काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ ।
विक्री प्रबन्धक बीओके क्यापिटलमा आज बिहान बाँडफाँट भएको हो । क्यापिटलका अनुसार गोलप्रथाबाट ३ लाख २५ हजार १६५ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् भने भाग्यमानी दुई जनाले थप १ कित्ता गरी ११ कित्ता सेयर पाएका छन् । ९ लाख ९३ हजार ८९४ जनाको भने हात रित्तो भएको छ ।
कम्पनीले माघ २३ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ३४ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता आइपीओ निष्काशन गरेको थियो ।
उक्त आइपीओमा कुल १३ लाख २२ हजार ९७१ जनाले आवेदन दिएका थिए । सोमध्ये ३ हजार ९१२ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।
कम्पनीले पहिलो चरणमा २०७५ फागुनमा आयोजना प्रभावित क्षेत्र दोलखाका स्थानीयका लागि १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आइपीओ जारी गरेको थियो ।