तामाकोशीको सेयर मूल्यमा लगातार पोजेटिभ सर्किट, यस कारण आउँदैछ उछाल

काठमाडौं । माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा लगातार दोस्रो दिन पनि पोजेटिभ सर्किट लागेको छ ।

 

आइतबार एकाएक उछाल आएर १० प्रतिशतले बढेको कम्पनी सेयर मूल्यमा आज पनि पोजेटिभ सर्किट अर्थात् भाउ १० प्रतिशतले बढेको छ ।

 

पछिल्लो दुईमै कम्पनीको सेयर मूल्य १०२ रुपैयाँले बढेर आज प्रतिकित्ता ५९२ रुपैयाँमा कारोबार भइरहेको छ । तामाकोशी सेयर खरिदका लागि माग उच्च रहे पनि विक्रीकर्ता भने शून्य रहेका छन् ।

 

आइतबार सर्किट मूल्यमै ४ लाख ३२ हजार बढी कित्ता सेयर कारोबार भएको थियो भने आज पनि पौने १२ बजेसम्म ४६ हजार कित्ता कारोबार भएको छ भने सवा २ लाख बढी कित्ता खरिदका लागि अर्डर छ ।

 

देशकै सबैभन्दा ठूलो ४५६ मेगावाटको तामाकोशीको जलविद्युत् आयोजनाको टर्बाइनमा पानी खसाल्ने पाइप (बाइफर्केसन डिस्ट्रिब्युसन) को परीक्षण सफल भएपछि लगानीकर्ता उत्साहित हुँदा सेयर मूल्यमा उछाल आएको हो ।

 

आयोजनाले गत हप्तादेखि बाइफर्केसन डिस्ट्रिब्युसनको परीक्षण शुरु गरेको थियो भने शनिबार परीक्षण सफल भएको जानकारी गराएको छ ।

 

आयोजनाको सबैभन्दा जटिल र संवेदनशील मानिएको यो पाइपको परीक्षण सफल भएपछि चैतभित्र बिजुली बाल्न सकिने आयोजनाले जनाएको छ । अब छिट्टै बिजुली निकालिने सम्भावना बढेसँगै लगानीकर्ता कम्प्नीको सेयरप्रति आकर्षित भएका छन् ।

 

आयोजनाको विद्युत्गृहमा ७६ मेगावाटका ६ वटा टर्बाइन रहेको छन् । ती मध्ये एउटा टर्बाइनबाट आगामी चैत्रभित्र बिजुली निकालिने आयोजनाले जनाएको छ ।

 

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी निर्माण शुरु भएको १ दशक बिते पनि अझै निर्माण पूरा हुन सकेको छैन । भूकम्प, कामदार अभाव, निर्माण सामग्रीको अभाव, ठेकेदारको ढीलासुस्ती र लापारबाही लगायत कारणले आयोजनाको कामले गति लिन नसकेको हो ।

 

शुरुवाती समयमा करिब ३५ अर्ब लगानीमा निर्माण हुने भनिए पनि अहिले आयोजनाको लागत बढेर दोब्बर भइसकेको छ भने अझै कति बढ्ने हो भन्ने निश्चित छैन ।

ऋण लिन अब बैंकमा धाउनै नपर्ने, फोनबाटै यसरी लिनुहोस् ऋण Read Previous

ऋण लिन अब बैंकमा धाउनै नपर्ने, फोनबाटै यसरी लिनुहोस् ऋण

विद्युतीय सवारीसाधन जाँच्ने उपकरण किन्दै यातायात विभाग Read Next

विद्युतीय सवारीसाधन जाँच्ने उपकरण किन्दै यातायात विभाग