स्मार्ट सिटी : सहरको संख्या थपेको थप्यै, निर्माण भने कागजमै सीमित
संकेतिक तस्विर
गीता भुजेल
प्रकाशित : 9:50 am, सोमबार, फाल्गुन १०, २०७७
"देशभर ५० नयाँ सहर बन्ने"

काठमाडौं । व्यवस्थित र आधुनिक सहरीकरण गर्ने उद्देश्यले देशभर करिब ४ दर्जन स्मार्ट सिटी (नयाँ सहर) निर्माणको घोषणा गरिएको छ ।

 

घोषणा गरिएका केही नयाँ सहर निर्माणको काम अगाडि बढे पनि अधिकांश नयाँ सहर निर्माणको काम कागजमै सीमित रहेका छन् । यसअघि देशभर ४५ नयाँ सहर निर्माणको घोषणा गरिएकोमा अहिले फेरि ५ नयाँ सहर निर्माणको घोषणा गरिएको छ ।

 

सरकारले नयाँ व्यवस्थित सहर निर्माणको घोषणा गर्नु राम्रो भए पनि सस्तो लोकप्रियताका लागि विस्तृत अध्ययन नगरी जथाभावी योजना बनाउनु, काम गर्न आवश्यक बजेट विनियोजन नहुनु, जग्गा व्यवस्थापन हुन नसक्नु, लगायत कारणले नयाँ सहर निर्माणले गति लिन नसकेको हो ।

 

सरकारले हालै हिमाली सहर अन्तर्गत डोल्पाको हुनै, ताप्लेजुङको फुङलिङ, मनाङको चामे, बाजुराको कोल्टी र सोलुखुम्बुको किमा थान्कालाई नयाँ सहरको रुपमा विकास गर्ने नयाँ प्रस्ताव गरेको छ । ती सहरहरुलाई पूरानै ढाँचामा विकास गर्न सकिन्छ कि सकिँदैन भनेर हाल अध्ययनको चरणमा रहेको सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत नयाँ सहर विकास शाखाका प्रमुख सुमन सालिकेले बताए ।

 

नयाँ सहर विकास शाखाका प्रमुख सालिकका अनुसार हाल थप गरिएका ५ सहित कुल ५० नयाँ सहर निर्माण मध्ये हालसम्म ४५ वटै नयाँ सहरहरुको डीपीआर निर्माण भइसकेको छ । सो सहरहरुमा डीपीआर अनुसार निर्माण समेत भइरहेको उनले बताए ।

 

‘४५ वटा सहरहरुको डीपीआर सम्पन्न भइसकेको छ, सबै डीपीआर अनुसार थोरै थोरै काम भइरहेको छ,’ सालिकेले चाणक्य पोष्टसँग भने ‘बजेट अनुसार काम भइरहेको छ, धेरै बजेट छैन त्यसैले धेरै काम हुन सकेको छैन ।’

 

यीे ५ नयाँ सहर थपिएसँगै नेपालमा ५० नयाँ सहरहरु निर्माण हुने भएका छन् । यस अघि मध्यपहाडीमा १२, हुलाकी लोक मार्गमा १०, तराई मधेसमा ५, हिमाली सहरमा ५ र १३ स्मार्ट गरी ४५ वटा नयाँ सहर निर्माण गर्न स्वीकृत भएको थियो ।

 

सरकारले नयाँ व्यवस्थित सहर निर्माणको घोषणा गर्नु राम्रो भए पनि सस्तो लोकप्रियताका लागि विस्तृत अध्ययन नगरी जथाभावी योजना बनाउँदा आयोजनाले गति लिन सकेका छैनन् । यस्तै, बजेट अभाव, जग्गा व्यवस्थापन, लगानीको मोडालिटी तय नहुन लगायत कारणले नयाँ सहर निर्माणले गति लिन नसकेका हुन् ।

 

१ दशकमा ५० नयाँ सहर निर्माण घोषणा

 

पछिल्लो १ दशकको अवधिमा देशभर ५० नयाँ सहर निर्माणको घोषणा गरिएको छ । नयाँ सहर निर्माण औपचारिक योजना १ दशक अघिदेखि अगाडि बढाइएको हो । सरकारले आर्थिक वर्ष २०६७/६८ मा मध्य–पहाडी लोकमार्गमा १० वटा नयाँ सहर निर्माण गरिने योजना ल्याएको थियो । त्यसका लागि १० सहर समेत छनोट गरेको थियो ।

 

यस्तै, २०६८/६९ मा पीसीओ स्थापना गरी १० स्थानमा आयोजना कार्यालय स्थापना गरिएको थियो । २०७३/७४ बाट सुर्खेत जिल्लाको भेरी गंगा र प्यूठान जिल्लाको भिंग्रस्लाई नयाँ सहरको रुपमा विकास गर्न छनोट भएको थियो । सोही आर्थिक वर्षमा हुलाकी लोकमार्गमा अवस्थित १० वटा वस्ती र तराई मधेशका ५ गरी १५ वटा वस्तीलाई नयाँ सहरको रुपमा विकास गर्न छनोट गरियो ।

यस्तै, आव २०७२/७३ को बजेटमार्फत ३ सहरलाई स्मार्ट सिटीको रुपमा विकास गरिने घोषणा गरिएको थियो । लुम्बिनी, निजगढ, पालुङ्गटारलाई स्मार्ट सिटीका रुपमा विकास गर्न छनोट गरिएको थियो । विभिन्न १० वटा सहरहरुलाई स्मार्ट सिटीका रुपमा विकास गर्न नेपाल सरकारको मन्त्रिस्तरीय बैठकले २०७४ को असार २८ गते निर्णय गरिएको थियो ।

 

आयोजना धेरै, काम गर्न बजेट भने कम

 

४ दर्जन बढी स्मार्ट सिटी निर्माणको घोषणा गरिए पनि ती सहर निर्माणका लागि बजेट भने अत्यन्तै कम विनियोजन भएको छ । सरकारले चालू आवमा ४५ सहर निर्माणका लागि जम्मा २ अर्ब ११ करोड रुपैयाँ विनियोजन गरेको छ ।

 

सो बजेटले ती नयाँ सहरको अध्ययन समेत गर्न नपुग्ने देखिन्छ । प्रत्येक सहर निर्माणका लागि न्यूनतम २० अर्ब खर्च लाग्ने अनुमान गरिए पनि सरकारले ४५ सहर निर्माणका लागि २ अर्ब मात्र छुट्याउनुले ती आयोजना अगाडि बढ्न सक्ने देखिँदैन ।

 

चालू आवमा विनियोजित बजेटमध्ये हालसम्म २२ प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजनाले गरेको अध्ययन अनुसार प्रत्येक सहरको निर्माणका लागि न्यूनतम २० अर्ब खर्च लाग्ने अनुमान गरिएको छ ।

 

भौतिक तर्फ चालू आर्थिक वर्षमा ३५ प्रतिशत प्रगति भएको उनले बताए । देशभर निर्माणाधीन अवस्थामा रहेका सहरहरुमा बजेटसँग जनशक्तिको समेत अभाव रहेको छ । उनले प्रत्येक आयोजनामा ५/५ जना इन्जिनीयर खटाइएको बताए । सो पर्याप्त नभएको उनको भनाइ छ ।

 

मध्यपहाडी लोकमार्गमा बन्ने १२ नयाँ सहर

 

सेवा सुविधा र अवसरको खोजीमा हिमाल र पहाडबाट कोही पनि शहर वा तराई पस्न नपरोस् भन्ने उद्देश्यसाथ सरकारले आर्थिक वर्ष २०६७/ ६८ को नीति तथा कार्यक्रममा मध्यपहाडी लोकमार्गको लोकमार्गको छेउछाउमा १० वटा नयाँ शहर विकास गर्ने घोषणा गरेको थियो ।निर्माणाधीन मध्यपहाडी लोकमार्गको छेउछाउमा विकास गर्न लागिएको १० वटा शहरको भौतिक पूर्वाधार निर्माणको कामलाई सहरी विकास मन्त्रालयले उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको छ ।

 

सरकारले मध्यपहाडी लोकमार्गअन्तर्गत पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेणी–गल्छी, तनहुँको डुम्रे भन्सार, बागलुङको बुर्तिवाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछामको साँफेबगर र बैतडीको पाटनमा आधुनिक सुविधासम्पन्न शहर निर्माण गर्न लागेको हो ।

प्रत्येक शहरमा बस पार्क, मनोरञ्जन पार्क, तरकारी बजार, सडक, खानेपानी, खेलकुद मैदान, बसपार्क, मनोरञ्जन पार्क, आधुनिक बस्ती, विद्यालय, कलेज, अस्पताल, तरकारी बजार, औद्योगिक क्षेत्रलगायत पूर्वाधारको विकास गरिने योजना रहेको छ ।

हुलाकी लोकमार्ग अन्तर्गत १० नयाँ सहर

 

हुलाकी लोकमार्गका छेउछाउमा १० वटा नयाँ सहर बनाउने सहरी विकास मन्त्रालयले घोषणा गरेको छ । हुलाकी लोकामार्ग अन्तर्गत १० वटा जिल्लामा नयाँ सहर निर्माण गरिने घोषणा भएको थियो । मन्त्रालयका अनुसार झापाको गौरीगञ्ज, मोरङको रंगेली, महोतरीको मनरा, सर्लाहीको ब्रम्हपुरी, रौतहटको मौलापुर, बाराको महागढीमाई, नवलपरासीको बर्दघाट, बर्हियाको राजापुर, कैलालीको भजनी र कञ्चनपुरको बेलैरीमा नयाँ सहर निर्माण गरिने घोषणा भएको हो ।

 

तराई–मधेशमा बन्ने ५ नयाँ सहर

 

सरकारले तराई–मधेशमा ५ वटा नयाँ सहर विकास गर्ने घोषणा गरेको छ । सप्तरी, महोत्तरी, सर्लाही, रौतहट र दाङमा गरी १० स्थानमा नयाँ सहर बनाउन लागेको हो । सप्तरीको सम्भूनाथ, महात्तरीको बलवा, सर्लाहीको ईश्वरीया, रौतहटको कटहरीया र दाङको गढवामा नयाँ सहर बनाउने घोषणा सहरी विकास मन्त्रालयले गरेको हो ।

 

५ हिमाली सहरको अध्ययन पूरा

 

सहरी विकास मन्त्रालयले ५ हिमाली सहर विकासका लागि अध्ययन पूरा गरेको छ । सोलुखुम्बु, रसुवा, मुस्ताङ, हुम्ला र बाजुरा गरी ५ स्थानमा हिमाली सहर (ट्राभल हिमालय ट्रेल) को रुपमा निर्माण गरिने योजना रहेको हो । सरकारले सोलुखुम्बुको लुक्ला, रसुवाको स्याफ्र्रुुवेशी, मुस्ताङको जोमसोम, हुम्लाको सिमिकोट र बाजुराको मार्तडीमा हिमाली सहर विकासका लागि अध्ययन सम्पन् गरिएको हो ।

 

यी बाहेक हालै मात्र थप ५ नयाँ सहर निर्माण अध्ययनका लागि प्रस्ताव भएको हो । थप नयाँ सहरका रुपमा हिमाली सहर अन्तर्गत डोल्पाको हुनै, ताप्लेजुङको फुङलिङ, मनाङको चामे, बाजुराको कोल्टी र सोलुखुम्बुको किमा थान्कालाई नयाँ सहरको रुपमा विकास गर्ने नयाँ प्रस्ताव आएको छ ।

 

१३ स्मार्ट सिटीको मास्टर प्लान तयार

 

१३ वटा स्मार्ट सिटी बन्ने क्रममा रहेको छ । सो स्मार्ट सिटीहरुको मास्टर प्लान बनिसकेको छ । सरकारले स्मार्ट सिटी निर्माणका लागि १३ स्थानमा अध्ययन गरिरहेको छ । बारा, रुपन्देशी, गोरखा, धनकुटा, सिराहा, रौतहट, काभ्रेपलान्चोक, चितवन, स्याङजा, दाङ दैलेख, डढेलधुरा र कैलाली जिल्लामा स्मार्ट सिटी निर्माणका लागि सरकारले अध्ययन पूरा भएको मन्त्रालयले जनाएको छ ।

 

बाराको निजगढ, रुपन्देशी लुम्बीनी, गोरखाको पालुङटार, धनकुटा, सिराहाको मिर्चैया, रौतहटको चन्द्रपुर, काभ्रेपलान्चोकको काभ्रे, चितवनको भरतपुर, स्याङजाको वालिङ, दाङको तुलसीपुर, दैलेखको दुल्लु, डढेलधुराको अमरगढी र कैलालीको टिकापुरमा स्मार्ट सिटी निर्माणका लागि अध्ययन सम्पन्न भएको हो ।