काठमाडौं । नेपाली सेयर बजारमा सबैभन्दा छिटो खर्बपति क्लबमा प्रवेश गर्ने रेकर्ड बनाएको नेपाल इन्फ्रस्ट्रक्चर बैंकको ५ कारोबार दिनमा करिब २५ लाख कित्ता सेयर किनबेच भएको छ ।
यसैसाता आइतबारदेखि कारोबारमा आएको बैंकको ५ कारोबार दिन (आइतबार–बिहीबार) सम्म कुल २४ लाख ८६ हजार ६३५ कित्ता सेयर कारोबारमा आएको छ । बैंकको यसहप्ता १ अर्ब २६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
कारोबार खुलेदेखि बैंकको सेयर मूल्यमा दैनिक पोजेटिभ सर्किट लाग्दै आएको छ अर्थात् सेयर मूल्य दैनिक १० प्रतिशतले बढेको छ । पछिल्लो ५ कारोबार दिनमा बैंकको सेयर मूल्य प्रतिकित्ता २४६ रुपैयाँले बढेको छ ।
आइतबार ३४० रुपैयाँमा पहिलो कारोबार खुलेको बैंकको सेयर सोही दिन १० प्रतिशतले बढेर ३७४ रुपैयाँ पुगेको थियो । सो दिन बैंकको ५९ हजार ९३१ कित्ता सेयर किनबेच भएको थियो ।

यस्तै, सोमबार ४७ हजार ८५० कित्ता, मंगलबार ४९ हजार १९२ कित्ता, बुधबार १३ लाख ९७ हजार १२८ कित्ता र बिहीबार ९ लाख ३२ हजार ५३४ कित्ता सेयर किनबेच भएको छ ।
बैंकको यस साता कारोबारमा आएको सेयर संख्या नेप्सेमा सूचीकृत साधरण सेयरको ३.१० प्रतिशत मात्र हो । नेप्सेमा बैंकको ८ करोड कित्ता साधरण सेयर सूचीकृत छ । बैंकको अझै ७ करोड ७५ लाख कित्ता सेयर कारोबारमा आउन बाँकी रहेको छ ।
साढे १४ लाख सेयरधनी रहेको बैंकको हालसम्म करिब ३५ हजारले मात्र सेयर विक्री गरेका छन् । एकहप्तामा बैंकको कुल ३६ हजार ३३० पटक सेयर कारोबार भएको छ । यो म्युचुअल फण्ड र व्यक्तिगत दुवै गरी हो ।
मागको तुलनामा आपूर्ति कम हुँदा यसहप्ता बैंकको सेयर मूल्यमा दैनिक सर्किट लागेको छ । बैंकको सेयर मूल्य निकै माथि पूगिसकेको र करिब ४० लाख कित्ता सेयर होल्ड गरेका सामूहिक लगानी कोषले आगामी हप्ता सेयर बेच्न सक्ने सम्भावना रहेको छ । जसले बैंकको सेयरको आपूर्ति ह्वात्तै बढ्ने अनुमान गर्न सकिन्छ ।
यद्यपि, पछिल्ला दिनमा लाखौं कित्ता कारोबार हुँदा पनि खरिदका लागि माग उच्च रहेको देखिन्थ्यो । जसले अझै केही दिन आपूर्ति बढे पनि बैंकको सेयर किन्ने लगानीकर्ता हुने हुँदा सेयर मूल्य पनि बढ्ने नै सम्भावना देखिन्छ ।
१ खर्ब बढी पूँजीकरण हुने आठौं कम्पनी
इन्फ्रास्ट्रक्चर बैंक समग्रमा १ खर्ब बढी बजार पूँजीकरण हुने आठौं कम्पनी बनेको छ भने बैंकिङ क्षेत्रमा चौथो बैंक बनेको छ । हाल नेप्सेमा सूचीकृत २२५ बढी कम्पनीमध्ये बजार पूँजीकरण खर्बबढी हुने कम्पनीको संख्या ८ रहेको छ ।
नेप्सेमा खर्बपति कम्पनीको रुपमा नेपाल टेलिकम, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, नागरिक लगानी कोष, नबिल बैंक, एनआइसी एशिया बैंक र ग्लोबल आइएमई बैंक रहेका छन् ।