काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर उकालो लाग्न थालेपछि बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा प्रवाह गर्ने कर्जा पनि ह्वात्तै बढेको छ ।
चालू आवको ७ महिना (साउन-माघ) सम्म नेप्से परिसूचक दोब्बर भन्दा बढीले बढ्दा कर्जा प्रवाह पनि आक्रमक रुपमा वृद्धि भएको छ । चालू आर्थिक वर्षको ६ महिनामा बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा ६६ प्रतिशतले वृद्धि गरेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितोमा ७५ अर्ब ७० करोड रूपैयाँ कर्जा लगानी गररेका छन् ।
यो गत आर्थिक वर्ष २०७६/७७ को सोही अवधिको तुलनाममा ६५.८० प्रतिशत बढी हो । बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको पुस मसान्तसम्म जम्मा ४५ अर्ब ६६ करोड रुपैयाँ सेयर कर्जा लगानी गरेका थिए । गत आर्थिक वर्षको पहिलो ६ महिनामा यस्तो कर्जा ०.६ प्रतिशतले मात्र बढेको थियो ।
यस्तै, बैंक तथा वित्तीय संस्थाले चालू आवको ६ महिनामा मात्रै थप २५ अर्ब ३० करोड सेयर कर्जा लगानी गरेको राष्ट्र बैंकले जनाएको छ । गत असार सम्ममा बैंकहरुले ५० अर्ब ४० करोड रुपैयाँ सेयर कर्जा लागनी गरेका थिए । ६ महिनामै त्यस्तो कर्जा लगानी ५० प्रतिशतले वृद्धि भई ७५ अर्ब ७० रुपैयाँ पुगेको छ ।
यस कारण बढ्यो सेयरमा कर्जा लगानी ?
कोरोनाका कारण समग्र अर्थतन्त्र प्रभावित हुँदा अन्य क्षेत्रमा कर्जा प्रवाह हुन नसकेपछि बैंक तथा वित्तीय संस्थाहरुले सेयरमा कर्जा लगानी बढाएका हुन् । पछिल्लो समय सेयर बजारले गति लिँदै जाँदा लगानीकर्ता उत्साहित भई लगानी बढाउन बैंक तथा वित्तीय संस्थाबाट ऋण लिई लगानी गर्ने प्रवृत्ति बढेसँगै सेयर कर्जा उल्लेख्य वृद्धि भएको हो ।
यस्तै, पछिल्लो १ वर्ष यता बैकिङ प्रणालीमा अधिक तरलता छ । जसले बैंकको ब्याजदर निकै सस्तो भएको छ । गत वर्ष १२ प्रतिशतसम्म रहेको बैंकको ब्याजदर अहिले ९ प्रतिशतभन्दा तल झरेको छ । जसले गर्दा सस्तो ब्याजमा ऋण लिएर सेयरमा लगानी गर्नेको संख्या बढेको हो ।
बैंकहरुले पनि अन्य क्षेत्रमा कर्जा प्रवाह हुन नसकेपछि विभिन्न आकर्षक अफर ल्याएर सेयरमा कर्जा लगानी बढाउन थालेका छन् । सस्तो ब्याजदरमा सहजै कर्जा पाइने अवस्था सृजना भएपछि पछिल्लो समय सेयर कर्जा रकम र ऋण लिनेको संख्या समेत बढ्दै गएको छ ।
अहिले बैंक तथा वित्तीय संस्थाले करिब ७ देखि ९ प्रतिशतमा ब्याजदरमै सेयर कर्जा दिँदै आएका छन् । जबकी गत वर्ष बैंकहरुले सेयर कर्जामा १३ देखि १५ प्रतिशतसम्म ब्याज लिने गरेका थिए ।
यस्तै, नीतगत व्यवस्थामा आएको सुधारले पनि सेयर कर्जा लगानी बढेको हो । राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको सीमा बढाएको थियो । जसको प्रभाव कर्जा विस्तारमा देखिएको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर धितो (मार्जिन)कर्जा ६५ प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याएको थियो । यस्तै, मार्जिन प्रकृतिको कर्जा प्रवाहमा सेयर धितोको मूल्यांकन गर्दा १८० दिनलाई (औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम छ) घटाएर १२० दिनको मूल्यको आधारमा गर्ने व्यवस्था गरेको थियो ।