले आँखाले हेरेर (म्यानुअल) नै हुँदै आएको छ । आगामी दिनमा उपकरणको प्रयोग गरी सवारी साधन सडकमा गुड्नका लागि उपयुक्त होइन भनी जाँच हुने बताइएको छ ।
मान्छेले हेरेर गरिने परीक्षण भरपर्दाे नहुँदा अबका दिनमा वैज्ञानिक रुपमा परीक्षण गर्ने तयारी अघि बढाएको पौडेलले बताए । उनका अनुसार भन्सारबाट आएका विद्युतीय गाडी पहिले बाटोमा चलाउन मिल्ने भनी केन्द्रले प्रमाणित गरेपछि मात्रै यातायात व्यवस्था विभागको कार्यालयमा दर्ता हुने गर्छन् ।
विद्युतीय सवारीसाधनमा अहिले ह्वाइट गुम्बालगायतका काठमाडौं उपत्यकाका डाँडामा पुगेर कति उकालोसम्म जान सक्छ भनी जाँच हुने गरेको थियो । सवारी साधनको वास्तविक अवस्था थाहा पाउन र परीक्षणका क्रममा हुनसक्ने गल्ती कम गर्न उपकरण खरीद गर्न लागिएको उनले बताए ।
उपकरणले इन्जिनको शक्ति, कति उकालो चढ्न सक्ने भन्ने जानकारी उपलब्ध गराउनेछ । केही समयपश्चात भने विद्युतीय मात्रै नभएर भन्सारबाट भित्रिने विद्युतीय वा पेट्रोलियम सवारी साधनको ‘रोड ओपिनियन टेस्ट’ उपकरणमार्फत नै गर्ने केन्द्रको तयारी छ ।