कोरोनाका कारण ११ प्रतिशत उद्योग भए सधैंका लागि बन्द

काठमाडौं । कोभिड–१९ का कारण बन्द भएका ११ प्रतिशत उद्योग पुनः सञ्चालनमा आउँन नसक्ने अवस्थामा पुगेका छन् । यी उद्योग कोभिड–१९ को महामारी र त्यसको नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउनका कारण सधेका लागि बन्द भएका हुन् ।

 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको अध्ययन प्रतिवेदनका अनुसार बाँकी ८९.१९ प्रतिशत उद्योग–व्यवसायहरु आंशिक रुपमा सञ्चालन भइरहेका छन् ।

 

मन्त्रालयले गरेको ‘कोभिड–१९ ले उद्योग क्षेत्रमा पारेको प्रभाव’ विषयक अध्ययन प्रतिवेदनले कोभिडका कारण १० दशमलव ८१ प्रतिशत उद्योग पूर्ण रुपमा बन्द भएको देखाएको हो । बाँकी ८९.१९ प्रतिशत उद्योग–व्यवसायहरु आंशिक रुपमा सञ्चालन भइरहेका छन् ।

 

अध्ययनमा सहभागी उद्योग–व्यवसायीहरुले उद्योग–व्यवसाय सञ्चालनको अवस्थालाई पुरानै लयमा फर्काउन विभिन्न सुझाब दिएका छन् । सरकारले ब्याजदरमा छुट दिनुपर्ने, सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्ने, करमा छुट दिनुपर्ने, विद्युत्को डिमान्ड शुल्क उत्पादनका आधारमा गरिनुपर्ने, कर्जा तिर्ने अवधि थप गरिनुपर्ने, मूल्य अभिवृद्धि कर फिर्ता दिनुपर्ने, पुनर्कर्जा उपलब्ध गराउनुपर्ने तथा घरभाडा छुट दिनुपर्ने माग राखेका छन् ।

 

त्यसैगरी, विद्युत् महसुल कम गर्नुपर्ने, कम्तीमा २ वर्षसम्म श्रमिकको न्यूनतम ज्याला वृद्धि गर्न नहुने, अन्तःशुल्क र भ्याटको दरमा पुनः मूल्यांकन गर्नुपर्ने र नेपाल सरकारले घोषणा गरेका सबै सहुलियतहरु तुरुन्त प्रदान गर्नुपर्ने व्यवसायीको सुझाव छ ।

 

पछिल्लो समय कोभिड–१९ को रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण मुलुकका अधिकांश लघु तथा घरेलु उद्योग प्रभावित बनेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरेको एक अध्ययनले बन्दाबन्दीको अवधिमा सबैभन्दा बढी लघु तथा घरेलु उद्योग प्रभावित भएको देखाएको हो ।

 

सरकारले गरेको बन्दाबन्दी र त्यसपछिको समयमा समेत उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन नभएको पाइएको भन्दै मन्त्रालयले त्यसमध्ये पूर्ण बन्द भएका उद्योगहरुमा लघु तथा घरेलु उद्योगको संख्या ७५ प्रतिशत रहेको उल्लेख गरेको छ ।

 

मन्त्रालयले गत कात्तिक १७ देखि १६ मंसिरसम्म तथ्यांक संकलन गरेको थियो । अध्ययनक्रममा गरगहना, रङरोगन, पेयपदार्थ, सिमेन्ट, तामा–पित्तलका भाँडा, जलविद्युत् उत्पादन, हस्तकला, तयारी पोसाक, परामर्शलगायत वस्तु तथा सेवा उत्पादन गर्ने ३७ उद्योग–व्यवसाय सहभागी थिए । जसमा लघु उद्यम तथा घरेलु उद्योग १७ वटा, साना उद्योग ८ वटा, मझौला उद्योग ४ वटा र ठूला उद्योग ८ वटा रहेका छन् ।

 

त्यस्तै कोभिड–१९ महामारीका कारण उद्योग–व्यवसायको सञ्चालन क्षमता घटेको तथा उत्पादनमा समेत गिरावट आएको पनि तथ्यांकमा उल्लेख छ ।

 

मन्त्रालयको अध्ययन प्रतिवेदनअनुसार १०.८१ प्रतिशत उद्योग पूर्ण रुपमा बन्द भएको र ८९.१९ प्रतिशत उद्योग आंशिक रुपमा सञ्चालनमा आएका थिए । यीमध्ये पूर्ण बन्द भएका उद्योगमा लघु तथा घरेलु उद्योगको अंश अधिक देखिएको हो ।

 

सरकारले नेपालमा कोराना भाइरस नियन्त्रणका लागि भन्दै २०७६ चैत ११ देखि बन्दाबन्दी घोषणा गरेको थियो । बन्दाबन्दी साउनमा खुला गरिएको भए पनि त्यसको केही सातामै सरकारले पुनः निषेधाज्ञा जारी गरेको थियो । यस अवधिमा उद्योगहरु पूर्णरुपमा सञ्चालन हुन नपाउँदा र कतिपय त बन्द नै हुँदा उद्योगहरुको समग्र उत्पादन क्षमतामै उल्लेख्य ह्रास आएको छ ।

गौतमबुद्ध विमानस्थलको काम ९५ प्रतिशत पूरा, ३ महिनाभित्र सञ्चालनमा ल्याइने Read Previous

गौतमबुद्ध विमानस्थलको काम ९५ प्रतिशत पूरा, ३ महिनाभित्र सञ्चालनमा ल्याइने

स्मार्ट सिटी : सहरको संख्या थपेको थप्यै, निर्माण भने कागजमै सीमित Read Next

स्मार्ट सिटी : सहरको संख्या थपेको थप्यै, निर्माण भने कागजमै सीमित